पोखरा/सूर्यतारा क्लब तालचोक र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्ता आयोजनामा चैतको पहिलो साता खेल महोत्सव हुने भएको छ । लेखनाथको भण्डारढिकमा आयोजना हुने खेल महोत्सवमा विभिन्न विधाका खेलहरु हुने भएका छन् ।
खेल महोत्सव बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक विष्णु पुनले खेलकुद क्षेत्रमा संस्थागत विकास गर्दै खेलको माध्यमबाट पर्यटन प्रर्बद्धन गर्न लागेको बताए ।
२०७५ सालमा स्थापित संस्थाले सुरुवातमा चाँदीको ट्रफीसहित भलिबल खेलको आयोजना गरेपनि पछिल्लो समय फुटबल खेल ओरालो लागेका कारण फुटबललाई प्राथमिकता दिदैँ खेल महोत्सव आयोजना गर्न लागेको सुनाए ।
उनका अनुसार खेल महोत्वसको मुख्य आकर्षणको रुपमा फुटबल रहेको छ । विभिन्न ६ विधामध्ये फुटबल मुख्या खेल रहने उनको भनाई छ । ‘हामीले अहिले फुटसल खेलका देखेका छौं, पोखरामा सेभेन ए साएड फुटबल खेल खेलेको पनि देखेका छौं तर फुटसल र सेभेन ए साइडले फुटबल खेलको विकास हुँदैन,’ उनले भने, पछिल्लो समय पोखरामा त फुटबल प्रतियोगिता हुनै छाडेको अनुभूति भइरहेको छ त्यसैले भलिबल छाडेर फुटबल आयोजना गर्दैछौं ।’
पोखरा २९ लेखनाथस्थित भण्डारढिकमा रहेको खेल मैदानलाई प्रस्तावित भण्डारढिक रंगशालाको रुपमा अघि बढाउँदै प्रतियोगिता गर्न लागेको पुनले बताए ।
चैत ३ गतेदेखि ११ गतेसम्म हुने खेल महोत्सवमा फुटबल प्रतियोगिताको विजेताले नगद तीन लाख तीन हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले एक लाख ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमले नगद सात हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल १६ टिमलाई मात्र स्थान दिने उनले सुनाए ।
कास्की जिल्ला विद्यालयस्तरीय नृत्य प्रतियोगिताको विजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ दोस्रो हुनेले ३३ हजार तीन सय ३३ र तेस्रो हुनेले २२ हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्नेछन् । नृत्य प्रतियोगिता फागुन २६ गतेदेखि हुनेछ ।
गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको विजेताले ५५ हजार पाँच सय ५५, दोस्रोले ३३ हजार ३३३ रुपैयाँ, तेस्रो हुनेले २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । एथलेटिक्सतर्फ हुने तीन विधाका खेलमा प्रथम हुनेले समान सात हजार, दोस्रो पाँच हजार र तेस्रोले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एथलेटिक्सतर्फ महिला खुल्ला पाँच किमी दौड, ४५ वर्षमाथि खुल्ला पाँच किमी दौड र विद्यालयस्तरीय पाँच किमी दौड हुनेछ । एथलेटिक्सका खेल भने फागुन १९ गते हुनेछ ।
यस्तै, झाकी प्रदर्शनीको विजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुनेले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।





