स्याङ्जा/ नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको सरकारले लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएकी छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एमाले गाउँ कमिटीले गरेको कार्यक्रममा अर्यालले सरकारका कानूनमन्त्री धनराज गुरुङबाटै लोकतन्त्रको मर्म विपरीत काम भएको जिकिर गरिन् ।
कानूनमन्त्रीले योग्यता नै नपुगेका सरकारी वकिललाई मन्त्री पदको दुरुपयोग गरेर न्यायाधीश बनाएको र गुन तिरेको उनको भनाइ थियो ।
कानूनमन्त्री धनराज गुरुङले आफूलाई निर्वाचनका बेला जिताउन सहयोग गरेका निर्वाचन अधिकृत रामचन्द्र शर्मालाई न्यायाधीशमा मनोनित गरेका अर्यालले जिकिर गरिन् । एमाले सचिव अर्याल स्याङ्जा क्षेत्र नम्बर २ बाट वर्तमान कानूनमन्त्री धनराज गुरुङसँग गत संघीय चुनाबमा पराजित भएकी थिइन ।




