पोखरा/ पोखरामा सबैभन्दा रुचाइएको खेल फुटबल हो । फुटबलमा दर्शकको उपस्थिति गज्जबकै हुने गर्दछ । तरपनि पछिल्ला केही वर्षयता पोखराको फुटबलमा दर्शक आउनै छाडेका छन् ।
पोखरामा हुने देशकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपमा पछिल्ला केही संस्करणमा दर्शकको जुन अपेक्षा गरिएको थियो, सो अनुसार हुन सकेन । अझ अरबौं रुपैयाँ खर्च गरि निर्माण गरिएको १७ हजार पाँच सय दर्शक क्षमताको प्यारापिट सहितको फुटबल मैदान निर्माण पछि अपेक्षित रुपमा दर्शक आएनन् । जसको घाटा सहारा क्लबद्धारा संचालित सहारा एकेडेमीलाई प¥यो । २३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको प्रतियोगिताबाट बचत रकमले पोखरा १७ दोविल्लामा रहेको एकेडेमीमा बालकहरुलाई आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षासहित फुटबल प्रशिक्षण गराउँदै आइरहेको छ । एकेडेमीको मुख्य आय स्रोत नै प्रतियोगिता भएपनि दर्शकको चाम घटेपछि यस पटक आयोजक सहारा क्लबले नगद पुरस्कार राखेको छ ।
मंगलबारदेखि पोखरामा आयोजना हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा टिकट काटेर खेल हेर्न आउने दर्शकमध्येबाट दुई जनाले पाँच÷पाँच हजार रुपैयाँ पाउने भएका छन् । त्यो पनि हरेक खेलमा । क्लबका अध्यक्ष केशवराज बरालले दर्शकका लागि आकर्षकको रुपमा पुरस्कारको व्यस्था गरेको बताए । ‘दर्शकका लागि यसपटक नगद राशी राखेका छौं । फुटबलको पोखरामा मात्र नभई नेपालमै फुटबलको क्रेज घटिरहेको छ । दर्शकले नै उकासेको यो प्रतियोगितामा दर्शकलाई समेत केही नयाँ हुनुपर्छ भनेर यस पटक दुई जना भाग्यमानी दर्शकका लागि नगद पुरस्कार राखेका छौं’, उनले भने । उक्त पुरस्कार सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष एवं सहारा युकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पुर्व कोषाध्यक्ष उमादेवी गुरुङले गरेका छन् । अध्यक्ष बरालले हरेक दिन गोलाप्रथाबाट दुईजना दर्शकलाई पुरस्कार प्रदान गरिनेछ ।
त्यतिमात्रै होइन सहाराले विद्यालयस्तरमा फुटबलको विकास गराउने लक्ष्यका साथ यसपटक पोशाकमा आउने विद्यार्थीलाई निशुल्क प्रवेशको समेत व्यवस्था मिलाएको छ । अध्यक्ष बरालले प्रतियोगिताले पोखरालाई पर्यटकीय शहरसँगै खेलकुदको हव बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न उत्कृष्ट विदेशी टिमलाई ल्याएको समेत बताए ।
उनका अनुसार भुटानको पारो एफसी आउने छ । भारतको आइ लिग खेलिरहेको दिल्ली एफसी आउने कुरा रहे पनि आइ लिगको दोस्रो चरणको लिगका कारण आउन नपाएको हो । प्रतियोगिताको अन्तिम दिन एक जना दर्शकलाई सिजी इलेक्ट्रोनिक्स प्रालिको तर्फबाट आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी प्रत्येक क्लबलाई खेल खेले वापत प्रि–क्वाटर पुग्ने टिमहरुलाई २०/२० हजार, क्वाटर फाइनल पुग्ने टिमलाई ३०/३० हजार सेमिफाइनल पुग्ने टिमहरुलाई ५०÷५० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक पुर्णबहादुर गुरुङले बताए ।
उनका अनुसार प्रिक्वाटर र क्वाटरफाइनलमा टिकट शुल्क साधारणतर्फ एक सय भि आई पी तर्फ दुई सय, सेमिफाइनलमा साधारण दुई सय रुपैयाँ, भि आईपी चार सय र फाइनल खेलमा साधारण तीन सय, भी आईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।
सोही क्रममा बोल्दै मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले हाल व्यवसायमा गिरावट आएपनि प्रतियोगितामा गिरावट आउन नदिएको सुनाए । उनले मोफसलकै प्रतिष्ठित प्रतियोगितालाई सहयोग गर्ने क्रम जारी रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
क्लबका महासचिव रामजीप्रसाद अधिकारीले प्रतियोगिताबाट एक करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानीमा एक करोड ४९ लाख तीन हजार खर्च हुने अनुमान रहेको बताए ।
दिल्ली एफसीको ठाउँमा एपिएफ
यसअघि दुई विदेशीसहित १२ टिमको सहभागिता रहने भनिएपनि दिल्ली एफसीको ठाउँमा विभागीय क्लब एपिएफ खेल्ने भएको छ । प्रतियोगितामा भुटानको पारो एफसी, विभागीय क्लब त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस, ए डिभिजनका क्लबहरु थ्रीस्टार, मछिन्द्र, जावलाखेल, मनाङ मस्र्याङ्दी, संकटा र चर्च ब्वाइज युनाइटेड तथा मोफसलको क्लब राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता रहेको छ ।





