पोखरा/ चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज महिलातर्फका सेमिफाइनल खेलहरु हुँदै छन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा पुरुषतर्फ समूह ‘ए’ मा रहेको गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीचको खेल यसअघि स्थगित भएका कारण महिलातर्फका सेमिफाइनलका खेलहरु मात्र हुने भएका हुन् । महिलातर्फ समूह ‘ए’ बाट एपिएफ विजेता तथा पुलिस उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह ‘बी’ बाट चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड समूह विजेता र त्रिभुवन आर्मी उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
महिला समूह ‘ए’ तर्फ बुधबार एपिएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेता बनेको हो । एपिएफले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ ले हराएको हो । उता समूह ‘बी’ तर्फ न्यू डायमण्डले हरियाणा टिम भारतलाई ३–० को सोझो सेटमा हराएको हो । न्यू डायमण्डले २५–१७, २५–१८ र २५–१६ ले हराएको हो ।
पुरुष समूह ‘बी’ तर्फ नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३–१ को सेटमा हराएपनि अन्तिम चारमा भने पुग्न सकेन । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट टाइगरकपको इतिहासकै लामो सेट रह्यो । रोमाञ्चक पहिलो सेटमा पुलिसले ४१–३९ को जित हासिल ग¥यो । तर, दोस्रो सेटमा भने श्रीलंका आर्मीले पुलिसलाई २५–१३ ले सस्तैमा सिमित बनाइदियो । त्यसपछिका सेटमा भने पुलिस हाबी हुँदै २५–२० र २५–१७ को जित हासिल ग¥यो । त्यो जितसँगै समूह ‘बी’ को अंक तालिका निकै रोचक बन्यो । समूहमा रहेका पुलिस, श्रीलंका आर्मीसँगै एपिएफको समान तीन–तीन अंक रह्यो । बराबरी अंक भएपछि प्राप्त गरेको अंक र गुमाएको अंकको आधारमा पुलिस बाहिरिदा एपिएफ विजेता तथा श्रीलंका आर्मी उपविजेता भयो । पुलिस एपिएफसँग सोझो सेटमा हारेको थियो । उता श्रीलंकाले पनि एपिएफलाई ३–१ को सेटमा हराएको थियो ।
पुरुष समूह ‘ए’ को उद्घाटन खेलमा प्रकाश नपुग भएपछि स्थगित हुँदा खेलको टुंगो लागेको छैन् । गण्डकी प्रदेश, त्रिभुनव आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब रहेको उक्त समूहमा हेल्प नेपालले दुई खेल खेल्दै चार अंक बटुलेको छ । बुधबार नै गण्डकी प्रदेशले हेल्प नेपाललाई ३–२ को सेटमा हराएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा गण्डकीले २५–१९ को जित हासिल गरेपनि दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–१७ को जित निकालेको गण्डकी चौथो सेटमा २२–२५ ले पछि प¥यो ।
अन्तिम निर्णायक सेटमा १५–१२ को जित हासिल गरेको हो । जितसँगै गण्डकीले २ अंक प्राप्त गरेको छ । यो समूहबाट हेल्प नेपाल अन्तिम चारमा प्रवेश गरिसकेको छ । हालसम्म समूहको शीर्षस्थानमा रहेको हेल्प नेपाल समूह विजेता वा उप विजेता बन्ने टुंगो भने गण्डकी र आर्मी बीचको खेलले निर्धारण गर्नेछ । उता आर्मीलाई सोझो सेटको जित आवश्यकता रहेको छ । यदि आर्मीले ३–२ को सेटमा गण्डकीलाई हरायो भनेपनि आर्मी बाहिरिनेछ । माघ एक गते उद्घाटन खेलको तेस्रो सेट सकिए लगत्तै खेल स्थगित भएको थियो । उक्त खेलमा गण्डकीले आर्मीमाथि २–१ को अग्रता लिएको थियो । गण्डकी र आर्मीको हरेक खेल निकै रोचक हुने गरेको छ । राष्ट्रिय खेलाडीले भरिएको आर्मी विरुद्ध तीन उत्कृष्ट भारतीय खेलाडीसहित गण्डकी मैदानमा उत्रिएको थियो । भारतीय खेलाडीको प्रदर्शनी निकै उत्कृष्ट लयमा देखिएको छ । उता, आर्मीमा भने अनुभवी खेलाडीहरु छन् ।
आजको खेल
महिलातर्फ
पहिलो सेमीफाइनल – एपिएफ क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब
दोस्रो सेमीफाइनल – चन्द्रागिरी न्यू डायमण्ड विरुद्ध नेपाल पुलिस क्लब
पुरुषतर्फ
गण्डकी प्रदेश विरुद्ध त्रिभुवन आर्मी क्लब (समूह ए अन्तिम खेल)





