स्याङ्जा/ स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्यांकनमा ९४ प्रतिशत अंक प्राप्त गर्दै पहिलो बनेको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आशिष शर्माले आर्थिक वर्ष २०७९÷२०८० को कार्यसम्पादन स्वमूल्यांकनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट भएको बताए ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा अहिलेसम्म स्याङ्जा जिल्लाको अर्जुनचौपारीसहित नौ स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । गाउँपालिकाले संगठन तथा प्रशासन,वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहमा,न्यायिक कार्यसम्पादन ,सामाजिक समावेशीकरण र सहकार्य तथा समन्वयमा शत प्रतिशत अंक ल्याउन सफल भएको छ । यस्तै शासकिय प्रवन्धमा ९४.४४ प्रतिशत आर्थिक बजेट तथा योजना व्यवस्थापन मा ८६.३६ प्रतिशत,भौतिक पूर्वाधार मा ८०.७७ प्रतिशत रवातावरण तथा विपत व्यवस्थापन ८३. ३३प्रतिशत अंक ल्याउन सफल भएको हो ।
हरेक पालिकाले माघको पहिलो साताभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिकाबाहेक सबै स्थानीय तहको नतिजा सार्वजनिक भएकोमध्ये अर्जुनचौपारी गाउँपालिका अघिदेखिएको हो । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ । सोही मूल्यांकनका आधारमा स्थानीय तहले बजेट पाउने गरेका छन् ।




