पोखरा / तेस्रो संस्करणको मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता चैत २१ बाट हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको छ । चैत २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा कुल १४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ पुरुष तथा महिला एकलका साथै खेल्ला पुरुष तथा महिला डबल्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा यू–१२ पुरुष तथा महिला सिंगल्स विजेताले जनही नगद रु १० हजार तथा उपविजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ पुरुष तथा महिला एकल विजेताले समान १५÷१५ हजार रुपैयाँ, उपविजेताले समान ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।
यू–१६ पुरुष तथा महिला एकल बिजेताले २० हजार उपविजेताले समान १० हजार तथा पुरुष तथा महिला खुल्ला डबल्सतर्फ विजेताले समान २० हजार उपविजेताले समान १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै यू–८, यू–९ र यू–१०, पुरुष तथा महिला एकल विजेता तथा उपविजेताले नगदसहित गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्नेछन् ।
जुनियर प्रतियोगिताले पोखरामा टेनिस खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउँदै विद्यालयहरुलाई विद्यार्थीहरुलाई उक्त प्रतियोगिता अवलोकन गराउन कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले आग्रह गरेका छन् ।
उक्त प्रतियोगितालाई कास्की टेनिसका संरक्षक कुमार श्री मोहन बहादुर शाहीले आफ्नो नाती र नातीनीको नाउँमा विगत तीन वर्ष देखि मुख्य प्रायोजन गर्दै आएका छन् । प्रतियोगितामा करिव १ सय खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको छ ।





