पोखरा/सुर्य तारा (नेकोस) खेल महोत्सव शनिबारबाट लेखनाथमा शुरु भएको छ । सुर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा पोखरा–२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा शुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आज (आइतबार) पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेको किस्सा सुनाउँदै पर्यटकीय राजधानी हुनका लागि स्तरीय पर्यटकको आवगम हुनुपर्ने बताए ।
पर्यटक संख्यामा वृद्धि भएमा मात्रै यसको महत्व रहने बताउँदै त्यो खेलकुदमा सम्भव रहेको उनको भनाई थियो । ‘पोखरा अब पर्यटकीय राजधानी घोषित हुँदैछ । तर, पर्यटकीय राजधानी भन्दैमा पर्यटक कसरी आउँछन भन्ने पनि महत्वपुर्ण कुरा हो’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरका खेलहरु भए भने पर्यटक बढ्छन त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रबद्र्धन गर्न खेल पुर्वाधारको विकासमा राज्य लाग्नुपर्छ ।’
राजनितिक अस्थीरताका कारण मुलुकको आर्थिक अवस्था नाजुक बन्दै गएको अवस्थामा सामाजिक, सांस्कृतीक एवं खेलक्षेत्रको विकास हुन नसक्दा नेकपा एमाले सहमती र सहकार्यको माध्यमबाट मुलुकको विकासको लागि अगाडि बढ्न चाहेको सुनाए ।
यस्तै पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले खेल क्षेत्रको विकासको माध्यमबाट संवृद्धि हासिल गर्न सकिने र धेरै अस्पताल बनाउनुभन्दा एउटा रंगशाला बनाए धेरै स्वस्थ रहने बताए । उनले लेखनाथलाई पोखरामा गाभ्दा ठुलो अवसर खेर गएको समेत सुनाए ।
खेल महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुर्य ताराले माछापुच्छे्र त्रिशक्ति युनाइटेडलाई २–० गोलले हराएको छ ।
खेल महोत्सवमा विभिन्न ८१ संघ संस्था एवम महिला÷आमा समुहहरुले आफ्नो कला संस्कृती, परम्परा सहितको पहिचान झल्कीने झाँकी प्रस्तुत गरेका थिए ।
महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता र संघसंस्था स्तरिय झाँकी प्रदर्शनी प्रतियोगिता समेत भएका छन् ।

खेल महोत्सवमा फुटबल प्रतियोगिताको विजेताले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप–विजेताले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ भने गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीयलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतीयलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ ।
कास्की जिल्ला विद्यालय स्तरिय नृत्य प्रतियोगिता प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय हुनेलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतिय हुनेलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ । खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३, द्वितीय पुरस्कार नगद रु.२२ हजार २ सय २२ र तृतीय पुरस्कार नगद रु. ११ हजार १ सय ११ को व्यवस्था गरिएको छ ।
एथ्लेटिक प्रतियोगिता अन्तरगत सम्पन्न विद्यालय स्तरीय छात्र÷छात्रा, खुल्ला महिला र ४५ वर्ष माथीको भेट्रान्स ७ किमि दौडतर्फ प्रथम हुने खेलाडीहरुलाई सात हजार, दितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तिन हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।





