बागलुङ/दोस्रो ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा बुद्वचित्तलाई पराजित गर्दै रुद्रेपिपल युथ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । बुद्वचित्तलाई ट्राइबेकरमा ४–३ गोलले निराश पार्दै रुद्रेपिपलले सेमीफाइनल यात्रा तय गरेको हो ।
खेलको १४ औं मिनेटमा रुद्रेपिपलका स्ट्राइकर अभिषेक गुरुङले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिएका थिए । निकै प्रतिष्पर्धात्मक खेलको इन्जुरी समयमा बुद्वचित्तका आशिष रोका मगरले गोल गर्दै खेललाई ट्राइबेकरमा धकेलेका थिए ।
ट्राइबेकरमा बुद्वचित्तका फिरोज घिमिरेको प्रहार रुद्रेपिपलका गोलरक्षक सन्दिप क्षेत्रीले बिफल बनाउँदा अंकित गुरुङको प्रहार गोलबारभन्दा टाढाबाट बाहिरिन पुग्यो । ट्राइबेकरमा रुद्रेपिपलका रोशन लामिछाने गोल गर्न चुक्दा अर्जुन मगर, अमृत कुँवर, मनिष क्षेत्री र विशन गुरुङले आर्कषक गोल गरे । बुद्वचित्तका लागि कमल थिङ, आशिष राना मगर, कोपिल छन्त्यालले पेनाल्टीमा गोल गर्न सफल भए ।
रुद्रेपिपलले बिहिबार हुने पहिलो सेमीफाइल खेलमा बागलुङ सुधार केन्द्रको सामना गर्ने छ । दुई अफ्रिकी खेलाडि सम्मिलित बागलुङ सुधार केन्द्रलाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको छ ।
बुधबारनै सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी) विरुद्व सहज जित निकाल्दै आदर्श स्पोर्टस् क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । कमजोर डिएमसीमाथि हाबी बनेको आदर्शले ५–० गोलको फराकिलो नजिता निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो । आदर्शको जितमा नाइजेरियन विंगर फिलिप्स भिक्टरले २, रिजन पुन, सुरेन्द्र गुरुङ र युवराज ढकालले समान एक/एक गोलको योगदान गरे ।
आदर्शले बिहिबार हुने दोस्रो सेमीफाइल भीडन्तमा नेपाली सेनाको श्रीमेयर गणसंग प्रतिष्पर्धा गर्ने छ । आर्मी अर्ना जेसिज कपको डिफेन्डिङ च्याम्पियन टोली हो ।





