बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जब बाले मेरो फोटोमा टीका लगाइदिनुभयो…

जब बाले मेरो फोटोमा टीका लगाइदिनुभयो…


  • राम खत्री
  • कार्तिक ६ २०८०, सोमबार

रातभरि मलाई निद्रा परेन। ओल्टोकोल्टो फेरिरहेँ। तन्द्रामा कुराहरू एकपछि अर्को गर्दै जेलिइरह्यो। नमिठा पलहरूलाई थाती राखेर केही राम्रा सम्झनाहरू मनभित्र सजाएर खुसी रहन प्रयास गर्छु।

एकपछि अर्को तँछाडमछाड गर्दै मनका पानामा उधिनिएका सम्झनाका लहरहरूले मेरो प्रयासलाई विफल बनाउँछन्। घडी हेर्छु, नेपाल मस्त निद्रामा होला।

यहाँ त झलमल्ल घाम लागिसकेको छ। मलाई झ्यालबाट चियाएर हेर्ने जून अस्ताइसकेको छ।

ओहो! त्यो जूनको शीतलता, यो कठोर घामको उष्णता। पर क्षितिज पनि लुत्रुक्क परेर समुद्रको गहिराइमा मुन्टो जोतेको छ। मन बहकिँदो छ।

अहँ, आजको दिन मलाई भावनामा बहकिने छुट छैन। मनलाई दह्रो पार्छु।

बा भन्नुहुन्थ्यो, ‘छोरी दसैं मुखैमा आइसक्यो।’

‘खै बाबा यहाँ त तिथिमिति, चाडपर्व केही हेक्का हुँदैन,’ म टार्न खोज्छु।

बा बीचैमा रोक्नुहुन्छ, ‘हैन छोरी, आफ्नो धर्म संस्कृति नेपालीपन हरेक नेपालीले हेक्का राख्नुपर्छ। जसरी भए पनि आफ्नो समाजसँग मिलेर दसैं मनाऊ है छोरी। तिमी खुसी भएको देख्न पाऊँ।’

बाआमाका कुराहरू ममताले भरिएका भावनात्मक हुन्छन्। उहाँहरूको कुरा सम्झिन्नँ भन्यो चाडपर्वमा झलझल्ती याद आउँछ। मेरा परेलीहरूले थेग्न सक्दैनन्। त्यो भेल गालाको बाटो हुँदै चिउँडोबाट झरी छाड्छन्।

हे आँशु! तँ सधैं बग्न तयार हुन्छस् जब मेरो मन जन्मथलोमा नागबेली खेल्न थाल्छ। जब जब आउँछस्, मेरो भावनासँगै बगेर जान्छस्। म साधु होइन तँसँगै बगेर जाने। तँ निख्रिएपछि फेरि म शून्यबाट सुरू हुन्छु।

अस्ट्रेलियाको भिसा लाग्दा अरूसरह मेरो मनमा पनि लड्डु फुटेको थियो। किशोरी भएको उपल्लो बिन्दुबाट व्यावहारिक उमेरतर्फ पाइला चाल्दै गर्दा बुनेका सारा सपनाहरू पूरा हुन्छन् भन्ने लागेको थियो। व्यक्त, अव्यक्त महत्त्वाकांक्षाहरूलाई आत्मसात गर्दै अमिलो मन र रूझेका आँखा लिएर नेपाल छोडेकी म।

बन्दरानायके विमानस्थल, श्रीलंकाको लामो ट्रान्जिटमा अरू केही विद्यार्थीहरू लमतन्न सुतेको धावनमार्गतिर फर्केर सुटुक्क रोइरहेको देखेपछि पहिलोपल्ट आँशुले आफ्नो दु:ख बिर्सिएको थियो। सिड्नी उत्रेपछि एक हप्ता पनि लागेन मलाई यहाँको विद्यार्थी जनजीवन बुझ्न। कलेज र कामको तारतम्य मिलाउनुपर्ने विवशता। काम छैन, आराम छ, चैन छैन। काम छ, फुर्सद छैन। दौडादौडी छ बेठेगानको काम।

पुराना दाइदिदीहरू पनि त्यही हो। टिआर, पिआरधारीहरू, युनिटवालाहरू, घरधनी नेपालीहरू पनि त्यही हो। किस्ता, सरकारी कर, चाइल्ड केयर र पारिवारिक बोझले थालिएका छन्। नव आगन्तुक विद्यार्थीहरू छिट्टै अत्तालिन्छन्। नेपालबाट तोकिएर आएको कलेजमा शुल्क तिर्न नसकेपछि जस्तो पाए पनि अर्को सस्तो कलेजतिर हामफालेर बाँच्ने एउटा जिन्दगीलाई जेनतेन घिच्याउने जमात देखेर चित्त बुझाउँछु। र, म पनि आफू सुहाउँदो समूहमा घुलिन्छु।

समयले साथ दिएसम्म र नियास्रो लाग्दा अबन पार्क पुगेकी हुन्छु। म मात्रै होइन, सिड्नी बस्ने हरेक नेपालीको दिनचर्या होला सायद। सबै खाले नेपाली भेटिन्छन् त्यहाँ। हरेक नेपाली चाडपर्व लक्षित कार्यक्रम भइरहन्छन्। मुरलीप्रसाद काकालाई यहीँ भेटेँ मैले। उहाँ मिन्टो सहरदेखि आउनुभएको रहेछ। रसिक स्वभावका काका सबैसँग परिचय गर्दै हुनुहुन्थ्यो। छोटो अन्तर्वार्ता पनि लिई टोपल्नु हुन्थ्यो। प्रश्नहरू प्रायः एउटै हुन्थे- नेपालमा घर कहाँ? पहाड घर कहाँ? यहाँ कहाँ बस्नुहुन्छ? काम के गर्नुहुन्छ? इत्यादि।

केही समयपछि काकाले मतिर हेर्नुभयो। मलाई पनि प्रश्नहरूको झटारो!

‘कस्तो छ बसाइ नानी?’

‘ठिक्कै छ काका,’ मैले भनेँ।

‘ठिक्कै  भन्नाले,’ काकाले अर्को प्रश्न तेसाउनुभयो।

म ट्वाँ…!

‘ऊ पर छ नि,’ उहाँले मलाई नेपाली ठेला रेस्टुराँ म:म, चाउमिन, ससेज, चिया बिक्री गरिरहेका नेपालीतिर इंगित गर्दै भन्नुभयो, ‘उहाँहरू मेरो ज्वाइँछोरी र नातिनी।’

मैले टाढैबाट ‘हाइ’ गरेँ।

‘नानी ठिक्कै भन्नुभयो, रमाइलो छैन?’ काका रोमान्चित सुनिनुहुन्थ्यो।

काका घुम्न आउनुभएको ‘जोली’ मुडमा हुनुहुन्छ। त्यसैले म लुसुक्क निस्केँ। अबन पार्कको चारैतिर नेपाली झन्डावाला गाडीले नेपाली परिकार पस्किरहेका छन्। झोल, अकबरे मःम, सेलरोटी तरकारी आदि। कोही त झुक्किँदा पनि हुन्, कतै म नेपालमै त छैन!

मलाई भने माइतीघर जस्तो लाग्छ नेपालीपन, नेपाली मन, नेपाली जमघट। त्यसैले नेपाली नियास्रो मेटाउन अबन पार्क र रक्डेल काउन्टी जहाँ असन, ठमेल बजार सारीचोलो पसल, नेपाल हाउस, चुरापोते पसल लगायत कान्छा दाइको मासु र म:म पसल समेत बग्रेल्ती पाइन्छ। नेपाली भाषा मज्जाले चल्छ। अनि मलाई अस्ट्रेलियामा नेपाली तेस्रो ठूलो समुदाय भएकोमा चाहिँस गर्व लाग्छ।

दसैंको पूर्वसन्ध्यामा किनकिन मुरली काकालाई भेट्न मन लाग्यो। उहाँलाई साक्षात्कार गर्न म अनुहार पुस्तिकामा खोज्छु। गगन चुम्बी भवनहरू, चिल्ला सडक, अन्डरपास, रमाइला सामुद्रिक किनारहरू, पार्कहरूदेखि गाउँबस्तीका खेतीपाती, पशुपालन टाउन र भिलेजका बस्तीहरू मुरली सरको अनुहार पुस्तिकाका खजाना नै हुन्। सबै पोस्टिएका छन् तर आज खै? हुनुहुन्न त?

मुरली सर गुमनाम हुनुहुन्छ।

छरिएका आफन्त सम्हाल्दै गरेका मुरली सर। के उहाँको छाती फाटेकै हो त, यो दसैंको माहोलमा? सजिलै टिप्पणी गर्ने कुरा पनि भएन। अस्ति भर्खर हो अबन पार्कमा रसिक मुडमा भेटिएनुभएको। मुरली सरलाई माथिदेखि हेर्छु, उहाँका दिमाग बाहिरको केही छैन राजनीति, समाज, बौद्धिक, रोजगारी, बसाइँसराइ सबैमा अब्बल, हरेकलाई सरको लाइक, कमेन्ट र गहन विश्लेषणले नछोएको विषयवस्तु छैन।

घुमघामको समयमा स्थान विशेषमा छुट्टै माहोल बनाउन सक्ने खुबी भएका सर अहिलेको समयमा गुमनाम किन?

प्रश्नको उत्तर नेपाल नै हो, जो बिर्सिन सकिँदैन। दालभात बिर्सिन नसक्ने नेपालीले नेपाल, दसैंतिहार असम्भव। सन्फ्रान्सिस्कोमा बस्ने फुपू, टोकियोमा बस्ने दिदी, सिड्नी ग्रान्ड भिलामा बस्ने दिदी, सबैले अर्को दसैंमा आउछु भन्नुहुन्थ्यो। हरेक साल। बुवा रूनुहुन्थ्यो। घरको मुलिस्तान नै रोएपछि माहोल रूवाबासीमा परिणत हुन्थ्यो।

यो वर्षको त्यो माहोलको कारकमा म पनि सामेल हुनेछु। मन त्यसै तर्सिरहेछ। म मुरली सरलाई खोज्छु। अलिकति मुड आउँछ कि!

तर हुनुहुन्न उहाँ। सञ्जालभरि उहाँको हास्यरसको तिर्सना लागिरहेको छ, आजको यो उदास घडीमा।

हाम्रो मनमा विदेश किन बस्छ होला! जिन्दगी विकल्पहीन त हुनै सक्दैन। समस्याग्रस्त नभएको सायदै कोही होला। म गणित मिलाउँछु। गुमेको अंक देश र प्रप्तांक विदेशमा कुनै विशेष फरक छैन।

कहिलेकाहीँ हराउन मन लाग्छ, कसैले खोजोस् भनेर होइन। सबैको सम्मुख प्रस्तुत हुनै मन लाग्दैन। मन प्रायः भारी रहन्छ। चंगा हुन मन लाग्छ। दसैंको आकाशमा कावा खाइरहेको चंगा लट्टाइको धागोले बाँधेर कसैले झट्कार्दै दिशा निर्देशन गर्ने जस्तो होइन। लट्टाइको धागोबाट चुँडिएको निस्फिक्री निलो आकाशमा कावा खाइरहेको चंगा।

दसैंको छेको पारेर प्राय एकपल्ट गाइने दाइ हाम्रो घरमा आउनुहुन्थ्यो। आमालाई दिदी भन्नुहुन्थ्यो। सारंगी मिहीन पाराले रेट्नुहुन्थ्यो। छिमेकीहरूले पनि उहाँलाई दक्षिणा ल्याइदिनुहुन्थ्यो। गाइने मामा विभिन्न धुनहरू रेट्नुहुन्थ्यो।

कहिलेकाहीँ बाले रोक्नुहुन्थ्यो, ‘कान्छा, भयो सारंगीले यसरी नरूआ!’

आ-आफ्ना मनका कुरा, जिन्दगी घिच्याउनै पर्‍यो!

ओहो! नेपालमा घडीको घन्टा सुई एघारको लाइन नाघेर अगाडि बढिसकेछ। मिनेट सुई आफ्नै रफ्तारमा ओल्याङटोल्याङ गर्दैछ। सेकेन्ड सुई फूर्तिफार्ती गर्दै मिनेट सुईलाई तताइरहेको छ।

बाको शब्द कानमा गुन्जिरहेको छ, ‘छोरी तिमी ठिक साढे एघारमा अनलाइन आऊ है! जो जहाँ भए पनि टीकाको साइत छोप्नपर्छ।’

जब जब मिनेटको सुई तीसको लाइन छुन खोज्यो, मेरो मन पनि सेकेन्ड सुईझैं फड्फडाउन थाल्यो। उता पनि गाउँमा जस्तो खासै जमघट छैन। तै पनि आहा कति रमाइलो!

भाइले बनाएको त्यो नवदुर्गा भवानीको चित्र। दुवैतिर परम्परागत पुरानीको आकृति। थालीभरि फूल, अक्षता, चन्दन, पहेँलपुर जमरा, ढक्कीभरि फलफूल! कति सुन्दर दृश्य। मन त्यसै पुलकित भयो।

हेर्दा हेर्दै टीकाको कार्यक्रम सुरू भयो। हाम्रोमा ठूलोबाट सुरू हुन्छ, अन्तिम लाइनमा परेको छ भदा। अब मेरो पालो भन्दै कस्सिँदैछ। भाइको पनि पालो आएको छैन। ऊ मलाई हेर्दैछ। मेरो पालो आयो। बुवाले एकपल्ट मलाई पुलुक्क हेर्नुभयो अनि मेरो फोटाअगाडि बसेर टीका सुरू गर्नुभयो।

मेरो आँखाको मूल फुटिसकेछ। जसै बा मेरो फोटोलाई टीका लगाइदिएर मतिर फर्किन लाग्नुभयो, भाइले इशारा गर्‍यो। भाइको इशारा नै काफी छ बाका आँखामा पनि समुद्र भरिएका छन्। म आँशु पुछदै सुटुक्क भागेँ र अफलाइन भएँ।

अचानक कानमा गाइने मामाको सारंगीको धुन सुनेको भान हुन्छ।

अनायसै मेरो मुखबाट शब्द फुस्किन्छ- गाइने मामा सारंगीलाई त्यसरी न रूवाउनु न प्लीज !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->