पोखरा/ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामाको २३ औं संस्करणको फाइनल खेल आज हुँदैछ । फाइनलमा पाँच पटकको विजेता थ्रीस्टार र उपाधिविहीन त्रिभुनव आर्मी क्लब आम्नेसाम्ने हुँदैछन् । जारी प्रतियोगितामा दुवै टिमले तीन÷तीन खेलमा विजयी हुँदै फाइनल प्रवेश गरे । मनाङसँग उपाधि विजेतामा बराबरी गर्ने योजनामा थ्रीस्टार छ । थ्रीस्टारले आर्मीलाई हराएमा ६ पटकको विजेता हुँदै सर्वाधिक उपाधि चुम्ने मनाङसँग बराबरी गर्नेछ । तर, थ्रीस्टारलाई सहज भने छैन । थ्रीस्टारका लागि जति जटिल छ त्यति नै सहज आर्मीका लागि उपाधि चुम्ने अवसर छ । यसपटक आर्मीलाई धेरै कुराको एडभान्टेज छ, च्याम्पियन बन्न । मुख्यतः थ्रीस्टारमा युवा खेलाडीहरु छन् । थ्रीस्टारले छोटो समयमा खेलाडी बटुलेर ल्याइएको छ ।
लिग सिजन सकिएपछि ए डिभिजन क्लबहरुले खेलाडी अनबन्धन गरिसकेको अवस्था छैन् । आर्मीमा त्यो समस्या छैन् । आर्मीले करिब ६ महिनादेखि निरन्तर सेट भएको टिम छ । जुन उपाधि चुम्ने खुड्किलो सावित हुन्छ । आर्मीको मुख्य समस्या भनेको हाइ प्रेसर (खेलमा दबाब) थाम्न नसक्नु हो । आर्मीले खेल राम्रो खेले पनि जति समय घर्कँदै जान्छ उति तनाब झेल्दै जाँदा सामना गर्न सक्दैन र नतिजा आफ्नो पक्षबाट फुत्काउन सक्छ । आर्मीका लागि अर्को फाइदा भनेको थ्रीस्टारमा विदेशी खेलाडी नहुनु रहेको छ । हालसम्म देशका विभिन्न ठाउँमा हुने प्रतियोगितामा विभागीय टोलीका लागि विदेशी खेलाडी बाधक बन्दै आइरहेका छन् । शारीरिक रुपमा नेपाली फुटबलमा विभागीय खेलाडी बलिया देखिन्छन् । उनीहरुभन्दा विदेशी झन बलिया छन् । विपक्षी टोलीमा विदेशी खेलाडी नहुँदा आर्मीलाई च्याम्पियन बन्ने ठूलो अवसर छ । आर्मी शारीरिक रुपमा बलियो छ, थ्रीस्टार भन्दा ।
त्यसो त थ्रीस्टार पनि कम छैन । युवा जोश छ । थ्रीस्टारको समस्या टिमवर्कमा छ । लिग सकिएपश्चात खेलाडीहरु एक भएर खेलेको यो प्रतियोगिता नै पहिलो हो ।
पाँच वर्षअघि यी दुई टिमको भेट फाइनलमा भएको थियो र नजिता थ्रीस्टारको पक्षमा परेको थियो । निकै रोमाञ्चक खेलको निर्धारित र थप समयमा २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा थ्रीस्टार ५–४ ले विजयी भएको थियो ।
थ्रीस्टारले आहा रारा गोल्डकपको पहिलो संस्करणबाटनै सहभागिता जनाउँदै आएको हो भने आर्मीले दोस्रो संस्करणबाट । तर, २२ औं संस्करण सकिदासम्म थ्रीस्टार छ पटक फाइनलमा प्रवेश गर्दा पाँचपटक विजेता बनेको छ भने एकपटक उपविजेता । उता आर्मी भने चारपटक फाइनल पुगी उपविजेतामै सीमित भएको छ । यी दुईको फाइनलमा भेट आहा रारामा यो दोस्रो पटक हो ।
आर्मीले उपाधि चुम्छ : प्रशिक्षक मेघराज केसी
हामी चारपाँच महिनादेखि सशक्त रुपमा तयार गर्दै आइरहेका छौं । पुराना खेलाडी बाहिरिएको अवस्थामा र धेरै टिमले युवा खेलाडीालाई स्थान दिइरहँदा आर्मी पनि त्यसैमा पर्छ । पहिलाको इतिहास भन्दा पनि यसपालि आहा रारा जित्नका लागि आएको हो । आहा रारा गोल्डकप मेरो कोचिङ हिसाबमा चाहिँ यसपालि ह्याट्रिक गर्ने योजना छ । मेरो ह्याट्रिमा आर्मीको नाम लेखिने छ भन्नेमा एकदमै आत्मविश्वास छ ।
हामीलाई एडभान्टेज छ : भरत खवास– आर्मी कप्तान
कुनै पनि खेल खेल्दा उपाधिका लागि सबै टिमले कोसिस गर्छ । अघिल्लो संस्करणमा हाम्रो मिहेनत र संघर्ष नपुगेको अनुभव भयो यसपटक धेरै छ । हामी दुई सय प्रतिशत दिने छौँ, भोलिको खेलमा । भगवान र पोखरेली दर्शकको आशिर्वाद भए हामी ट्रफी जित्छौ । थ्रीस्टारमा विदेशी खेलाडी नहुँदा हामीलाई एडभान्टेज छ । किनकि हामीसँग लामो अनुभव भएका खेलाडीहरु छन् । अन्य क्लबले टिपन टापन गरेर खेलाडी ल्याएका छन् तर हामीले सेट टिम नै तयार पारेका छौं । अरुले यो खेलमा एउटा अर्को खेलमा अर्को खेलाडी खेलाउने गरेका छन् । त्यसले गर्दा एडभान्टेज हामीलाई छ ।
गुरुको विपक्षमा खेल्दै छु : विक्रम लामा –प्रशिक्षक थ्रीस्टार
अवसर भनौं या सौभाग्य । गुरुको विपक्षी भएर खेल्न पाएका छु । मेघराज केसी हिजो पनि गुरु हुनुहुन्थ्यो आजपनि हुनुहुन्छ र सधैँ रहिरहनुहुन्छ । भावनात्मक र व्यक्तिगत कुरा फरक हुन् र व्यवहारिक कुरा फरक हो । आज उहाँहरुबाटै सिकेका कुराहरुलाई प्रस्तुत गर्ने कोसिस गरिरहेको छु । हिजो उहाँको निर्देशनमा भित्र खेलिन्थ्यो भने अहिले बाहिर पनि खेल्ने अवसर पाएको छ । हाम्रोमा खेलाडी युवा छन तर खेलको अनुभव छ । टिमका खेलाडीले देशको प्रतिनिधित्व गर्दै विभिन्न उमेर समूहदेखि देशकै प्रतिनिधित्व गरिसकेका छन् । त्यसैले खेलको अनुभव प्रसस्त छ । तर, टिमको रुपमासँगै नखेलेको भएर अलिकति गाह्रो छ । केही कमी–कम्जोरीहरु छन् त्यसलाई सुधार गरेर जानेछौं ।
भाइहरुमा आत्मविश्वास छ : विराज महर्जन –थ्रीस्टार
विक्रम मेरो साथी हो, उहाँले मलाई क्याप्टेनसीप दिँदा म निकै खुसी छु । तर, हामीले जुनियर भाइहरुलाई पनि मौका दिनुपर्छ भनेर क्याप्टेनसीप दिएका छौं । भोलि सिनियर खेलाडीको रुपमा उनीहरुलाई देख्न चाहन्छाँै । हाम्रो टिम युवाहरुको टिम छ । म सिनियर खेलाडी पनि बेन्चमा बसेको छु र अन्त्यमा मात्रै प्रवेश गरेको छु यो जुनियर खेलाडीलाई अघि बढाउनका लागि हो । हाम्रो टिम अब युवाको टिम हो । सिनियर खेलाडी बेन्चमा छ । हामीले खेल्नुपर्छ देखाउनुपर्छ भन्ने भाइहरुमा आत्मबल छ । आर्मी राम्रो टिम हो, टिमवर्क छ, प्रशिक्षण छ, अनुभव छ तर हामीसँग जोश छ । फाइनल खेल टफ हुनेछ । हामी छोटो समयमा टिम तयार पारेर आएका छौं । हामी एकतामा छौं । विदेशी खेलाडी नभए पनि हामीलाई केही छैन् । पाँचपटक जितेका छौं । अब छैटौं पटक जित्नेछौँ ।





