पोखरा/ खेलक निकै रोमाञ्चक थियो । दुबै टिम संघर्ष गरिरहेका थिए । ९० मिनेट सकियो । ३० मिनेट थप भयो तै पनि नतिजा बराबरी ! स्वभाविक थियो, खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा थ्रीस्टारले त्रिभुनव आर्मी क्लबलाई ५–४ ले हरायो । यो आजभन्दा पाँच वर्षअघिको आहा रारा पोखरा गोल्डकपको फाइनलको नतिजा र दृष्य थियो । त्यो बेला त्यस्तै भयो, आर्मी आहा राराको उपाधि चुम्ने सपनाबाट विमुख बन्यो र तगारो थियो– थ्रीस्टार ।
आहा रारा पोखरा गोल्डकपमा सहभागीमध्ये त्रिभुवन आर्मी क्लब सधैँ अभागी रह्यो । फाइनलमा पुगेरसमेत उपाधिविहीन रहेको इतिहास उसको नाममा मात्रै लेखिएको छ । अन्य क्लबले फाइनल पुगेको एक न एकचोटी उपाधि चुमेकै छन् । पाँच वर्षअघि थ्रीस्टारका प्रशिक्षकमा मेघराज केसी र मैदानमो विक्रम लामा थिए । तर, पाँच वर्षपछिको अवस्था फेरिएको छ । थ्रीस्टारको प्रशिक्षकमा तीनै विक्रम लामा छन् भने, आर्मीको प्रशिक्षकमा मेघराज केसी ।
मेघराज केसी आहा रारा गोल्डकपमा सफल प्रशिक्षक हुन् । उनले सम्हालेका टिमले उपाधि चुमेकै छन् । थ्रीस्टारले आहा रारा गोल्डकपको पहिलो संस्करणबाट नै सहभागिता जनाउँदै आएको हो भने आर्मीले दोस्रो संस्करणबाट । तथापि, बीचका केही संस्करणमा ऊ पनि आएन । २२ औं संस्करण सकिँदासम्म थ्रीस्टार छ पटक फाइनलमा प्रवेश गर्दा पाँचपटक विजेता र एकपटक उपविजेता बन्यो । आर्मी चारपटक फाइनल पुगी उपविजेतामै सीमित भयो ।
आर्मीलाई इतिहास रच्ने अवसर थियो । त्यसको मुख्य कारण बलियो टिम नै थियो । थ्रीस्टारमा नयाँ खेलाडी थिए, प्रशिक्षण थिएन । आहा रारा गोल्डकपकै लागि भनि थ्रीस्टारले टिम तयार पा¥यो र यही टिमलाई अघिबढाउने सोचमा थ्रीस्टार छ जहाँ अब केहि विदेशी खेलाडी थपिने छन् ।
शनिबार आर्मीका लागि आहा रारा गोल्डकपको उपाधिको ढोका खुल्ला थियो । आर्मीलाई जति सजिलो थिया,े थ्रीस्टारलाई उति नै कठीन । नभन्दै शनिबारको फाइनलमा त्यही भयो । आर्मीले थ्रीस्टारलाई ३–० ले हराउँदै उपाधि चुम्यो । आर्मीले उपाधि चुम्दै गर्दा प्रशिक्षक मेघराज केसीको लागि प्रशिक्षकको रुपमा आहा रारामै तेस्रो सफलता पनि हात लाग्यो ।
विडम्बना आर्मीका लागि लामो समय कप्तानी गरेका भरत खवासले भने त्यो खुसी लिन पाएनन् । सेमीफाइनलमा चर्च ब्वाइजसँगको खेलमा घाइते हुँदा उनले फाइनल गुमाएका थिए । टिम च्याम्पियन बन्यो,उनले बेञ्चबाटै खुसी जताए ।
फाइनलमा आर्मीले एकपक्षीय खेल देखायो । सुरुको १५ मिनेट थ्रीस्टारको प्रदर्शनी राम्रो रहे पनि त्यसपछि भने उसले लय गुमाउँदै गयो । थ्रीस्टारको रणनीति भनेको सुरुवातमै नतिजा निकाल्नु हो, त्यो सम्भव भएन । खेलको १४ औं मिनेटमा महेन्द्र कार्कीको फ्रिकिक प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । थ्रीस्टारका लागि त्यो अवसर सुवर्ण थियो । कमल थापाले थ्रीस्टारका कप्तान योगेश थापालाई लडाएपछि फ्रिकिकको अवसर पाएको थियो । त्योबाहेक थ्रीस्टारले खेलमा गतिलो अवसर नै पाएन । खेलको ३९ औं मिनेटमा कप्तान गिलेस्पीजंग कार्कीले हेडमार्फत् गोल गर्दै आर्मीलाई अग्रता दिलाए । सिद्धान्त चौधरीको कर्नर प्रहारमा कार्कीले आफ्नोे उचाइको फाइदा उठाउँदै हेडरमार्फत् गोल गरे । ४९ औं मिनेटमा आर्मीका रसबहादुर मगरको पासमा फत्तेमान घलेको प्रहार पहिलो बारनजिक बाट बाहिरियो ।
पहिलो हाफमा १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा भने थप दुई गोलको सामना गर्नुप¥यो र समग्रमा ३–० को हार व्यहोर्न बाध्य भयो । खेलको ८३ औं मिनेटमा फत्तेमानले टोलीका लागि दोस्रो गोल गरे । थ्रीस्टारका डिफेन्डर जीवन गुरुङले थ्रोबाट आएको बललाई खोस्दै फत्तेमानले उत्कृष्ट गोल गरे ।
निर्धारित समयको खेल सकिएपश्चात ६ मिनेट थप गरिएको थियो । थप गरिएको चौथो मिनेटमा वसन्त जिम्बाले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै किपर र डिफेन्डरलाई विट गरी टोलीलाई ३–० को अग्रता दिलाए र पाँच वर्षअघिको हारको बदला आर्मीले लियो । आर्मीका प्रशिक्षक मेघराज केसीले आफु आहा रारा गोल्डकपमा सफल भएको प्रतिक्रिया दिए । उनले पाँचपटक उपाधि नजिक पुग्दा तीनपटक उपाधि जितेको सुनाए । कप्तान भरत खवासले सेमीफाइनलमा घाइते भएका कारण फाइनल खेल गुमाउँदा केही निराश भए पनि उपाधि चुम्दा कुनै गुनासो नरहेको सुनाए । उपाधिसँगै आर्मीले १२ लाख एक हजार रुपैयाँ हात पा¥यो भने उपविजेता थ्रीस्टारले ६ लाख एक हजार रुपैयाँ प्राप्त ग¥यो ।
सर्वोत्कृष्ट खेलाडी आर्मीका डिफेन्डर विमललाई
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका डिफेन्डर विमल पाण्डे घोषित भएका छन् । टोलीलाई उपाधि दिलाउन ठूलो भूमिका खेलेका उनले फाइनलमा विपक्षिलाई गोल गर्ने अवसर नै दिएनन् । उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरे । उनी उत्कृष्ट डिफेन्डर समेत घोषित भए ।
उत्कृष्ट गोलरक्षक आर्मीकै समित श्रेष्ठ घोषित भए । उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका विवेक पौडेल, उत्कृष्ट स्ट्राइकर गिलेस्पीजंग कार्की, उच्च गोलकर्ता आर्मीकै दिनेश हेन्जन घोषित भए । उनले कुल ३ गोल गरे ।
उत्कृष्ट प्रशिक्षक मेघराज केसी घोषित भए भने फेयर प्ले जावलाखेलले पायो । विधागत उत्कृष्ट हुने खेलाडीले समान २५÷२५ हजारसहित ट्रफी हात पारे ।





