प्रबिधिको प्रयोग मार्फत सेवा प्रवाहमा अव्वल छ काठेखोला गाउँपालिका । यहाँ गाउँ कार्यपालिकाको कार्यालय र वडातहसम्मका अधिकांश काम अनलाइन प्रबिधिको माध्यामबाट हुन्छन् । गाउँपालिका जिल्ला सदरमुकामबाट नजिकै भए पनि यहाँका वडाहरुले पूर्वाधार विकासका लागि संघर्ष गरिरहनु परेको छ । माछीचरणदेखि डाँफे चरणसम्मको हावापानीले अव्वल गाउँपालिकामा अवसर र चुनौतीहरु बराबर जस्तै छन् । चालु आर्थिक वर्षमा गाउँपालिका प्राबिधिक शिक्षा बढाउनेदेखि राजश्व वृद्धिका काम गरेर चर्चामा रह्यो । गाउँपालिकाले कसरी काम गरिरहेको छ ? के जनउपयोगी योजना तथा कार्यक्रम तयार भएका छन् त ? बजेट तथा कार्यक्रमको कार्यान्वयन कसरी हुन्छ ? यी र यस्तै विषयमा ढोरपाटनकर्मी तारानाथ आचार्यले गाउँपालिका अध्यक्ष राजु थापासँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ थापासँगको कुराकानीको सम्पादित अंश ।
चालु आ.व.का नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनबाट के के काम भए ?
जनताको सेवा प्रवाह, सुशासन र विकासका योजनाहरु हाम्रा महत्वपुर्ण योजना तथा कार्यक्रमहरु हुन् । प्रत्येक वर्ष दुइ वडामा सञ्चालन हुने गाउँपालिकाको गौरवको योजना र जनताको आवश्यकतामा आधारित योजनाहरु महत्वपुर्ण योजनाहरु हुन् । दक्ष र सीपयुक्त नागरिक उत्पादनसंगै उनीहरुलाई आर्थिक उपार्जनसंग जोड्ने, राज्य र विकासको मुल प्रवाहबाट विमुख विपन्न तथा लक्षित वर्गको उत्थानका लागि गरिएको सीप विकासका कार्यक्रमहरु पनि उत्तिकै प्राथमिकताका योजना तथा कार्यक्रमहरु हुन् । ति योजना तथा कार्यक्रममध्ये कतिपय योजना तथा कार्यक्रमले मुर्तरुप समेत लिइरहेका छन् । कतिपय योजनाहरु अहिले पनि सञ्चानमा छन् र प्रतिफलको दिशामा उन्मुख छन् ।
यस वर्षको गौरवको योजनाअन्तर्गत सुलडाँडडा–लेखानी जोड्ने मोटरबाटो स्तरोन्नति र वडा नं. ६ को सुलडाँडा–किमवोट मोटरबाटो स्तरोन्नति गर्ने काम सम्पन्न भइसकेको छ । ती सडकमा बाटो चक्लाउने, नाली बनाउने र ढलान गर्ने काम भएका छन् । भौतिक निर्माणअन्तर्गत १६ सय मिटर बाटो ढलान भएको छ भने ७ किमी सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भएको छ । वडा नं. १ पालामा एक किमी, वडा नं. ७ रेशमा एक किमी र वडा नं. ४ तंग्राममा ८ सय मिटर पक्की नाली निर्माण सकिएको छ । ३५ सय मिटर सडकको नयाँ ट्रयाक खोल्ने काम समेत भएको छ । नागरिकको सहजताका लागि बाह्रै महिना यातायात सेवा दिने अभिप्रायले गण्डकी प्रदेश सरकारको सहयोगमा डुडियाँघाटमा भीमापोखरा तंग्राम जोड्ने मोटरेवल पुलको निर्माण चलिरहेको छ । संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत रेश स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु भइसकेको भने दोभिल्ला बजार क्षेत्रमा सडक वोर्डको सहयोेगमा सडक ढलान गर्ने काम सकिएको छ ।
ज्ञान, सीप र दक्ष नागरिक उत्पादन गर्ने उद्देश्य अनुरुप गरिब, दलित तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरि कृषि, पशु, होटल म्यानेजमेन्ट लगायतको विषय अध्ययन गर्न ३ वर्षको लागि २१ जनालाई गाउँपालिकाको पूर्ण छात्रवृत्तिमा धौलागिरि प्राविधिक शिक्षालय मुस्ताङ लेतेमा पठाईएको छ । भीमसेन मा.वि. विहुँमा गाउँपालिकाको छात्रवृत्तिमै प्राविधिक विषय अध्ययन गर्न चाहने ३२ जना विद्यार्थीलाई अध्ययन गराईएको छ ।
दलित समुदायका नागरिकलाई पेशा सुधारका लागि अनुदानमा वेलडिङ मेसिन लगायतका औजार सामाग्री वितरण गर्नुका साथै आयआर्जनका लागि बाख्रा, कुखुराको चल्ला वितरण समेत गरिएको छ । राज्यबाट भत्ता नपाउने ‘ग’ र ‘घ’ वर्गका अपाङ्ग वर्गका लागि मौरीपालन तालिम तथा मौरी सहितको घार वितरण गरिएको छ । जनजाति समुदायको लागि बेत–बाँसको सामाग्री निर्माण गर्ने एक महिने तालिम सञ्चालन गरिएको छ । महिलाहरुको सीप विकास तथा आर्थिक उपार्जनमा ध्यान दिदै चम्पल, मकैको भुत्लाबाट फूल तथा बुकी बनाउने तालिममार्फत सीप विकासका कार्यक्रम सञ्चालन गरिरहेका छौ । त्यसैगरी गाउँपालिकाका खेलकुद, कला, साहित्यका प्रतिभाहरुलाई उजागर गर्ने अभिप्रायले ऐतिहासिक रुपमा दोस्रो काठेखोला गाउँपालिका अध्यक्षकप–२०८० सम्पन्न गरिसकेका छौ ।
तपाईंले तर्जुमा गरेका कार्यक्रम कार्यान्वयनबाट सन्तुष्ट हुनुहुन्छ ?
हामीले योजना तर्जुमा गर्दा हिजो निर्वाचनको बेला जनतामा गरिएका बाचा प्रतिवद्धताहरु, घोषणापत्रमा उल्लेख गरिएका बुँदाहरु र जनताको वास्तविक समस्यामा आधारित भएर गर्ने गरेका छौं । राज्यको सिमित श्रोत र जनताको असिमित आवश्यकताबीच गरिएका योजना तर्जुमा र कार्यान्वयनबाट सन्तुष्टी नै छु भन्नुपर्छ । जनताको वास्तविक समस्या, मागमा आधारित योजना, कार्यक्रम भएर होला कार्यन्वयनमा जनताको व्यापक साथ पाएका छौं ।
जनताको साथ सहयोग र समर्थन बिना हाम्रा योजना तथा कार्यक्रमहरु यति उत्साहजनक रुपमा कार्यान्वयन हुने थिएन । जनताहरु कुनै न कुनै विकासको काममा जोडिएका छन् । कोही मोटरबाटो स्तरोन्नति गर्न व्यस्त छन्, कोही खानेपानीको पाईप विच्छाउन व्यस्त छन, कोही भवन निर्माणमा खटिएका छन, कोही पर्यटनको पुर्वाधार निर्माणमा व्यस्त देखिन्छन् । कोही व्यवसायिक खेती निर्माणका लागि आधार सिर्जना गर्न तल्लिन देखिन्छन् । जनताहरु आफ्नो गाउँटोल र समाज विकासको काममा सहभागि छन् । श्रोतको सिमितता, बजेटको अभाव र बिबिध चुनौतीहरुको बिचमा पनि जनताको न्यानो माया, विकास प्रतिको मोह, परिवर्तन प्रतिको लहर र रुपान्तरण प्रतिको चाहना र जनताहरुकै साथ सहयोगका कारण हाम्रा योजना तथा कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन भएका हुन् ।
समृद्ध काठेखोलाका लागि तपाईंले गरेका प्रयास के के हुन् ?
हामी निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुरा भएको छ । यो अवधिमा हामीले विकास, परिवर्तन र समृद्धिको केही नयाँ खाका, योजना र कार्यक्रम सुरुवात गरेका छौं । नागरिकहरुको खुसी र सन्तुष्टीका लागि हामीले गरेका प्रयास, योजना तथा कार्यक्रमहरु कार्यान्वयनको चरणमा छन् भने केही योजना तथा कार्यक्रमले प्रतिफल दिन सुरुवात गरिसकेका छन् । नयाँ वयवस्था, नयाँ संरचना, सिमित श्रोत र असिमित जनआकांक्षाको बिचमा उनीहरुलाई सहज सेवा र सुशासन प्रवाह गर्दै विकासका कार्यहरु अगाडि बढिरहेको छ । स्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्धारा नागरिकहरुको आर्थिक र सामाजिक स्तरमा वृद्धि गर्दै समृद्ध, समतामूलक र सुशासनयुक्त गाउँपालिका निर्माण गर्ने सोँचका साथ ‘कृषि, पर्यटन, शिक्षा र पूर्वाधार ! समृद्ध काठेखोला निर्माणको आधार’ भन्ने मुल उद्घोषका साथ हामीले कार्यक्रमहरु अगाडी बढाईरहेका छौ । गौरवका योजना, पूर्वाधार विकास, सीप विकास, लक्षित वर्ग उत्थान, प्रविधिमैत्री शिक्षण सिकाइ र शैक्षिक, स्वास्थ्य विशेष कार्यक्रमले हाम्रो नारालाई सार्थक रुप दिने प्रयास हुन् ।
गाउँपालिकाका जनताले तपाईंको कामबाट के पाए ?
लामो प्रतिक्षापछि जनताले स्थानीय सरकारको रुपमा आफ्ना जनप्रतिनिधि पाएका छन् । जनतामा विकास, परिवर्तन र समृद्धिको नयाँ आशा पलाएको छ । आफ्ना प्रतिनिधिहरुले बनाएका संविधान आफ्नै प्रतिनिधिमार्फत लागु गरिदैछ । जनताका अधिकारहरु दिन प्रतिदिन थपिदै गहिरहेका छन् । केन्द्रका अधिकार बिस्तारै गाउँतिर झर्दैछन् । हामी र हाम्रा जनताले प्राप्त गरेका सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यिनै हुन् । जहाँसम्म मेरो कार्यकालमा नागरिकहरुले के पाए भन्ने सवाल छ, उनीहरुको चाहना, आवश्यकता र मागप्रति हामी जानाकार छौ अनि गम्भिर पनि । गाउँपालिकाको समग्र क्षेत्रको विकाससंगै नागरिकहरुको खुसी र सन्तुष्टी हाम्रो प्राथमिकता र जिम्मेवारी हो । हामीले नागरिकलाई दिने सेवामा सरल र सहजता खोजिरहेका छौं । स्थानीय सरकार र जनताबीच सामिप्यता खोजिरहेका छौं । आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका खुल्ला र फराकिलो बाटो खोजिरहेका छौं ।
स्थानीय सरकारको सात वर्ष र हामीले नेतृत्व गरेको दुइ वर्षको अवधिमा सुशासन र जनमैत्री सेवा प्रवाहसंगै र स्थानीय विकासका कामहरु भएका छन् । पूर्वाधारको विकाससंगै यातायात सेवामा सहजता भएको छ । नागरिकलाई दक्ष, क्षमतावान र सीपयुक्त बनाउन सुरुवात गरिएको छ । स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता आधारभुत आवश्यकताका क्षेत्रमा व्यापक सुधार गरिएको छ । केन्द्र तथा जिल्ला तहमा पुगेर लिनुपर्ने सेवा अहिले आफ्नै पालिका वा वडा तहबाट लिइरहेका छन् । समग्रमा आफ्नो सीप, क्षमता र दक्षतामा सुधार, आफ्नो गाउँ टोलको र क्षेत्रको विकाससंगै विकास, परिवर्तन र समृद्धिको अनुभुत हुने गरि सेवा प्राप्त गरेका छन् भन्ने मैले महशुस गरेको छु ।
जनताका अपेक्षा र तपाईंका कार्यक्रमको ताररतम्य कत्तिको मिलेको पाउनुभयो ?
पक्कै पनि जनताको बिचबाट जनताकै अभिमतले निर्वाचित हामी जनप्रतिनिधी र जनताकै बिचबाट तर्जुमा गरिएका योजना तथा कार्यक्रमहरुको तारतम्य नमिल्ने भन्ने कुरै भएन । हाम्रा सबै योजना तथा कार्यक्रमहरु जनताको वास्तविक समस्या, आवश्यकता र मागमा आधारित छन् । जनताको बस्ती बस्तीमा पुगेर संकलन गरिएका योजना तथा कार्यक्रमहरु नै हाम्रा विनियोजित योजना तथा कार्यक्रम हुन् । हुनसक्छ बजेट अभावको कारण जनताको अपेक्षा, आवश्यकता र माग गरे अनुसारको सबै काम यो दुई वर्षमा गर्न नसकिएको हुनसक्छ । हाम्रा नागरिक पनि आफै सचेत छन् कि राज्यको सिमित श्रोत छ, पालिकाको आन्तरिक श्रोत थोरै, विकासका आवश्यकताहरु धेरै छन् भन्नेबारे जनता जानाकार छन् ।
समृद्धिका लागि अझै के गर्नुपर्छ जस्तो लाग्छ ?
विपन्नताको अन्त्य गरि आर्थिक र वैभवपूर्ण सम्पन्नता सहितको समृद्धि नै हामीले खोजेको समृद्धि हो । र, समृद्धि विकासबाट मात्र सम्भव छ । पहिलो कुरा त आफ्नो गाउँको विकास स्वयम आफै गर्नुपर्छ भन्ने भावनाको विकास हामीमा हुनु जरुरी छ । हामीले विकास, परिवर्तन र समृद्धिको कुरा गरिरहँदा हरेक दिन हजारौको संख्यामा युवाहरू रोजगारीको खोजीमा विदेसिनु पर्ने अवस्थाले गम्भीर र सोचनीय बनाएको छ । कैयौं बस्ती बसाई सराईका कारण रित्तिदै छन, विद्यालयमा विद्यार्थीको संख्या झन्भन्दा झन् न्युन हुदैछन् । गाउँघर युवाविहिन सुनसान बस्तीका रूपमा रूपान्तरित हुन पुगेका छन् । उब्जाउ भुमि झार पलाएर बाँझो जमिनमा रुपान्तरित हुदैछन् । युवालाई देशभित्रै रोजगारीको अवसर सृजना गर्ने र गाउँघरको बसाइ थप सुविधा सम्पन्न, सुन्दर र आकर्षक बनाउने चुनौती हामी सबैको साझा मुद्दा बन्न पुगेको छ । युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गरि देशमै बस्ने वातावरणको सिर्जना गर्नुपर्दछ । बाँझिएका हाम्रा खेतबारीहरु पुनः हरियाली भरिभराउ बनाउनु पर्दछ । हरेक नागरिकलाई उद्यमशिलतासंग जोडिन प्रोत्साहन गर्नुपर्दछ ।
परम्परागत खेती प्रणालीलाई परिमार्जित गरि आधुनिक र व्यसायीक प्रणालीको सुरुवात गर्नुपर्दछ । यस्तो परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुर्नउत्थानशील क्रियाकलापमार्फत अझ बलियो र मजबुत बनाउदै तिब्र र दिगो आर्थिक विकासमार्फत समृद्ध गाउँपालिका निर्माणको मुल लक्ष्य हासिल गर्नुपर्ने देखिन्छ । यसका लागि हरेक नागरिकलाई सीपयुक्त नागरिकको रुपमा स्थापित गरि आय आर्जन र आर्थिक समृद्धिको यात्रामा समाहित गर्दै हरेक क्षेत्रमा आर्थिक विकासका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने अवस्था सिर्जना भएको छ । पालिकाबाट नागरिकहरुका लागि हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको प्रत्याभुत गर्न सुशासनको समेत अपरिहार्य छ । किनकी विकासको मुख्य पिल्लर मध्यको सुशासनको बलियो जगले नै समृद्धिको सपनालाई साकार पार्दछ ।
भावी योजना के छन् ?
‘कृषि, पर्यटन, शिक्षा र पूर्वाधार ! समृद्ध काठेखोला निर्माणको आधार’ हाम्रो गाउँपालिकाको मुख्य लक्ष्य सहितको नारा हो । यही नारालाई सार्थक रुप दिनु हाम्रो कर्तव्य हो, लक्ष्य हो अनि भावी योजना पनि । स्रोत साधनको उच्चतम् परिचालन र न्यायोचित वितरणद्धारा नागरिकहरुको आर्थिक, सामाजिक स्तरमा वृद्धि गर्दै समृद्ध, समतामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने हाम्रो सोँच रहेको छ । हाम्रो नारा र सोँचलाई पुरा गर्नु हाम्रो पहिलो र निशर्त कर्तव्य हो । नागरिकहरुको खुसी र सन्तुष्टी हाम्रो अर्को महत्वपूर्ण पक्ष हो । गाउँको समग्र विकास, नागरिकहरुको सन्तुष्ट, खुसी र सुखी जीवनका लागि गरिने हरेक कार्य र योजनाहरु नै हाम्रा लक्ष्यहरु हुन् ।





