पोखरा/थाइल्यान्डमा जारी वल्र्ड मुवाँथाई च्याम्पियनसिममा नेपालका खगेन्द्रले रजत जितेका छन् । मिडलवेट पुरुष प्रो–एम फाइटको फाइनलमा अमेरिकाका बोनर इ सँग हार व्यहोर्दै रजत पदक हासिल गरेका हुन् ।
‘बेल्टको नजिक थिए । तर, म विरामी थिए फ्लेक्सन खाएर रिङमा उत्रिए । बेल्टको नजिक थिए । म यहाँ फाइटका लागि आएको होइन तर, एक पटक अध्यक्षले खेल भनेपछि नाम टिपाए’ उनले भने, ‘मैले यहाँ धेरै कुरा सिके । मलाई पानी दिने मान्छे पनि थिएनन् । ५२ देशको खेलाडी थिए । मेरो प्रशिक्षक थिएन । एक्ले आउँदा केहि कम्जोरी भए आगामी दिनमा खेलाडी लिएर आउनेछु ।’
उनले आफुले नेपालको अनुभव समेत सुनाएको बताए । आफुले उमेर छदाँ नै खेल्नुपर्ने भएपनि ढिला भएको उनको भनाई छ । आफुसँग फाइट खेल्ने अनुभवको कमी भएको महसुस भएको र आफु भाग्यमानी सावित भएको उनले सुनाए ।
क्षेत्रीले सुरुमा ७१ केजी तौल समूहमा आफुलाई प्रस्तुत गरेपनि सिस्टमबाट ड्र गर्दा ७३ केजी तौल समूहमा परेको बताए । उनी पोखराबाट प्रशिक्षणका लागि थाइल्याण्ड पुगेका थिए । उनले प्रशिक्षणसँगै अन्तर्राष्ट्रियस्तरको मुवाँथाईँ खेल कस्तो र कसरी खेलिन्छ भन्ने कुराको ज्ञान लिन त्यहाँ पुगेका हुन् । ‘म उहाँ मुवाँथाई कुन लेभलसम्म हुँदो रहेछ भन्ने कुरा सिक्न आएको थिए । अब यहाँ भएका ट्रेनिङ सेन्टरहरुमा पनि जानेछु । यहाँ खेलपर्यटनको वास्तविक अर्थ रहेछ’ उनले थपे, ‘दैनिक सयौं पर्यटक आउने जाने रहेछन यहाँको ट्रेनिङ सेन्टरमा त्यो मात्र कहाँ हो र ? विश्वका च्याम्प्यिनहरु समेत प्रशिक्षणका लागि आउँदा रहेछन् ।’ रजत पदकले आफुलाई थप जिम्मेवारी थपेको र नेपाल आएर अझ शसक्त भएर प्रशिक्षण गराउने उनले सुनाए ।





