सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लेखनाथको बहुउद्देश्यीय कभर्डहल वर्षौँदेखि अलपत्र

लेखनाथको बहुउद्देश्यीय कभर्डहल वर्षौँदेखि अलपत्र


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८१, मंगलबार

पोखरा/ लेखनाथमा रहेको बहुउदेश्यीय कभर्डहल वर्षौँदेखि अलपत्र परेको छ । पोखरा महानगरपालिका २९ भण्डारढिकमा रहेको खेल मैदानमा निर्माणाधीन अवस्थाको कभर्डहलले बजेट नपाउँदा अलपत्र परेको हो । २०७४ सालमा निर्माण सुरु गरिएको कभर्डहलको निर्माण कार्यबीचमै रोकिएको छ । पोखरा महानगरपालिकाको मातहतमा रहेको उक्त जग्गामा कभर्डहलको पिलर ठडिएपछि अहिलेसम्म अन्य काम हुन सकेको छैन् ।

पोखरा महानगरपालिका २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले साविकको लेखनाथ नगरपालिका ओझेलमा परिरहेको बताए । उनले हरेक क्षेत्रमा पछि परिरहेको लेखनाथ खेलकुद पूर्वाधारमा पछि परेको र यसका लागि वडा २९ अघिबढेको सुनाए । अलपत्र कभर्डहलसँगै प्रदेश सरकारले बनाउने भनेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि जग्गा प्रदान गर्न तयार रहेकोसमेत सुनाए । उनका अनुसार राज्यले लगानी गर्न छाड्दा बहुउदेश्यीय कभर्डहलको बनेको संरचना जीर्ण हुने स्थितिमा पुगेको छ । वडा २९ को पहलमा अनुमानित लागत निकाल्दा एक करोड ३८ लाखमै सम्पन्न हुने देखिएको थियो ।

त्यसपछि वडाले प्रक्रिया अघि बढायो । वडाले पाएको बजेटबाट एक करोड ३५ लाखमा कर्भडहल निर्माण गर्ने योजना अनुसार वडाको बजेट सिलिङ तयार पार्दा उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिले हाल्नुपर्ने रकम छुट हुने आशा बोकेको वडाले पछि छुट नपाउने भएपनि काम गर्न सकेन । ‘उपभोक्ता समिति बनाएर काम गर्ने योजनामा थियौं । बजेट सिलिङबाट काम गर्न खोज्दा उपभोक्ता समितिले छुट नपाउने गरी महानगरको पत्र आयो । त्यसपछि मलेप (महालेखा परीक्षकको कार्यालय) ले बेरुजू देखाउने भएपछि हामी पछि हट्न बाध्य भयौँ,’ वडाध्यक्ष गुरुङले भने ।

पछि त्यसको इस्टिमेट गर्दा डेड करोड लागतले नपुग्ने भन्दै साढे दुई करोड भन्दामुनि कुनै पनि हालतमा काम गर्न नसक्ने बताएपछि टेन्डरमै जानुपर्ने बाध्यता आइलागेको छ । त्यतिमात्र होइन, संरचनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) बनाएरै निर्माण गर्ने महानगरको योजना छ । महानगरले चैतसम्म डीपीआर बनाउने भनेपनि हालसम्म नबनाएको वडाअध्यक्षले जानकारी दिए । ‘डीपीआर बनेको छैन, हामीलाई लागत अनुमान रकम प्राप्त भएको छ । संरचनाको नक्साङकन गर्ने काम हुँदैछ,’ अध्यक्षले भने,‘ हामीले सिफारिस बनाएर महानगरमा बुझाएका छौँ ।’ महानगरले बहुउद्देश्यीय कभर्डहल मात्र नभई पूरा भण्डारढिक मैदानकै स्तरोन्नतिदेखि मर्मत सम्भार गर्नका लागि पाँच करोड रुपैयाँ बजेछको स्टीमेट तयार गरेको छ ।

२०५४ सालमा तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले क्रमागत परियोजना अनुरुप कभर्डहल निर्माण सुरु गर्ने पनि तत्काल सुरु हुन सकेको थिएन । कभर्डहलमा हाल पिलर राख्ने बाहेकको काम भएको छैन । उक्त बहुउद्देश्यीय कभर्डहल बन्न नसक्दा राज्यलाई मात्र होइन,पूरा लेखनाथको खेलकुदमा ठूलो असर गरिरहेको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवाष खड्काले राष्ट्रिय खेलकुद परिषद्ले दिएको बजेट समेत कटौती गर्दा काम पूरा हुन नसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->