पोखरा/ विभागीय क्लब एपिएफको महिला टोलीले टाइगरकपको उपाधिमा ह्याट्रिक गरेको छ । शनिबार सम्पन्न फाइनल खेलमा चन्द्रागिरी न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हराउँदै चौथो संस्करणको टाइगरकपको समेत च्याम्पियन बन्न सफल भएको हो ।
टाइगर ग्रुपअफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा भएको फाइनल खेलमा न्यु डायमन्डले खराब प्रदर्शनी ग¥यो । खेलामा हाबी भएको एपिएफले पहिलो दुई सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा २५–१८ को जित हासिल गरेको एपिएफले तेस्रो सेटमा २५–२१ ल्याउँदै च्याम्पियनमा ह्याट्रिक गर्न सफल भएको हो । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ ५५ हजार पाँच सय ५५ रपैयाँ प्राप्त गरेको छ ।
पहिलो संस्करणदेखि फाइनलमा पुगेको एपिएफले दोस्रो संस्करणदेखि च्याम्पियन बन्दै आएको छ । एपिएफ पहिलो संस्करणको उपविजेतासमेत हो । यस्तै न्यु डायमन्डले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
शनिबार नै भएको पुरुषतर्फका फाइनल जित्दै उपाधिमा तेस्रोपटकको च्याम्पियन बन्ने दाउमा रहेको गण्डकी प्रदेश हेल्प नेपाल स्पोट्र्स सामु ३–१ ले स्तब्ध भएको छ ।
गण्डकीको पनि प्रदर्शनी खराब रह्यो । समूह चरणको खेलमा हेल्प नेपाल माथि ३–२ को जित निकालेको गण्डकीलाई निकै दबाबमा राख्दै हेल्प नेपालले लगातार पहिला र दोस्रो सेट आफ्नो पक्षमा पा¥यो । पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा २५–१८ सहज जित निकाल्यो । तेस्रो सेट भने निकै रोमाञ्चक बन्यो । सोझो सेटमै पाखा लाग्न लागेको गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै खेलामा फर्किएको थियो । खचाखच दर्शकले भरिएको भलिबल कोर्टमा गण्डकीको योत्रा टुंगियो भन्दै दर्शक बाहिर निस्कन थालेका थिए । तर, गण्डकीले उक्त सेटमा हेल्प नेपाल २३–२० को स्थितिमा पुग्दा आयोजकले दर्शन जान थालेपछि माएबाटै गेटको चाबी खोल्ने सूचना भन्न बाध्य भएको थियो । हेल्प नेपाल २४–२१ को स्थितिमा पुगेपछि भने गण्डकीले उत्कृष्ट प्रदर्शनी गर्दै २६–२४ ले तेस्रो सेट आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा भने पुनः हेल्प नेपाल हाबी हुँदै २५–१७ ले हराउँदै च्याम्पियन बन्न सफल भयो । गण्डकी पहिलो र तेस्रो संस्करणको च्याम्पियन हो । उपाधिसँगै हेल्प नेपालले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र गण्डकीले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
निरुता र फखर सर्वाेत्कृष्ट
प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ भने हेल्प नेपालका पाकिस्तानी खेलाडी फखर उदिन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुवैले नगद २५ हजार पाँच सय ५५ रुपैयाँ हात पारे ।
यस्तै प्रतियोगिताको महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सर्भर न्यु डायमन्डकी बालमीका आचार्य, उत्कृष्ट सेटर एपिएफकी जोस्ना महतो, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीकी सुनिता खड्का, उत्कृष्ट लिब्रो डायमन्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी घोषित भए ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर स्पाइकर हेल्प नेपालका मजहर अलि, उत्कृष्ट सर्भर गण्डकीका हिमाल सुनारी, उत्कृष्ट सेटर हेल्प नेपालका मोहम्मद कशिफ नाभिद, उत्कृष्ट ब्लकर गण्डकीका रामस्वामी, उत्कृष्ट लिब्रो हेल्प नेपालका दिपक थापा र उत्कृष्ट प्रशिक्षक हेल्प नेपालकै उत्सव खड्का घोषित भए । विधागत उत्कृष्ट सबैले आकर्षक गिफ्ट र ट्रफी हात पारे ।





