पोखरा/ आहा रारा पोखरा गोल्डकपमा विभागीय क्लब त्रिभुनव आर्मीले डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदानमा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा संकटामाथि ३–० को सहज जित निकाल्दै आर्मी आठौंपटक आहा राराको सेमीफाइनलमा प्रवेश गरेको हो । आर्मीका लागि दिनेश हेन्जनले दुई तथा गिलेस्पी कार्कीले एक गोल गरे । यसअघि सातौं पटकसम्म सेमीफाइनलमा पुगेको आर्मीले चारपटक फाइनलको यात्रा गरे पनि हालसम्म उपाधि चुम्न भने सकेको छैन् ।
आइतबारको खेलमा संकटामा विदेशी खेलाडी खेल्न नपाउँदा आर्मीले भरपुर फाइदा लियो । खेलको २० औं मिनेटमा कुलदीप कार्कीको हेडरलाई आर्मीका गोलरक्षक समित श्रेष्ठले बचाए । अनिल महर्जनले प्रहार गरेको कर्नरमा उनले हेड गरेका थिए । आर्मीले २८ औं मिनेटमा पाएको फ्रिकीकको सुदुपयोग गर्न सकेन । ३२ औं मिनेटमा संकटाका अञ्जनको प्रहारलाई गोरलक्षक समितले उत्कृष्ट बचाउ गरे । सुमित श्रेष्ठले निकालेको पासमा अञ्जनले प्रहार गरेका थिए ।
४५ औं मिनेटमा भरत खवासको पासमा गिलेस्पीले हेडमार्फत सुन्दर गोल गर्दै अग्रता दिलाए । दिनेश हेन्जनले दिएको पासलाई नियन्त्रणमा लिदैँ भरले एक खेलाडी विट गर्दै गरेको क्रसबलमा गिलेस्पस्ले हेड गरेको बलले जाली चुमेको हो ।
स्ट्राइक लाइनमा अञ्जन विष्ट, आयुष घलान र सुमित श्रेष्ठजस्ता चर्चित खेलाडीलाई लिएको खेलेको संकटाले दोस्रो हाफमा भने थप दुई गोल खान पुग्यो । दोस्रो हाफमो सुरुवातमै आर्मीले पेनाल्टीको अवसर पायो । संकटाका कुलदीप कार्कीले डिएरियाभित्र हातले बल छोएपछि पेनाल्टिको अवसर पाएको हो । दिनेश हेन्जनले फस्टबार च्याप्दै गोल गरे । ७४ औं मिनेटमा अञ्जनले किपरलाई विट गर्दै अघिबढेर खाली पोष्टमा प्रहार गर्न ढिला भए । लाकेन लिम्बुको रनिङ पासलाई नियन्त्रणमा लिँदै विष्टले बल अघि बढाउँदा गोलरक्षक डि एरिया बाहिर आइपुगेका थिए । सोही क्रममा विष्टले विट गर्दै अघिबढाए पनि प्रहार गर्न ढिला भयो । त्यसको दुई मिनेटपश्चात अर्थात ७६ औं मिनेटमा गिलेस्पीको पासमा हेन्जनले सहज गोल गरे ।
सेमीफाइनल जित्न चाहन्छौं : मेघराज केसी (त्रिभुवन आर्मी)
खेल राम्रो रह्यो । क्वाटर फाइलनमा सजिलैसँग जितियो । यो नेपाल हो । यहाँ टिम फिल्डमा नआएसम्म भन्न सकिदैन त्यो पेपरमा मात्रै भएर हुँदैन् । प्रत्येक सिजन यसरी नै परिवर्तन हुन्छ, पहिला सिजनको टिमहरु एके ठाउँमा रहँदैन र अर्को कुरा फुटबल टिम गेम हो । जतिसुकै नाम चलेको खेलाडी ल्याएर खेलाए पनि केही हुनेवाला छैन् । यो टिमवर्कको कुरा हुन्छ जस्तो संकटामै हेर्नुस् त्यहाँ नाम चलेका धेरै खेलाडीहरु छन् । तर, पोखरा खेल्नका लागि टिम बटुलेर खेल्न आयो र आर्मी भनेको तीन चार महिनादेखि सेट टिममा प्रशिक्षण गरिरहेको टिम हो । तर पनि नतिजाको ग्यारेण्टी हुँदैन । टिमवर्कको इफेक्ट मैदानमा देखिन्छ ।
विदेशी खेलाडीको हकमा राज्यले एक नियम बनाएको छ, खेल्न पाउने नपाउने भन्दा पनि राज्यको नियम मान्नुपर्छ ।
हाम्रो रणनीति र टार्गेट भनेको प्रत्येक चुनौतीहरुलाई पार गर्दै जाने हो ।सेमीफाइनलमा हामीसँग को आउनुहुन्छ, उहाँहरुको पक्कै पनि दुई खेल हेर्न पाइसकेका हुन्छौ । त्यो अनुसार नै हामी तयार हुन्छौं । अबको हाम्रो फोकस भनेको सेमीफाइनल नै हो । हामी सेमीफाइनल जित्न चाहन्छौं ।
आयोजकले प्रशिक्षण मैदान गतिलो दिएन : रविन्द्र सिलाकर ( प्रशिक्षक संकटा )
जब हामी होटलबाट निस्किदै थियौ त्यतिबेला हामीसँग एउटा सेट थियो । हामी मैदानमा आइसकेपछि हामीले टिमबाट तीनजना विदेशी खेलाडी बाहिर निकाल्नु प¥यो । फुटबल व्यक्तिगत खेल होइन् । यदि व्यक्तिगत हेर्ने हो भने आर्मीसँग भन्दा हामीसँग उत्कृष्ट खेलाडीहरु थिए । यो टिमवर्क खेल हो । एउटा व्यवस्थित टिमसँग बन्दै गरेको टिम गएर खेल्नु भनेको सजिलो कुरा होइन् । जस्तो आर्मी धेरै अघिदेखि प्रशिक्षणमा छ, प्रतियोगिताहरु खेलिरहेको छ त्यस्तो टिमको विरुद्धमा हामी हिजो अस्तीमा मात्रै तयारी थालेर आज मैदानमा उत्रियौं, त्यो पनि हिजो जुन पा्रक्टिसको लागि आयोजकले फिल्ड मिलाइदिएको थियो ।
त्यो फिल्ड तपाईँहरु हेर्न जानुभयो भने आफै जिल्ल पर्नु हुन्छ । पुरै नराम्रो फिल्ड थियो, त्यसमा आकार थिएन, बल्ल–बल्ल म्यानेज गरेर मैदानसम्म आउन पाएको छैन् फेरि तीनजना खेलाडीले खेल्न पाउँदैन भनेर मेसेज आउँछ । वर्क पर्मिट थिएन । दुई हप्ताअघि फाइल पठाएका थियौं । मन्त्रालयमा पुगेर अड्किएको छ रे । अब मन्त्रालयले विदेशी खेलाडी खेलाउन नचाहेको हुन सक्छ । तर, दर्शकका लागि हामीले राम्रो खेल पस्किन सक्यौँ होला । हाम्रो खेलाडीले जुन समन्वय गर्नुपर्ने थियो, त्यो हुन सकेन । मिडफिल्डले फरवार्डको पोजिसन खेल्न परिरहेको थियो । मुख्य समस्या नै त्यही हो । हामीसँग अहिले खेलेका खेलाडी खेल्न पाउँछन भन्ने पनि छैन किनभने उनीहरुलाई नेसनल टिममा बोलाइएको छ ।





