बेनी/२१ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाभि न्यू वेष्ट पोइन्ट आवसीय माविले हात पारेको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सम्पन्न भएको खेलमा माउण्ट एभरेष्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै न्यू वेष्ट पोइन्टले उपाधि हात पारेको हो । यो जितसँगै न्यू वेष्ट पोइन्ट जेसीज कपको इतिहासमा सबैभन्दा धेरै ६ पटक कप जित्ने विद्यालय भएको छ ।
विजेता र उपविजेताले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २३२ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
राम–विमला फाउण्डेशन रहेको फुटबल प्रतियोगिताका विजेतालाई प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिकका प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्ण विकलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा म्यान अफ दी म्याच न्यू वेष्ट पोइन्टका घनिष्ट छन्त्याल,अनुशासित विद्यालय हेम मावि सिवाङ, राइजिङ खेलाडी माउण्ट एभरेष्टका सुशिल पुन, खेल अवधिमा ९ गोल गदैं सर्वाधिक गोलकर्ता न्यू वेष्ट पोइन्टका सनम थापा, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिकका अनिश भण्डारी, उत्कृष्ट स्टाइकर माउण्ट एभरेष्टका समन विक,उत्कृष्ट गोलरक्षक न्यू वेष्ट पोइन्टका सिद्धार्थ पाइजा,उत्कृष्ट कोच न्यू वेष्ट पोइन्टका दिपेन राई र उत्कृष्ट खेलाडी न्यू वेष्ट पोइन्टका पवन खत्रीलाई जनही नगद २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
सेमिफाईनलिष्ट बेनी सामुदायिक मावि र हेम मावि सिवाङलाई नगद ५÷५ हजार प्रदान गरिएको थियो । जिल्लाका विभिन्न २३ विद्यालयले सहभागिता जनाएको प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको म्याग्दी जेसीजका अध्यक्ष सुमन श्रेष्ठले बताए ।





