पोखरा/ पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट खेलमा स्याङजा समूह विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । समुह ‘ए’ को अन्तिम खेलमा स्याङजाले कास्कीमाथि ७७ रनको जित हासिल गरेको हो । स्याङजा कुल चार अंकका साथ समूह विजेता बन्दा कास्की एक खेल जित्दै २ अंकका साथ दोस्रो स्थानमा रहँदै बाहिरिएको हो । सोही समूहमा रहेको बागलुङ यसअघि नै अंकविहीन हुँदै विहिरिएको थियो ।
शनिबार २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको कास्की ४०.३ ओभरमा ११९ रनमा अल आउट हुन पुग्यो । कास्कीका ओपनर रोहित चन्द शून्यमै पेभिलियन फर्किए । अर्का ओपनर सिब्रिन श्रेष्ठले ४८ रनको योगदान दिए । उनले ८४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । मुस्कान थापा ८, अभिषेक बस्नेत २२, विधान श्रेष्ठ २०, सोहिल कुँवर १, विपिन खत्री १५, अभिषेक थापा २, अदित्य थापा १ र कृष्ण पौडेल २ रनमा आउट भए । नितेश गिरी २ रनमा नटआउट रहे ।
स्याङजाका लागि अंकित न्यौपानेले ६ं५ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए । अस्विन रानाले ७ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । तुलसीराम भण्डारीले १० ओभरमा ३ मेडनसहित ३१ रन खर्चेर २ तथा सन्दिप खत्रीले १ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्याङजाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २२ रन जोड्न सफल रह्यो । स्याङजाका ओपनर करण पँगेनी गोल्डेन डक आउट भए । पहिलो बलमै उनी बोल्डआउट हुँदै पेभिलियन फर्किए । दोस्रो ओपनर इश्वर क्षेत्रीले ५५ रनको उत्कृष्ट पारी खेल्दै क्याच आउट भए । उनले ६२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
सौजनय रेग्मी १४, सन्दिप खत्री शुन्य, सुजन गौतम १, किरण भट्टराई शुन्यमा आउट भए । मिलन क्षेत्रीले ३६ रन जोडे । उनले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अस्विन रानाले ५३ बलमा ६ चौकाको मद्धतमा ३२ रन जोड । अंकित न्यौपानेले ३८ बलमा २ छक्काको मद्धतमा ३१ रन जोडे । विपिन राज न्यौपाने १५ रनमा र तुलसीराम भण्डारी शुन्यमा नटआउट रहे ।
कास्कीका लागि कप्तान विपिन खत्रीले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नितेश गिरी र आदित्य थापाले २÷२ तथा कृष्ण पौडेलले १ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच स्याङजाका अस्विन राना घोषित भए । उनले ३२ रन जोडेका थिए भने ३ विकेट लिएका थिए । स्याङजा र कास्कीले यसअघि बागलुङलाई हराएका हुन् । प्रतियोगितामा आज समूह ‘बी’ तर्फको पहिलो खेलमा नवलपुरले तनहुँको सामना गर्दैछ ।





