पोखरा/प्रधानमन्त्री (पिएम) कप गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट खेलमा आइतबार समूह ‘बी’ तर्फको खेल सुरु भयो । समूह ‘बी’ को पहिलो खेलमा तनहुँले नवलपुरको सामना गर्दै थियो । खेल विहान ९ बजे सुरु भयो । टस तनहुँले जित्यो र ब्याटिङ रोज्यो ।
फिल्ङिको निम्तो पाएको नवलपुरले उत्कृष्ट बलिङ गर्दै २८.४ ओभरमा एक सय १० रन बनाएको तनहुँका सबै ब्याट्सम्यानलाई आउट ग¥यो अर्थात् तनहुँ अलआउट हुन पुग्यो । नवलपुरले मात्र १ सय ११ रनको विजयी लक्ष्य पायो । सहज लक्ष्य पछ्याएको नवलपुरले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जवाफी ब्याटिङ थाल्यो । नवलपुरको सुरुवात सुखद् रह्यो । पाँच ओभरको समाप्तिसम्म विना कुनै क्षति नवलपुरले ४७ रन जोडेको थियो ।
तर, छैटौं ओभरको अन्तिम बलमा नवलपुरले पहिलो विकेटको रुपमा प्रमिश अर्याललाई गुमायो । उनले १५ बलमा ४ चौका र १ छक्को मद्धतमा २२ रान जोड्दै बोल्ड हुन पुगे । लगत्तै सातौं ओभरको दोस्रो बलमा दोस्रो विकेटको रुपमा रोविन तिमिल्सिना शून्यमै पेभिलियन फर्किए । ११ औं ओभरको पहिलो बलमा ओपनर गोविन्द विक आउट भए । उनले ३३ बलमा ३ चौका र १ छक्काको मद्धतमा २७ रनको योगदान दिए । खेलको १४ औं ओभरको समाप्तिसम्म नवलपुरको जित्ने सम्भावना बलियो थियो । नवलपुरले मात्र ५ विकेट गुमाउँदै ७५ रन जोडिसकेको थियो । तर, नवलपुरलाई लेफ्टआर्म स्पिनर सन्दिपको डर थियो । सन्दीपले १४ ओभरसम्म ४ विकेट लिइसकेका थिए । १५ औं ओभरको दोस्रो बलमा रिजन काफ्ले १५ रनमा एल्बीडब्लु हुन पुगे ।
त्यसपछि टिकेर खेल्ने प्रयास गरेको नवलपुर १९ औं ओभरपश्चात भने टिक्न सकेन । नवलपुरको लगातर विकेट झर्न थाल्यो र सन्दीप एकाएक आक्रामक बने । १९ औं ओभरको पहिलो बलमा सन्देश बस्नेत आउट भए । सोही ओभरको तेस्रो बलमा कमल परियार बोल्ड भए । त्यसपछि भने तनहुँको जितको सम्भावना बढ्यो । सन्दीपले त्यसपछि २१ औं ओभरको पाँचौ र छैटौं बलमा क्रमशः अपराजित पौडेल र शिशिर भुषाललाई शून्यमा आउट गराए । सन्दीपले नै २५ औं ओभरको पहिलो बलमा क्रिजमा टिकेका विशाल पौडेललाई आउट गराए । विशाल १७ बलमा ३ चौका प्रहार गर्दै १७ रनमा आउट भए ।
खेल तनहुँले जित्यो । तनहुँलाई जिताएका सन्दीपले गण्डकी प्रदेशमा दुर्लभ कीर्तिमानी कायम गरे । उनले एकै खेलमा ९ विकेट लिदैं दुर्लभ कीर्तिमानी कायम गरेका हुन् । उनको यो गण्डकी प्रदेशमै सबैभन्दा बढी विकेट लिने कीर्तिमानी बनेको छ । यद्यपी छनोट खेल भएकाले यो राष्ट्रिय स्तरमा गणना हुनेछैन् । प्रदेशमा भने रहनेछ । सन्दीपले उक्त दुर्लभ कीर्तिमानी ९.१ ओभरमा २ मेडनसहित २५ रन खर्चेर बनाए ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको तनहुँ १ सय १० रन बनाउँदै २८.४ ओभरमा अलआउट हुन पुग्यो । तनहुँका ओपनर दिपेश अधिकारी शुन्यमै पेभिलियन फर्किए । अर्का ओपनर समीर कडेले १८ रन जोडे । दिनेश जंग बुढा मगरले ७ रनमै जोडे । कृष एयरले सर्वाधिक ४१ रनको योगदान दिए उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
उत्सव श्रेष्ठले २१ रन जोडे । उनले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । इशान श्रेष्ठ ६, सदित्य बन्जारा ३ रनमा आउट भए भने, चन्द्राकान्त पौडेल, सन्दीप पराजुली र प्रदीप अर्याल शून्यमै पेभिलियन फर्किए । एलिक श्रेष्ठ शून्य रनमा क्रिजमा रहे । नवलपुरका लागि विशाल पौडेलले ७.४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कमल परियार र कुमार रानाले २÷२ तथा अपराजित पौडेलले १ विकेट लिए । समूहको दोस्रो खेल आज पर्वत र तनहुँबिच हुनेछ । यदि तनहुँले जितेको खण्डमा फाइनल प्रवेश गर्नेछ । पर्वतले जितेमा अन्तिम खेलले कुन टिम जाने भन्ने टुंगो लाग्नेछ । समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरिसकेको छ ।





