पोखरा/ पोखरामा सोमबारबाट माविस्तरीय (कक्षा ९–१२) लक्षित प्याब्सन स्पोर्टस मिट २०८० सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको आयोजनामा उक्त स्पोर्टस मिट तिन दिनसम्म सञ्चालन हुनेछ ।
पहिलो दिन भएको छात्र भलिबलमा सोसियल पव्लिकले वेष्ट पोइन्टलाई २५–१८, २५–१४ ले, पश्चिमाञ्चलले विद्या निकेतनलाई २५–११, २५–१४ ले, केफले प्रतिभालाई २६–२४, २८–२६ ले, टप्सले पोखरा लनर्सलाई २५–४, २५–९ ले, स्पाइरल ग्यालेक्सीले हाभर्डलाई २५–१२, २५–१८ ले, रेन्वोले एक्स आर्मीलाई २५–११, २५–१४ ले, ताराकुञ्जले बालप्रभातलाई १५–२५, २५–२१ र २५–१९ ले, गुरुकुलले पोखरा युनाइटेडलाई २५–१२ र २५–१५ ले जित्दै दोश्रो चरणमा प्रवेश गरेको भलिबल संयोजक मोहनलाल पौडेलले जानकारी दिए ।
त्यस्तै छात्रा भलिबलतर्फ टप्सले विभूतिलाई २५–४, २५–६ ले, गुरुकुलले पश्चिमाञ्चललाई २५–२२, २५–१४ ले, नेशनल इन्भेन्टिभले नेपाल आदर्शलाई २५–२१, २५–१४ ले, केफले पोखरा युनाइटेडलाई २५–१६, २५–१२ ले र प्रतिभाले सवलाइमलाई २५–१५, २५–१३ को सोझो सेटमा पराजित गरे ।
सोमबार पहिलो चरणका छात्र–छात्रा टेबुल टेनिसका खेलहरु जारी रहेको संयोजक विष्णु तिमिल्सिनाले जानकारी दिए ।
बास्केटबल छात्रतर्फ सोमबार ८ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक विधान गौतमले जनाएका छन् । गौतमका अनुसार बास्केटबल उद्घाटन खेलमा प्रतिभा माविले पोखरा लनर्सलाई ३१–१४ ले पराजित गरेका छ भने अन्य खेलमा स्पाइरल ग्यालेक्सी, मेरीगोल्ड, केफ, स्टेप वाई स्टेप, कुमुदिनी, मनकामना र बालोदयले पहिलो चरणका खेलहरु जितेका छन् ।
स्पोर्टस मिटअन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिस हुने स्पोर्टस मिट प्रचारप्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिएका छन् । स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र–छात्रा डबल्समा १४–१४ टिमको सहभागिता रहेको छ ।
प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको उद्घाटन शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विकाप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमा लामिछाने र सचिव पुष्पराज पराजुलीलेसमेत आफ्ना भनाई राखेका थिए ।





