सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विदेशका स्तरीय टोली जोड्ने प्रयासमा टाइगरकप, भाग्मानी दर्शकलाई केल्मीको टिसर्ट

विदेशका स्तरीय टोली जोड्ने प्रयासमा टाइगरकप, भाग्मानी दर्शकलाई केल्मीको टिसर्ट


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८०, शनिबार

पोखरा/ टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलको आगामी संस्करणमा स्तरीय विदेशी टिमलाई भित्र्याउने प्रयास भएको छ ।

आगामी माघको पहिलो साता पोखरा रंगशाला भलिबल कोर्टमा आयोजना हुने चौथौं संस्करणको टाइगरकपमा महिला र पुरुषतर्फ एक÷एक टिम विदेशी समावेश भएका छन् । अघिल्लो संस्करणमा कमजोर विदेशी टिम ल्याए पनि यो वर्ष बलियो टिम ल्याएको आयोजकको दाबी छ ।

पोखरा रंगशालामा शुक्रबार प्रतियोगितबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष नारायण शर्माले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै गइरहेको र त्यसका लागि स्तरीय टोली ल्याएको बताए । ‘हामीले पहिला आर्मी कलेजका खेलाडी ल्याएका थियौं । यो वर्षभने त्यहाँको राम्रै टिमलाई आमन्त्रण गरेका छौं । यसपाली श्रीलंकको आर्मी टिम र भारत हरियाणाको पुलिसको टिम आउँदैछन्,’ अध्यक्ष शर्माले भने, ‘यी टिममा पहिलाजस्ता खेलाडी छैनन् । यसपालि त्यहाका राष्ट्रिय टिमकै खेलाडी आउनेछन् । हामीले उहाँहरुका लागि पोखराका दुई ठूला होटल माउन्ट कैलाश र यल्लो प्यागोडामा राख्ने व्यवस्थापनसमेत गरेका छौं ।

टाइगरकपलाई अन्तर्राष्ट्रियस्तरको बनाउने हाम्रो चाहाना हो ।’ एफआईभिबिको विश्व वरियतामा भारतको महिला टिम ६५ औं स्थानमा रहेको छ । पुरुषतर्फ श्रीलंका ६७ औं स्थानमा छ । साथै खेलस्थलमा एलइडी स्क्रिन, डिजिटल स्कोरबोर्डको व्यवस्थालाई निरन्तरता दिदैँ प्रविधिलाई समेत अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास गरिरहेको छ । यो वर्ष प्रतियोगितालाई थप रोमाञ्चक बनाउन हरेक दिन टिकट काटेर आउने मध्ये एक जना दर्शकलाई केल्मीको टिसर्टसमेत प्रदान गरिने भएको छ । अघिल्लो संस्करणको भन्दा पुरस्कार राशीमासमेत वृद्धि गरेको संस्थाले टिकटको अर्धकट्टिको आधारमा एक जना दर्शकलाई केल्मीको टिसर्ट प्रदान गर्न लागिएको हो । बढ्दो दर्शकको भीडलाई मध्यनजर गर्दै संस्थाले अस्थायी प्यारापिट समेत बढाउने भएको छ ।

लिगकप नकआउटको आधारमा माघ १ देखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला पुरुष गरि कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र हरियाणा पुलिस क्लबको सहभागिता रहनेछ । यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, हेल्प नेपाल स्पोट्र्स र श्रीलंका आर्मी टिम रहनेछन् । प्रतियोगिताको महिला÷पुरुष दुवै तर्फको विजेताले पाँच लाख ५५ हजार पाँचसय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले दुई लाख ५५ हजार पाँच सय ५५ र तेस्रो हुने टिमले एक लाख २५ हजार पाँच सय २५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (महिला/पुरुष) ले २५ हजार पाँच सय २५, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले समान १० हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->