बागलुङ/ बुधबारदेखि हुने गुराँस कप अन्तर विद्यालय स्तरीय फूटसल प्रतियोगिताको तयारी पूरा भएको छ । गुराँस विद्या सदन बाल क्लवको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा १५ विद्यालयका २० समुहको सहभागिता रहने गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिए ।
गुराँस विद्या सदनको छैटौँ बार्षिकोत्सवको अवसरमा कक्षा ८ सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । प्रतियोगितामा विजेता समुहलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता बन्ने समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सेमिफाइनल पुग्ने समुहलाई पनि ट्रफी र प्रमाण पत्र प्रदान गरिने जानकारी दिदै शिक्षक रामु जिसीले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने बताए ।
पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि खेलले महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए ।





