
बचपनको समयमा आँफैले गरेका कतिपय कुराहरु संझेर अचेल खुब हाँसो लाग्छ । हाँसो पनि अलिअलि हो र ! खित्कै छोडेर हाँस्न मन लाग्छ । जस्तो कि, हामी साथीहरु स्कुल सकेर चारबजे पछि घरघरमा फर्कन्थ्यौं । घरमा जे छ त्यहि खाजा खाएपछि तुरुन्तै नजिकैको चौरीमा खेल्न पुग्थ्यौं । के के,के के खेल्दाखेल्दै थकान मेट्न एकछिन विश्राम लिन्थ्यौं ।
यहि विश्रामको समयमा वरिपरि देखिने अग्ला भीरहरु,अग्ला रुखहरु, भीमकाय चट्टानी ढुङ्गाहरु,बर्षातमा उर्लेका खोलानाला,आकाशमा देखिने जून (चन्द्रमा) अनि यस्तै-यस्तै कुराहरुलाई कसले छुने,तर्ने,चढ्ने,उचाल्ने भन्नेमा हाम्रो काल्पनिक प्रतियोगितात्मक होडै चल्थ्यो । अनि एकापसमा प्रश्न गर्थ्यौं । तैंले त्यो अग्लोरुख चढ्न सक्छस् ? त्यो ठुलो ढुङ्गो उचाल्न सक्छस् ? उडिरहेको ढुकुर छोप्न (समात्न) सक्छस् ? त्यो भेल उर्लेको नदी तर्न सक्छस् ? यि र यस्तै थुप्रै प्रश्नहरुद्वारा हामीहरु कौतुहलापुर्वक जोशले भरिन्थ्यौं । हो यिनै बचपनमा भएका कुराहरु संझेर म अचेल हाँस्छु ।
वास्तवमा माथिका ति सबै प्रश्नहरु हाम्रा (बालबालिका) लागि वाईहात र असंभव तर साहसी कुराहरु थिए । हाम्लाई असंभव लाग्ने ति प्रश्नहरु कसलाई संभव छ त ? खोजी गर्थ्यौं । त्यतिखेर हिंजो आजको जस्तो सूचनामा एड्भान्स जमाना पनि थिएन । गूगल थिएन । असंभवलाई संभव बनाउने विज्ञान-प्रबिधिको ज्ञान हामीलाई हुनेकुरा पनि भएन । हाम्रो सोचाईमा ति प्रश्नहरुको सहि समाधान केवल बलियो र शक्तिशालिले मात्र गर्न सक्छ भन्ने नै थियो । हाम्रो बुझाईले यसै भन्थ्यो । अब बलियो को र को शक्तिशाली त ? सप्पैको मुखबाट एउटै स्वर निस्किन्थ्यो-राजा ! राजाजस्तो बलियो र शक्तिवान अरु कोही मानिंदैनथ्यो । राजाले बोले पुग्थ्यो । त्यसैले राजाले बाहेक अरु कसैले समाधान गर्न नसक्ने ठम्याउँदै हाम्रो बालापनको ठहर हुन्थ्यो- राजाले सबै गर्न सक्छन् ।
सकेभने राजाले मात्र सक्छन नत्र, तिमिहरु कसैले सक्दैनौ भनिन्थ्यो । अनि बीच्चमा अर्कोले बोल्थ्यो- ‘भो राजाले पनि सक्दैनन् गफ नगर् !’ उसले उसलाई यसले त्यसलाई यसैगरि खिस्याउँदै साँझ पर्थ्यो । अन्तमा हामीहरु पराजित मानसिकताले भरिंदै राजाले त नसक्ने हाम्ले के सक्छौ भन्दै बहादुरीका साथ पछि हट्दै घरघर फर्कन्थ्यौं । हिंजोका यस्ता कुरा संझेर खुब हाँसो लाग्छ । यि त भए राजाका पालाका कुरा अझ भनौं बचपनका कुरा ।
अब आउनुस पचपनका कुरामा ! समय गतिशील छ । समय रोकिन्न पनि । समय सेकेण्ड-सेकेण्डमा बदलिन्छ । जीवन पनि उसैगरि बदलिएकै छ । त्यसैले कसैको उमेर संधै एकैनासको हुनेकुरा पनि भएन । त्यो बालापनको उमेरबाट क्रमश: यो अवस्थामा पुग्दैगर्दा खेल्ने चौरीहरु पनि बदलिने रहेछन । मनस्थिति पनि बदलिने रहेछ । आजकल हामीलाई खुला चउरको सट्टा घरका खुल्ला फराकिला कोठाहरु चौरी भैदिनेरहेछन् ।
उहिले चौरीमा ‘बलमत्ता खेल’ खेलिन्थ्यो भने अहिले साथीसाथीका बीच उमेर सुहाउँदो ‘बुद्धिमत्ता खेल’ खेलिन्छ । बचपनका जस्तो पचपनका साथीहरुमा भेलाहुन पनि समय लाग्ने रहेछ । तुरुन्तै एकत्रित नहुने,फरक पर्दोरहेछ उमेरले ! ऊ… ऊ… ऊ साथीहरु आउनु अघिसम्म गफगर्ने फुर्सद मिल्छ । यहि फुर्सदमा पुरानै स्कुले जीवनको चौरीमा विसाईमार्दा असंभव साहसका कल्पना गरेजस्तै देशमा भैरहेका समसामयिक घटनाक्रमले स्थान पाईहाल्छन् । अझैपनि हामी बीच एकर्काले शक्तिशाली पद हत्याउने साहसिक होडबाजी चल्छ । सुनेर हररर्र हाँसो छुट्छ । आखिर अलगअलग कुण्ड र अलगअलग मुण्ड मिश्रित विद्वतताका उपज न हुन यि प्रसंग !
समयको लामो अन्तराल पछि तँ तँका हामीहरु तिमि,तपाईं र हजुरमा पुगेका छौं । कोही कोही तँतँ मै पनि चलेका छौं । हामी विभिन्न मुण्डहरु मध्ये शुरुमा तपाईंले साहसिक योजना सुनायो – म प्रधानमन्त्री भएको भए सर्वप्रथम न्यायालय बिघटन गरि नयाँ न्यायालय गठन गर्थें । देश वर्वाद बनाउने यहि हो । अनि आजको आजै प्रदेशहरु खारेज गरिदिन्थें । केन्द्रीय नेताले पार्टीमा असन्तोष उत्पन्न नहोस भन्दै प्रदेशमा थुमथुमाएर राखेका आसेपासेले देशको ढुकुटटी सके । त्यसैले प्रदेश तु खारेज गरिदिन्थें । ललिता निवासका ०४६ सालदेखिका दोषीलाई काल कोठरीमा कोचिदिन्थें ।
त्यसपछि तिमिले बोल्यो – देखाउने दाँत र चपाउने बंगारा बन्दैगएको यो एकदलीय व्यवस्था उखाडेर फ्याँकदिन्थें । अपराध,तस्करी,भ्रष्टाचार,व्यविचार र वेथितिको आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई कावाही गर्न दवाबदिने प्रतिपक्ष नै छैन । अपराधी जति दलका मात्रै छन् । तिनलाई दण्डदिंदा गणतन्त्र असफल हुन्छ भन्दै अपराधीलाई तोपिरहेकाछन् । यदि म संबन्धित निकायमा हुन्थें भने सबलाई ठिक पार्थें । चाईनाको कानून केहीदिनलाई सापट लिएर पनि अपराधि जति सबैलाई सुताईदिन्थें ।

लेखक कृष्णराज शर्मा
यसपछि आयो तँ ! तँ पनि के कम हुन्थ्यो ? ओलीले बाँडेका पानी जहाज र हातले प्याट्ट पारेर ग्याँस चूल्होबाल्ने सपना तँ का अगाडी फिक्का लाग्दा भए ! तँ ले यस्तो सपना बोल्यो – म प्रधानमन्त्री भए सबैका घरघरमा हेलिप्याड बनाई दिन्थें । मनचाहेको ठाउँमा र समयमा जतापनि उडेर पुग्नसक्ने बनाईदिन्थें । उकाली-ओह्रालीको दु:ख गर्नै नपर्ने । अनि गरीब जनताको घरमा कल्पबृक्षको व्यवस्था गरिदिन्थें । त्यो कल्पबृक्षबाट गरीबका आधारभुत आवश्यकता तत्काल परिपुर्ती हुनेछन् । मिष्ठान्न भोजन मनचाहे खान मिल्ने छ । अनि एकजना पनि गरीब नेपालमा रहने छैनन् ।
हिंजो त देशमा राजा थिए । राजाले अप्ठ्याराहरु सबै उनको शक्तिले समाधान गर्न सक्छन् भन्ने थियो । आज त खै को छ शक्तिशाली र तिम्रा कल्पना पुरा गरिदिन्छ ? यो प्रश्न बलियो बनेर फराकिलो कोठे चौरीमा उभियो । आज शक्तिमा को को छन् कसैले ठम्याउनै सक्दैन । यो देश कसले चलाईरहेको छ कसैलाई थाहै छैन । हिंजो राजशक्तिनै प्रमुख शक्तिहुँदा उसैको वरिपरी शक्तिहरु फनफनी घुम्थे । आज देशको मुख्य शक्तिकेन्द्र कुन देशमा छ कसैले ठम्याउन सक्दैन ।
प्रजातन्त्रमा सार्वभौम जनताको शक्ति केन्द्र भनेकै संसद हो । तर यो आँफै रफ्फुचक्करमा छ । यसले निर्माणगर्ने शक्ति स्वदेशको हितमा भन्दा परदेशको हितमा परख गर्छ । समानुपातिकको दुरुपयोगले गर्दा पराईले संसदमै नांगोनाच प्रश्तुत गर्दछ । यसरी हेर्दा शक्तिले गर्नसक्ने ‘शक्ति’ नै नभएपछि कुन शक्तिको बलमा राष्ट्रिय समस्याको समाधान हुन्छ त ? शर्तैशर्तमा निर्मित कमजोर शक्तिले यौटा समस्या सुल्झायो भने दशवटा समस्या बल्झिन पुग्छन् । त्यसैले अब अदृश्य कुनै शक्तिले पनि तिम्रा सपना पुरागर्न सक्ने छैनन् । हाम्रा अन्तरमनमा यस्तै कुरा खेलिरहे । ……
मुण्ड-कुण्डको मस्तिष्क मन्थन ‘हजूर’ ले सुनिरहेको थियो । तँ,तिमि र तपाईंका विद्वतता देखेर ‘हजुर’ छक्क पर्यो । ऊ बेला यिनिहरुमा वरिपरि आँखाले देखिने बस्तुहरुमा बलपुर्वक विजय पाउने दम्भ देखिन्थ्यो । अहिले यिनका दिमागी जाल बुनेर राज्यनै आफ्नो बनाउन खोज्दैछन् । लगातार उनका योजना बनिरहेका छन् । सक्छौ तिमिहरुले यि सबै बोलेका कुरा पुरा गर्न ? अहँ,तिम्रो प्रभुले पनि सक्ने छैनन् हजूरले पनि हार खायो । शक्ति दृश्यमा भए पो ! अदृश्य शक्तिले गर्न त गर्छ,केवल उसको हित अनुकुल गर्छ । हाम्रो हितार्थ कदापी गर्दैन,बुझ्यौ ? सबैलाई लोप्पा खुवाउँदै हजूर रंगीन दूबो भएको खेलमैदान चौरीतर्फ लाग्यो ।
हजूरको आगमन पछि म र ‘हजुर’ मिलेर फराकिलो चौरीलाई दुरुस्त खेल मैदान बनाउन थाल्यौं । वरिपरिका सिसि क्यामेरा हटाउन थाल्यौं । खेल बिथोल्ने तत्वले घुसपैठ गर्न नपावस भन्दै छिद्रहरु छान मार्यौं । भएका सबै छिद्रहरु बन्द गर्यौं । खेल खेलाडीले खेल्ने हो अनावश्यक हुटिङका लागि दर्शकलाई प्रवेष नि:षेध छ । पत्रकारहरुलाई कथंकदाचित खेल अबरुद्ध भएछ भने स्वत: थाहा पाउने हुनाले आमन्त्रण गरिएको छैन । यो खेलमा सबसे ज्यादा स्वर्णमुद्रा जसले हासिल गर्छ उसले नै ‘ट्रफी’ उचाल्ने छ ।
खेल शुरु भयो । बादशाह, मेम् र गुलाम हावी भए । गुलामले बादशाह र मेमलाई पल्टाई दिने रहेछ । तँ ले निक्कै स्वर्णमुद्रा थुपार्दै थियो । झ्याप्प रंगीन चौरीमा अट्टाहसयुक्त हाँसोमा ‘खुँडा’ महोदयको आगमन भयो । खेलाडी सबैको सातो गयो । हामी कसैलाई थाहाछैन ऊ कसरी आयो ? कसले थाहा दियो ? हामी भित्रै सुराकि रहेछ कि ! शायद भित्तो पो सुराकी हो… ! यो सबै त्यो ‘खुँडा’ लाई थाहा भएछ र वायुमार्गबाट फराकिलो कोठामा वायुसरी खुँडाले प्रवेष गर्यो । खेल चौपट् भयो ।
अन्तिममा खेल्दाखेल्दैका स्वर्णमुद्रा सबै खुँडाले लुट्यो । खेलाडीका बकम्फुसे सपना पनि सबै चकनाचूर बने । देशभक्तहरु भन्दा पराया प्रभुको प्याला खुँडाले ट्रफि खोस्यो । उसका बिरुद्ध उजुरबाजुरको कुनै अर्थै छैन । उसैको बोलवाला छ । राज्यका सबै अंग उसको मुट्ठीमा छन् । सरकारको ‘श्रीपेच’ नै खुँडाले बनेको छ । मानौं प्यालेस्टेनियन हमास खुँडाको परममित्र शक्ति हो । जेहोस् खुँडाले आफ्नो मक्सद पुरागर्दै ऊ जसरी आएको थियो त्यसरी नै रंगीन चौरी छोडेर बाहिरियो । हामी हेरेको हेर्यै भयौं ।
ऊ गएपछि हाम्रो गोप्य चौरीमा उसको घुसपैठको समिक्षा गर्यौं । खुँडालाई सबक सिकाउने शक्ति खोज्न थाल्यौं । हामीले बालापनमा झैं यौटा त्यस्तो शक्ति कुन हो भन्ने ठहर गर्नै मुश्किल भयो,सकेनौं । यो खुँडा तहलगाउने शक्ति कता होला ? हलुंगो संग विदेश उड्ने युवालाई गह्रुंगो बाकस भित्र भएर फर्कन विवश बनाउने तत्वलाई समन गर्ने शक्ति खै कता छ ? राष्ट्र निर्माणमा अहं भुमिका रहने युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने शक्ति कता छ ? हामीले बचपनदेखि अहिलेसम्म यहि शक्तिले गर्छ भन्ने अर्को ‘शक्ति’ भेट्न किन सकेनौं ?




