
तस्बिर : क्यान
काठमाडौँ/एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो ।
उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा चार चौका र छ छक्काको सहयोगमा ६३ रन बनाए । साथै मोहम्मद अहनाफले २३, हिमांशु राठोरले २२, अदनान मिर्जाले १९, कमरान खानले १८ रन बनाए । कतारका बाँकी ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलसन झाले समान दुई÷दुई विकेट लिए भने कुशल मल्ल र अविनाश बोहोराले एक÷एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे । उनले कतारका कमरान खानको एकै ओभरमा छ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको कीर्तिमानी बराबरी गरे । उन्नाइस ओभरसम्म एक सय ७४ रनको अवस्थामा रहेको नेपाल ऐरीको छ छक्काको सहयोगमा दुई रन १० रनको विशाल योगफल बनाउन सफल भएको थियो ।
युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्याण्डविरुद्धको खेलमा बलर स्टुआर्ट बोर्डको ओभरमा छ छक्का प्रहार गरेका थिए ।





