पोखरा/ फागुन ३ गते नेपाल भुतपुर्व खेलाडी मञ्चले सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना ग¥यो । सामान्यतयाः पत्रकार सम्मेलन धेरै समय भए एक घण्टाको हुन्छ । उक्त पत्रकार सम्मेलन चार घण्टावेशी चल्यो । आयोजकले पत्रकार सम्मेलनको मर्म विपरित जाँदै कार्यक्रम गरेपछि पत्रकारहरु निस्किएर हिडे । कुनैपनि पत्रकारले त्यहाँ प्रश्न सोध्न पाएनन् ।
यस्तै चैतको ३ गते पोखरा भण्डारढिकमा सूर्यतारा क्लब र नेपाल खेलकुद महासंघले खेलकुद खेलकुद महोत्सवको आयोजना ग¥यो । खेल महोत्सवको उद्घाटनको समय ११ बजेको थियो । स्वभाविक रुपमा नेपालमा समयमा कुनै पनि कार्यक्रम हुँदैन । ढिला गरी नै सुरु भयो । उद्घाटन दिन अतिथिको चाम थियो नै तर, त्यो कार्यक्रम यति पट्यार लाग्दो भयो की फुटबल प्रतियोगिता साढे चार बजेमात्रै सुरु भयो १२ बजे सुरु भएको उद्घाटन साढे चारबजेसम्म चल्यो । बोल्ने वक्ताहरुको कुरै नगरौं । फिफा रेफ्रीले खेलाएको उक्त प्रतियोगिता समय घटाएर ३५–३५ मिनेटको मात्र खेलाइयो ।
यस्तै पोखरा महानगरपालिकाले वेगनासतालमा प्रथम ड्रागन बोट रेसको आयोजना ग¥यो । त्यो प्रतियोगितामा आयोजकले बोटरेसलाई भन्दा बढी प्राथमिकता कार्यक्रमलाई दियो । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रशारण महानगरकै युटुबमा समेत आयो । तर, त्यहाँ प्रतियोगिता भन्दा बढी भाषण र नाचगान भए । यी उदाहरणमात्रै हुन । पोखरामा मात्र नभई धेरै ठाउँमा यसरी नै अव्यवस्थित तरिकाले खेलकुद प्रतियोगिताको कार्यक्रम आयोजना गरिन्छ । नेपालीलाई एक घण्टा ढिलागरी कार्यक्रम सुरु गर्ने लत बसिसकेको छ । आयोजकले आफुखुसी समयको महत्व नै नबुझि त्यसरी कार्यक्रम गर्दा सबै आत्तिन्छन तर, भन्दैनन् कोही पनि । यस्तै यस्तै कारणले गर्दा गण्डकी प्रदेश खेलकुदको सर्वोच्च निकाय प्रदेश खेलकुद परिषद्ले एक पत्र जारी गर्दै आगामी वर्षबाट उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो नगर्न अनुरोध गरेको छ । प्रदेशभित्रका ११ जिल्लामै जिल्ला खेलकुद विकास समितिमा आबद्ध खेल संघ तथा क्लबहरुलाई समेत निर्देशन गर्दै जिखेपलाई कुनै पनि कार्यक्रम अनावश्यक लामो नगर्न आग्रह गरेको हो । परिषदको कार्यकारी समितिको निर्णय बमोजिम ०८१ वैशाख १ गते देखि गण्डकी प्रदेश भित्र आयोजना तथा संचालन हुने खेलकुद प्रतियोगिता तथा कार्यक्रममा आसन ग्रहणको क्रम संख्या निश्चित गर्न अनुरोध गरेको हो ।
परिषद्ले कार्यक्रममा वक्ताको संख्या बढीमा पाँच जनासम्म राख्न समेत अनुरोध गरेको छ । यस्तै प्रमुख अतिथि बाहेक अन्य वक्ताका लागि बढीमा १० मिनेट बोल्ने समय छुट्याउन समेत अनुरोध गरेको छ । यस्तै प्रदेशभित्र हुने खेल गतिविधिमा विदेशबाट आयातित माला÷फुलको प्रयोग नगरि स्थानिय उत्पादनमा जोड दिन समेत अनुरोध गरेको छ । सँगै वातावरण प्रदुषण हुनेगरी साउन्ड सिस्टम नराख्न समेत निर्देशन गरेको छ । आयोजक, खेल व्यवस्थापक, निर्णायक, सहयोगीदाता, खेल पदाधिकारी सँग छलफल तथा अन्तरक्रिया गरेर खेल आयोजनाको कार्यक्रम सञ्चालन गरेमा छिटो छरितो र उत्कृष्ट हुने पत्रमा उल्लेख छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुदको कार्यक्रमलाई सभ्य, मर्यादित, छोटो छरितो बनाउनुपर्नेमा जोड दिए । उनले आफै पनि कार्यक्रममा जाँदा निकै लामो हुने गरेको सुनाउँदै कार्यक्रम छोटो समयमा चलाउने र वक्ताहरुलाई समेत छोटो बोल्ने व्यवस्थापन गराउन आवश्यक रहेका धारणा राखे ।
यसो गर्दा कार्यक्रमको खर्चमा समेत कमी आउने उनको विश्वास छ । ‘पट्यार लाग्दो कार्यक्रम गर्दा खर्च पनि बढि हुन्छ । त्यसलाई घटाउँदा खर्च समेत कम हुन्छ’ उनले भने, ‘आयोजकलाई कार्यक्रम गर्न सजिलो छैन् । सहयोगिदाताको सहयोगमा कार्यक्रम सञ्चालन हुने हुन त्यो हामी पनि बुझ्छौं तर त्यसका लागि पनि अन्य उपाय हुन्छन अनावश्यक भाषण गर्दा सबैलाई पट्यार लाग्छ । कार्यक्रम छिटो सक्न आयोजकले वक्ता घटाए पुग्छ । सबैलाई बोल्न दिनैपर्छ भन्ने छैन ।’
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले खेलकुदमा भाषण गर्ने प्रवित्ति बढ्दो रहेको बताए । उनले खेलकुदको मर्म विपरित आयोजकले कार्यक्रम गर्दा अनावश्यक भाषणमा बढि प्राथमिकता दिनु गलत रहेको सुनाए ।
‘मानिसको आ–आफ्नै व्यस्तता हुन्छ । तर, आजकल आयोजकले त्यो कुरा बुझ्दैनन् । खेलकुद भनेको नतिजामा आधारित हुन्छ र प्रतिस्पर्धा यहाँ त भाषण र आषण ग्रहणको प्रतिस्पर्धा हुन्छ’ उनले भने, ‘ खेलकुदमा बढि टेक्निकल व्यक्ति हुन्छ र खेलाडी उनीहरुलाई भाषण सुनाएर काम छैन । यहाँ खेलकुद नै बुझेका संघ संस्थाले पनि आसन र भाषणलाई जोड दिएको हामी पाउँछौं ।’
यसका लागि आयोजकले खेलको मर्म र आउने अतिथिको समयको ख्याल गर्दै व्यवस्थापन गर्न आवश्यक रहेको उनी सुनाउछन् । आयोजकको मात्र होइन अध्यक्ष बरालले अतिथिहरुमै पनि समस्या रहेको सुनाउँछन । उनका अनुसार मञ्च पाएपछि बोल्ने वक्ताले समेत अनावश्यक कुरा गर्दा उद्घाटन र समापन कार्यक्रम अत्याधिक लामो हुने गरेको छ । ‘मञ्च पायो भन्दैमा अनावश्यक बोल्नु भएन । यहाँ आउट अफ ट्रयाक जाने बढी भए ।’ उनले भने ।





