काठमाडौँ/त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा ग¥यो ।
नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाए । म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाए । उत्कृष्ट सुरुआत गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनका साझेदारी गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए ।





