पोखरा/ वुमन्स क्लब अफ पोखराको आयोजनामा वुमन्स स्पोट्र्स इभृन्टअन्तर्गत भेट्रान्स ह्यान्डबल प्रतियोगिता हुने भएको छ । शनिबार पोखरा रंगशाला स्थित बहुउदेश्यीय कर्भडहलमा ३५ वर्षमाथि उमेर समुहका महिलाहरुबीच ह्यान्डबल प्रतियोगिता हुन लागेको इभेन्ट संयोजक सारिका गुरुङले जानकारी दिइन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै उनले महिलाहरुलाई स्वस्थ राख्नका लागि ह्यान्डबल प्रतियोगिताको आयोजना गर्न लागेको बताइन् । उनले ३५ वर्षभन्दा माथिकालाई पनि खेल्न सहज हुने भएकाले ह्यान्बल रोजेको सुनाइन् ।
उनका अनुसार ३५ वर्षदेखि ६२ वर्षसम्मका महिलाले प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।
प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले २० हजार तथा तेस्रो हुने टिमले १० हजार रुपैयाँ प्राप्त गर्ने गुरुङले जानकारी दिइन् । प्रतियोगिता संचालन गर्न कुल ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने छ ।





