दुई हजार साठी साल चैत्र महिना सात ।
बेनी बजार सुनसान, भयो मसानघाट ।।
बाल्यकालमा अत्याधिक सुनेको लोक गीतको टुक्का । उक्तm गितको सर्जक को थिए सम्झना छैन तर कुनै लोकसेवा परिक्षमा तत्कालीन विद्रोही माओवादी र शाही नेपाली सेनाबीचम्यादीको बेनीमा लडाइँ कहिले भएको थियो ? भन्ने प्रश्न सोधिने थियो भने उत्तर मेरो मानसपटलले सजिलै फेला पथ्र्यो होला । लाहुरेहरुको टेपरेकर्डर र वाकमेनमा बज्ने लोकगीतको प्रभाव गहिरो परेको थियो ।
अरबबाट गाँउ आउने काका–मामाहरुले ल्याउने टेप होस या जलन्धरे (भारत) लाहुरेको वाकमेनमा हुने रिलवाला क्यासेटमा प्रायः त्यही गीत हुन्थो । गीत मार्मिक थियो । जलन्धरे लाहुरेहरु शानका साथ जिन्सको पाइन्टको पछाडीको गोजिमा काइँयो कोचेर, कपाल बीचबाट सर्लक्कै लर्काएर, कानमा इयरफोन कोचिसलमान खाँन स्टाइलमा (सलमान खाँनको तेरेनाम फिल्म बाट प्रभाबित थिए उनीहरु सायद) हिँड्थे । हामी एउटा कानमा सुन्नलाई मरिहत्ते गथ्र्यौँ । यसो सुन्न पाएमा खुसीको सीमा नै हुँदैनथ्यो । बूढापाका भने लाहुरेको टेपबाट बज्ने गीत सुनेर धुरुधुरु रुन्थे । हामीलाई किन रुनुभएको पत्तो हुन्थेन ।
माओवादी आधार एरियामा हुर्केकाले जनयुद्धसँग जोडिएको तीता–मीठा कयौ क्षणहरु छन् । म र मेरो बाल्यकाल जनयुद्घसँग नजिक भइ अभाव, दबाव र त्रासमा हुर्किएको हो । माओवादी १० वर्षे युद्घ गतिविधि, तत्कालीन शाही नेपाली सेनासँगको लडाइँको कथा सुनेर म हुर्किएको हो । म परिवर्तनको सो कालखण्डको साक्षी म पनि हुँ । परिवर्तनको झिल्को बल्ने ठाउँको बासिन्दा हुँ ।
बेनीमा माओवादी र सेनाको लडाइँको भोलिपल्ट हुनुपर्छ–बन्दुक, राइफल, मेसिनगनसहित एकै पोसाकमा रहेका माओवादी लालसेना मेरो गाउँमा तालमा ताल मिलाएर हिँडेका थिए । त्यो दिनभन्दा पहिले मैले त्यतिका धेरै मान्छेको ताँति देखेको थिइन । बीचमा दुईचार जना सादा पोसाकमा ती कामान्डरहरु थिए होला, अहिलेका जल्दाबल्दा नेताहरु । गाउँले त्रसित थिए । ‘बेनीको लडाइँबाट आएका माओवादीहरु रुकुम रोल्पा जान लागेका हुन्’ भन्थे । बेनी लडाइँको खुबै चर्चा हुन्थ्यो । यति मरे, उति मरे रे ! घाइतेहरु गनिनसक्दो छन रे ! ढोरको जंगलमा जिउँदै खाडल खनि गाड्छन् रे माउवादीले घाइतेलाई । रेडियो नेपालले मान्छे मरेको समाचार फुक्दैछ । यति माउवादी घाइते भयो रे, फलानो त सुलीमा लुकेर बाँचेर फर्कियो रे, घाइतेहरु बोकेको रे, खाना पकाउने गु्रपमा भएर बाँचेको रे, सँगैको हिँड्ने मिल्ने साथीलाई गोली लागेर छेउमै ठहरै भएको रे, लास लडाइँमै छोडेर भागेका रे, कति त खोलामा हाम्फालेर बाँचेका रे, रगतको खोलानै बगेको रे बेनीमा त । जिउनै सिरिङ्ग हुन्थ्यो, यस्तो कुरा सुन्दा । यस्तै हल्ला चल्थ्यो गाँउमा । माओवादी गतिविधि धेरै हुने ठाउँभएर हुनुपर्छ–सेनाको कुरा सुनिदैनथ्यो । सेना भन्ने जातै देखिएन, बाल्यकालमा । कुममा नक्कली बन्दुक भिरेका माओवादी कार्यकर्ता आउँथे– गाउँमा । हामी केटाकेटी लालसेना आए भनि खोपी धन्सारतिर लुक्थ्यौँ ।
त्यतिका धेरै सेना, प्रहरी गोली ठोकाठोकभएको एकआपसमा मारामार गर्नेठाउँ बेनी कस्तो होला भन्ने मनमा खुल्दुली लाग्थ्यो । लडाइँ भएको २१ वर्ष पछिमात्र उक्तघटना भएको ठाउँको अवलोकन गर्ने साइत मिल्यो । त्यो साइत जुरायो –पदयात्राले । माओवादी छापामारहरुले हिँडेको बाटो, युद्घकालीन गतिविधिका डोबहरु नियाल्ने धोको थियो । गोरेटो बाटा छेउका कथा सुन्नु थियो, व्यथा नजिक गइमहसुस गर्नु थियो, जनयद्घको प्रभवबारे जान्न मन थियो । ती साहसी छापामारहरुका पाइलाले नापेको बाटोमा मेरा पाइलाहरु टेक्नु थियो । निरंकुश राजतन्त्रसामु आफ्नो शक्तिप्रदर्शन गरेको थलो म्यादी सदरमुकाम बेनीहँुदै युद्धको प्रभाव र त्यसपछिको परिवर्तनलाई नियाल्दै माओवादी उद्गम थलो ढोरपाटन, रुकुम, रोल्पापुग्नु थियो । युद्धमा भिडेका साहसी मगर,पिछिडिएका वर्गहरुको कथा सुन्नु थियो ।
मनमा उत्साह, खुसी ,जिज्ञासा र त्रास एकसाथ बोकी वैशाख दोस्रो साता बाटो तताउने निधो गरेँ। बागलुङ बजारदेखि १८ किमीउत्तरमा छ बेनी बजार । साघुँरो अस्तव्यस्त । पूर्वमा पर्वत जिल्लाको मल्लकालीन ऐतिहासिक थलो मल्लाज, उत्तरमा अर्थुङेडाँडा, पश्चिममा खबरा वन । म्यादीखोला र कालीखोलाको दोभानमा कोचिएर अट्समटस् भइ निसास्सिएर बसेको छ – म्यादी जिल्लाको सदरमुकाम बेनी बजार । पर्यटकीय जिल्ला मुस्ताङ बेनी भएर जानुपर्ने भएकाले पर्यटकको चहलपहल बढी देख्न सकिन्थ्यो– बेनी बजारमा । गुर्जा, धौलागिरीको काखबाट पग्लिएर कञ्चन म्यादी खोलालाई मुस्ताङ लेकबाट उग्रभइ उर्लिएर आएको कालीले अन्तत कालीजस्तै बनाएको छ– बेनी घाटबाट । म्यादी खोला किनारको एक कुनामा छ– मंगलघाट बजार । त्यहीँ नेर छन्– सरकारी माल अड्डाहरु, बैंक, प्रहरी चौकी, प्रसासनिक भवनहरु । माओवादी र सेनाको दोहोरो भिडन्तको साक्षी हो– मंगलबजार ।
माओवादी र सेनाको लडाँइको सम्झना मनबाट हटाउन हुनसक्छ–नजिकैको पारी पाखाको बखरा डाँडाको नाम लभ्ली डाँडामा परिवर्तण गरिएको हुनुपर्छ ।
बेनी घटनामामाओबादी कमान्डर पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) को नेतृत्वमा अएका पाँच हजार बढी माओवादीहरुले अहिलेको जिल्ला वन कार्यालय रहेको स्थानमा शाही नेपाली सेना छाउनी (कालीप्रसाद गण) गण समालेका थिए–प्रमुख सेनानी राजु नेपालीले । सेना बसेका ठाउँ, प्रहरी चौकी, सरकारी कार्यालयमा राति १० बजेपछि डाँडाकाँडाबाट एकैसाथ आक्रमण गरेका थिए । लडाइँ बिहान ९ बजेसम्म भएको थियो । ५१ सेना, ४० माओवादी र १५ सर्वसाधारण मारिएको भनिएता पनि त्यो तथ्याङ्कमा कसैको विश्वास छैन । सयौँ होइन, हजाराँैको संख्यामा सेना, प्रहरी, माओवादी हताहत भएको अनुमान छ– प्रत्यक्षदर्शीहरुको । घटना लगत्तै शाही नेपाली सेनाको हवाइकारवाहीमा एक सय जनाभन्दा माओवादी मारिएको अपुष्ट समाचारहरु आएका थिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित ३३ जनालाई बन्दी बनाइढोरपाटन हँुदै रुकुम, रोल्पा लगिएको थियो । पछि वार्ता मिलेपछि छोडिएको थियो । ढोरपाटनको जंगलमा अहिले पनि अस्थिपञ्जर देखिने गरेको गोठालाहरु सुनाउने गर्छन् । दुबै पक्षबीचको भिडन्त भयानक भएको सोझै अनुमान लगाउन सकिन्छ । प्रत्यक्षदर्शीहरु त्यो घटना सम्झनै चाहँदैनन् ।
मनमनै सोचेँ– कुन शक्तिले उत्प्रेरणा दियो होला मर्न र मार्न तयार हुनसक्ने साहस नेपाली दाजुभाइलाई । गोपाल योन्जनले गाएको गीतको याद आयो ।
देशले रगत मागे
मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा
उनी नेपाली छोरी ।।
के साँच्चै बली आवश्यक थियो होला र ? यसको उत्तर छैन मसँग । माओवादी सभामा जान भनि घर नजिकैको छहरेको डाँडामा स्कूल पोसाक र कापी कलमसँगै हजारौँको संख्यामा स्कूले बिधार्थीको लामबद्घ ताँति सम्झिएँ । हप्तौपछि घर फर्किन्थे ती विद्यार्थीहरु । रहरले हिँडेका हुन् या परिबन्दले तिनीहरु खुद जानून् । रेडियो नेपालले फलानो ठाउँको भिडन्तमा राज्य पक्ष को यति विद्रोही उति त सर्वसाधारण जनताहरु पनि मरेको दिनदिनै समाचार भन्थ्यो ।
पाल्पा घटनाको हल्ला ताजै छ– मेरो मगजमा । हाम्रै गाउँको एक दिदी थिइन् । भूनी दिदी भन्थ्यौँहामी । सानोमा हाम्रै घरमा बसेको याद छ, ती दिदी । भैँसीलाई घास काट्ने गर्थिन । ठूली दिदीसँग् जोडी खुबै मिल्थ्यो । ससँगै खाने–सुत्ने गर्थे । उनलाई माओवादीले अपहरण गरी लगेका थिए । पछि प्रशिक्षण पाएपछि उनी माओवादीमै लागिन् । उनीसँगै मिल्ने साथी पनि माओवादीमा लागिन । ‘पाल्पा लडाइँमा मरे रे ती दुईटी’ भन्ने हल्ला एककान– दुईकान गरी फैलियो । गाँउमा रुवाबासी चलेको थियो । पूरै गाउँ शोकमा थियो । एक हप्तापछि जीवितै गाउँ फर्किएपछि गाउँले सबै ढुक्क भए । छिमेकी गाउँ बोबाङको एक जना दलित महिला कार्यकर्ता भने मरेकी रहिछन् । शान्तिस्थापना पछि ती भुनीदिदीले दाङको थारु केटासँग विहे गरिन् । बेलाबेला गाउँ आइरहन्छिन् । अर्कीको भने गाउँमै विहे भएको छ ।

लेखक
मंगलघाट बजारमै छ– बेनी नगरपालीकाको कार्यालय । त्यहाँ देख्न सकिन्छ त्यो कहालिलाग्दो रातको साक्षी बिजुलीको खम्बा । कवाडीमा जान लागेको त्यो खम्बा संरक्षण गरी राखिएको रहेछ । लामो यात्रा गरिसकेको रहेछ उक्त खम्बाले । राजधानीसम्म पुगेको र पछि नगरपालिकाको पहलमा फिर्ता गरिएको रहेछ । बेनी युद्घे जीवन्त अवशेष हो– त्यो खम्बा । सडकछेउ उभिएको त्यो बिजुलीको पोल माओबादीको थरिथरीका हतियारहरु (एलएमजी, प्वाइन्ट टू टू, थ्री नट थ्री, एम १६, एसएलआर) को बेनी आक्रमणको बेला गोलिको छर्राले छियाछिया हुन पुगेको हो । सो खम्बा देख्दा कपालका रौ जिरिङ्ग गर्छ । प्वालहरु यति छन् कि गन्नलाई सकिँदैन् । बेनी घटनाको यथेष्ट प्रमाण राज्य र माओवादी दुबै पक्षले लुकाएको अवस्थामा युद्ध सम्झाउने स्तम्भ हुनसक्छ– बिजुलीको खम्बा भावि पुस्ताको लागि । ऐतिहासिक घटनाक्रमका साक्षीका रुपमा रहेका यस्ता खालका सामग्रीहरुको सङ्कलन र संरक्षण गर्नुपर्छ । यस्ता माध्यमबाट भावी पुस्ताले इतिहासको कालखण्डलाई नजिकबाट बुझ्न पाउनेछन् ।
अस्तव्यस्त बेनी बजारमा बिहानको चिया खाइवरी पत्रकार सन्तोष गौतमको सल्लाह बमोजिम पश्चिम लागेँ । ‘नयाँ ठाउँको यात्रा एक्लै गर’ अज्ञातले भनेझँै एक्लै निस्किएको थिएँ, एकल यात्रामा ।अघिल्लो रातको बसाइ बागलुङ बजारमा थियो । बेनी र बागलुङ बजार मोटरबाटो भइ आधा घण्टामा पुगिन्छ । बेनी बजारबाट पक्की मोटरबाटोहँुदै करिब पन्ध्र मिनेटमा पुगँे प्राकृतिक कुण्ड–तातोपानी । बाथ, ग्यास्टिक, चोटपटक निको हुने जनविश्वासले गर्दा दैनिक सयौँको संख्यामा नुहाउनको लागि मानिसहरु आउने गर्दछन् । भिड थियो, कुण्डमै जान समय मिलेन । अर्कोपटक आउने निधो गरी झोलाबाट स्याउ निकाली खाँदै थिएँ, केटी भगाउन भनि गएका बागलुङ रेस घर बताउने एक सत्र अठारका ठिटो तातोपानी उपल्लो बजार कहाँ हो भनि सोध्न आए । हामी दुबै अन्जान केहीबेर गफियौँ । कलेज पढ्दै लभ परेको गर्लफ्रेन्ड भगाउनलाई आएका रहेछन ती भाइ । पुलमा कुरेर बसिछिन् भन्दै थिए । पल्सर बाइकमा आएका अल्लारे ठिटा ! म तातोपानीमाथि प्रतिक्षालयमा बस्दा बस्दै बेहुली पछाडी बोकी आए । ल बधाइ, वैवाहिक जीवनको शुभकामना मैले भनेँ । धन्यबाद भन्दै बाइकको एक्सीलेटर बतारर्दै हुइँकिए, ती नवभगौडा दुलाहा–दुलही ।
म भने दरबाङतिर अगाडी बढेँ । तातोपानीबाट दरबाङ बन्दै गरेको धूलाम्य मोटरबाटो । कामदारहरु ठेकेदारको आदेश पालना गर्न तल्लीन थिए । यही आर्थिक वर्षसम्ममा काम देखाएर केही बजेट पाउनलाई हतार भएको हुनपर्छ सायद, ठेकेदार कम्पनीलाई । कुनै मालबाहक ट्रक, ट्रयाक्टर, बस अगाडी भएमा पछाडी पर्नेको हालत बिजोगै हुने–धूलोले । एक घण्टामा पुगँे होला म म्याग्दी खोलाको तिरैतिरदरबाङ बजार ।
पन्थोकहुँदै आएको सानो खोला र मुरीगाउँहुँदै आएको म्यादी खोलाको दोभानमा रहेछ समुन्द्री सतहदेखि १०९८ मिटर उचाइमा रहेको, दरबाङ बजार । धौलागिरि गाउँपालिका र मालिका गाउँपालिकाको व्यापारिक केन्द्र रहेछ–सानो तर व्यस्त दरबाङ बजार । पसलेहरु व्यस्त थिए, ग्राहकहरु आवश्यक मालसामान अर्डर गर्दै थिए । खलाँसीले छिटो गर्नुस्, गाडी छुटिसक्यो भन्दै प्यासेन्जर खेदिरहेका थिए । म बिहानको एघार बजे पुग्दा बजारमा चहलपहल बेनीको भन्दा कम थिएन । यो बजार बिस्तारको श्रेय थकाली व्यापारीहरुलाई दिँदा रहेछन् । अहिले थकालीहरु बसाइँसराइ गरी गइसकेका रहेछन् । बजारको स्वरुप हेर्दा लाग्छ– कुनै सिल्पी मूर्तिकारले मिहिनेत गरेर मुर्ति बनाउँदा बनाउँदै के नमिलेर बीचमै छोडेर हिँडेको कुरुप मूर्तिजस्तो । के नमिलेको के ?
मेरो पैदल यात्राको सुरुवावाति बिन्दु भएकाले खास महत्वपूर्ण थियो, दरवाङ । यहि दरवाङ हा।े गुरिल्ला पदमार्ग प्रबेशको उद्गम बिन्दु । (गुरिल्ला अफ्रिका महादेशको जंगलमा पाइने एक प्रकारको बाँदर प्रजाति । जो झुन्ड बनाएर समूहमा बस्ने गर्दछ र शत्रुमाथि जाइलाग्न खप्पिस हुने गर्दछ ।) माओवादीले आफ्नो १० वर्षे युद्घ गुरिल्ला शैलीमा लडेको थियो । माओवादी छापामारहरुले प्रयोग गरेको गोरेटो बाटोलाई समेटेर परिकल्पना गरिएको पदमार्ग हो–गुरिल्ला पदमार्ग । जुन मार्गले जनयुद्घका आधार क्षेत्र म्यादी, बागलुङ, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पालाई जोड्छ । यही बाटो भएर माओवादी छापामारहरु पूर्व–पश्चिम आवातजावत गर्ने गर्दथे । माओवादी सर्बोच्च नेता प्रचण्डले यहि बाटो भएर कास्कीको सिक्लेस पुगि शान्ति स्थापनापछि त्यहाँबाट नै सार्वजनिक भएका थिए ।
गुरिल्ला पदमार्ग.२०७२ सालमा स्थापना गरिएको हो । वर्तमान प्रधानमन्त्री पुस्पकमल दाहालले २०७३ सालमा प्रधानमन्त्री छँदा रुकुमको चुनुवाङमा पदमार्गको उद्घाटन गरेका थिए । म्यादीको दरवाङदेखि सुरु भएको पदमार्ग देशको एकमात्र शिकार आरक्ष ढोरपाटन, रुकुमहुँदै भिन्नभिन्न रुट भएर लामो तथा छोटो (१० देखि ४५ दिन¬) दूरीको बाटोभइ जनयुद्घको उद्गम थलो रोल्पाको सुलिचौरमा पुगेर टुंगिन्छ ।
बजार डुल्दा बाह्र बज्नै लागेको थियो, पेटमा मुसा कुद्न थालिसकेका थिए । सडक छेउकै एउटा छाप्रोमा छिरेँ । तीन जना लक्काजवानहरुले हात चुठ्दै गरेकोदेखि भात खान पाइने अनुमानले छिरेको थिएँ, म । किचनको पछाडी बङ्गुरको मासु थियो, सम्भवतः सबै अर्डर भइसकेको हँुदो हो । प्लाष्टिकमा प्याक गरिएको थियो । मैले भात पाइन्छ भनेपछि भात छ मासु भने पकाउनुपर्ने भन्दै थिए, साहु । थोपडा हेरेरै होला सोझै अनुमान लगाएको हुनुपर्छ,साहुजीले बंगुर चल्छ÷चल्दैन केही नसोधिकन काट्न थाले । केही बेरमा मासु पाक्यो । खाना आयो, टेबलमा । भोक कडै लागेको थियो । सपासप खान सुरु त गरेँ तर सोचेजस्तो मीठो भने लागेन । थपि खान मनले मानेन । त्यतिबेरसम्म छेउमै रहेका जवानहरु लोकल ठर्रा सुरु गरिसकेका थिए । साहुजीसँगको उनीहरुको कुरा सुन्दा पुराना ग्राहक रहेछन् । हाइड्रोपावरमा काम गर्न आएका । बोली सुन्दा लाग्थ्यो पूर्वतिरका राई या लिम्बु हुनुपर्छ । सुरुङ्गभित्रको जोखिमयुक्त काम गर्दा रहेछन् । हाम्रो काम बिस्पोट गर्ने हो, रिस्क हुन्छ भन्दै थिए ।
केही बेरअघि छियाछिया परेको बिजुलीको पोल हेरेर आएको म बिस्फोट सुन्ने बित्तिकै झसङ्ग भएँ । कोही लोकल थप्दै थिए, कोही बङ्गुरको भुटन बनाउन भन्दै थिए । तिनीहरुको चाल हेर्दा दिनभरी दरबाङ बजारमै चिल हुनलाई तम्ततयार भएजस्ता थिए ।
साहुजीको पुरानो घर टाढै गाउँमा रहेछ । बजार झरेको २२वर्ष भयो भन्दै थिए । जसोतसो सानो छाप्रो बनाएर गुजारा गरेको छु । ठुलो छोराबुहारी अस्ट्रेलिया छन्, छोरी युरोप । सानो जापान गएको तीन साल भो बूढाबूढी मात्रै छौँ भन्दै थिए । छोराछोरी विदेश भएकोमा दङ्ग थिए, साहुजी । हुनपनि घरको सदस्य विदेश नभएको घर के घर ?एक लाहुरे नभएको घरलाई कस्ले पो गन्छ हाम्रो नेपालमा !
ढोरपाटन जाने बाटो सोधेँ । साहुको उत्तर आउन नपाउँदै अर्को कुनाको टेबलमा लोकल झोल खाँदै गरेका उमेरले सत्तरी काटेका हुँदा हुन । नजिकैको कुर्सीमा आए । उमेरमा लाहुरेको भरिया काम गरेका रे । गल्कोटका गाउँहरु, सोलेडाँडा पार गरीतमान,निसी, भुजीका गाउँगाउँ पुगेका रहेछन् । जलजला लेक काटेरढोरपाटन हुँदै हप्ताँै लगाएर टकसेरासम्म लाहुरेको भारी बोकेको अनुभव सुनाए । भन्दै थिए– तकसेराका मगरहरु देउटा हुन्छन् । फर्किँदा दुईचार जोर कपडा दिन्थे । आफ्नो गाउँठाउँ घुमेको र छिमेकी लाहुरेहरुको नामसमेत नभुलेका ती भरिया बाजेलाई देख्दा गाउँले छिमेकीजस्तै लाग्यो ।
होटेलवाला साहुलाई गुरिल्ला पथमार्गबारे आन्तरिक तथा बाह्य पर्यटक कति आउने गर्छन् भनि मैले राखेको जिज्ञासामा साहुजी पूरै अनविज्ञजस्तो देखिए । लाग्यो–पदमार्गको नामै पहिलोपटक सुनेको हुनपर्छ । धौलागिरि बेसक्याम जाने बाटो भएकाले कहिलेकाहिँ छिटफुट गोरा रतिनका भरिया आउने बताए । हुनत कागजमा सीमित केही मुठ्ठीभरका नेताहरुको बजेट पचाउन बनेको नाममात्रको पदमार्गमा कोनै आउथ्यो र?त्योभन्दा बढी त्यहाँका पुराना नेताहरुसँग रिस पोखे साहूले । ‘मध्यपहाडी राजमार्ग दरबाङ भएरै नापेको हो । पछि काता गयो,यहाँका नेताहरु नामर्द भएर हो । बाटो आएको यतिका वर्ष भो अझै पिच हुन सकेको छैन् । उता ढोरबाट जलजला आएछ रेमोटर बाटो यताको अत्तोपत्ता छैन ।’ मुर्मुरिए साहुजी ।
मैले कतै पढेको थिएँ– चीन सरकारले बेनी, दरवाङ, ढोरपाटनहँुदै नेपालगञ्ज मुस्ताङ जोड्ने मोटरबाटो राजा वीरेन्द्रसँग भएको सम्झौतामा भारत रुष्ट थियो । अनि २०४७ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । कारण, नेपालले भारतको सहमतिबिना चीनसँग हात हतियार सम्झौत गरेको भनिएपनि अर्के नाकाबन्दीको कारण मुस्ताङ नेपालगन्ज रोड थियो । भारतले नेपालको व्यापार चीनसँग नहोस् भन्ने चाहन्छ सधँै । यस्तैयस्तै कारणले गर्दा पछि परेको त होला जस्तो लाग्यो ।

केही छिनको गफगाफ पछि होटेल साहुको सल्लाह अनुसार मोटर पुल पार गरेर बीचको बाटो अगाडी बढेँ । गुरिल्ला पथमार्ग रुपरेखा पूरै फेरिएको हो या पथले मार्गप्रसस्त गर्न नसकेको हो म पूरै अलमल परँे । मैले पथमार्ग होइन, ग्राबेल हुदै गएको मोटरमार्ग भै यात्रा गर्नुप¥यो । पथमार्ग को छुट्टै उदेश्य हुन्छ । पदमार्गमा पैदल यात्रीहरु आफ्नो बन्दोबस्तीको सरसामान बोकी डाँडा, जंगल, झरना, खोला, हिमालको मनोरम दृष्य नियाल्दै चराहरुको गीतको भाकामा रमाउदै निश्चित उदेश्य बोकेर निस्कने गर्दछन् । अधिकांश पदयात्रीको उदेश्य प्रकृति र स्थानीय सस्कृतिसँग रमाउनु÷अध्ययन गर्नु हुन्छ । पदयात्रीहरु पैदल हिँड्छन् । निश्चित ठाउँमा पुगी बास बस्छन् । भोलि फेरि झोलीतुम्बा कसेर बाटो लाग्ने गर्दछन् । पर्यटकको आगमन भएसँगै स्थानीयस्तरमा रोजगार सृजना हुन्छ । जसले गर्दा जीवनस्तरमा परिवर्तन हुन्छ ।
विश्वचर्चित अन्नपूर्ण पदमार्गमा पर्यटक, भरिया, पथप्रदर्शकको घुइँचो सम्झिएँ । साना होटेलहरुमा पाहुनाको ठेलम्ठेल भिड । पदयात्रीको आगमनसँगै परिवर्तन आएको स्थानीयको हेर्नलायक जीवनस्तर । फेरिदरबाङको होटेल साहुको नेताहरुप्रतिको रिस सम्झिएँ । पदयायात्री बिनाको सुनसान नाममात्रको गुरिल्ला पदमार्गमा पर्यटकहरु चाप कल्पिएँ । कल्पना न हो, कल्पना गर्न कसैको अनुमति लिन पर्ने हो र ! हिँड्दै गर्दा सपना देख्न कसले रोकोस्,म मोरालाई ।
खडेरीले गर्दा जताततै अगोलागी भएको थियो । आकासभरी धुँवाको मुस्लो धुम्म पारेको, आगलागीको समाचारमात्रै सुनिन्थ्यो । हिमाल पूरै ढाकेको थियो, पारीको गाँउहरुसम्म नदेखिनेधुँवाको मुस्लोले । अनाकण्टार पहरा काटेर बनाएको छ, मोटरबाटो । झुक्किएर गाडी पल्टियो भने हड्डीसम्म भेटिदैँन होला । दरबाङदेखि ७ किमीताढा छ– सुन्दर थापा क्षेत्री बस्ती, धारापानी । तीन सय हाराहारीमा छन् घर । केही बाहुन, मगर र दलित समुदायको पनि बसोबास रहेको छ । मुख्य विशेषता हिमाल हेर्न र सुन्दर बस्ती र जनजीवन हो । हिमाल हेर्नलाई मौसमले साथ दिएन, जीवनशैली बुझ्न समयले साथ दिएन ।
पदयात्रा गर्दा प्रकृतिको समिपमा भै स्वस्थ हावा लिँदैअपरिचित मान्छेहरुसँगको गफिँदाको आनन्द छुट्टै हुन्छ । यात्रामा अनेक पात्रहरु भेटिन्छन्, छुट्टिन्छन अति त यादगार भैदिन्छ–पदयात्रा । धारापानीमा भेटिए एक दुःखी आत्मा । बाटो छेउमा बसेर गाउँ हेर्दै थिएँ । एकजना उमेर चालीस कटिसकेका हुदाँ हुन्, विपरित बाटो भै आउँदै थिए । सम्झना होला भनि एउटा फोटो खिचिदिन भनेँ । उनि सुनेर पनि नसुनझैँ गरी बाटो लागे । केही कदम गएपछि फेरिपछि फर्किए र म भएतिर आए । योभन्दा अगाडीको गाउँ पुग्न कति समय लाग्छ? मैले सोधँे । नजिकै छ । धेरै समय लाग्दैन भने । एकैछिनमा पुगिन्छ । कति समय लाग्छ भन्ने बताएनन् । ल म फोटो खिचिदिन्छु भनेर मोबाइल मागे । सोझो अनपढ देखिन्थे उनी । गाउँसहितको फोटाहरु खिचिदिए ।
मोबाइल लिएपछि धन्यवाद भनेँ, मैले । केहीकदम पछि हटेपछि मलाई नौलो देखेर हुनसक्छ जिज्ञासासहितको प्रश्न गरे । ‘सर मिडिया कहाँ पाइन्छ होला ? मिडियाको मान्छे भेट्न काँ जाने होला ?’ किन र के भो दाई मैले सोधेँ । नजिकै आए । ओठमुख कलेटी परेको । लाग्या,े कतै निस्कनलाई महिनौँपछि दाह्रीजुंगा काटेका हुँदा हुन् । निद्रा नपुगे जस्ता । महिनौँदेखि हाँसोखुसी हराएका जस्ता देखिन्थे उनी । जिउमा फूर्ति शुन्य । ‘बुरी हराइ सर । मेरो छ महिनाको छोरी छोडेर काँ गइ, गै । मैले फेसबुक चलाउन जान्दिन । गाम्लेले भन्छन्– केटासितको फोटो हाल्छे रे इन्डियातिरको । उसको माइतका मान्छे उतै छन् । तेतै होली । मेरो खोजी नगर्न भन्छे रे । छ महिनाको नानीले दु ःख पाइ । रातभरी रुन्छे । सुत्न नपाएको महिनाँै भो । छोरी सम्झेर आइदिए नि हुन्थो कि गर्निथेन मैले ।’
पुलिसकोमा जानुभएन ? मैले सोधेँ ।
‘गाको पुलिसकोमा । तिम्रो बुरी हाम्लेभन्दा छिटो मिडियाले फेला पार्छ भन्छन् । तिभैर सोधेको दरबाङ जानी गारी छुटिचे भुली जानी होला बिनीमा पाइन्छ रे मिडिया । गहना–पैसा सबै लगेर भागिचे जोगी बनाई मलै ।’
यतिभन्दा उसको आखाँभरी आसु टिलपिल गरेको थियो । क्यामेरा अनि बुम उनको नजिकै हुँदो हो त ती दाइले ग्वाँग्वाँ रोएर आफ्नो मनको पीडा पोख्दा हुन् । गुहार माग्दा हुन् । हुनपनि हिजोआज युट्युबेहरुको कामै हराएको बुढी खोज्ने भएको छ । प्रहरीभन्दा पहिले मान्छे मिडियामा पुग्छन् । नेपाली थरी बताउने उनी साउदी गएका रहेछन परदेशहँुदै बुढी टाप हानेकी रैछिन् ।
गाउँलेले त्यस्ति स्वास्नी गै के पीर गर्छस, अर्की ले । मर्दको छोरा भनी उस्काउँदा ठीकै छ भनि छाति दह्रो बनाउँदा हुन् । आफन्तको अगाडी कसले पो मनको पीडा पोख्छ । बाहिर सान्त्वना दिएझैँ गरेपनि भित्रभित्र बल्ल खाइस् भन्ने न हुन आफन्त भनाउँदाहरु । नयाँ मान्छे भनिहोला मनको पीडा पोखे उनले मसँग । केही आशा पनि गरेका हुँदा हुन् । परदेश छँदै नाठोसँग सल्किएर बुढी सुइकुँच्चा हानेका पीडित मेरो गाँउको काका, मामा, छिमेकी हर्के आँखामै आए । बिरानो ठाउँमा बिराना मान्छेहरु सामु ती दाइले जसरी मनका पीडा पोखे होलान, रोए होलान् जस्तो लाग्यो ।
‘कति पैसा लाग्छ सर मिडियामा ?’ निन्याउरो पारामा सोधे ।
कुनै आइडिया थिएन मसँग । पैसा त नलाग्नुपर्ने हो जस्तो लागेको थियो तर केही बोलिन । बिहानमात्रै भेटेको पत्रकार सन्तोष गौतमको नाम लिएँ । गाउँले भएकाले चिन्दो रहेछन् । सन्तोष बेनीमा पत्रकारिता पेशामा लागेको लामो समय भएको रहेछ । उहाँलाइ बेनी गएर भेट्नु मिडियाको मान्छे उहाँ नै हो भनी डायरीको एक पानामा नाम र नम्बर टिपेर दिएँ । मेरो नम्बर पनि दिएको थिएँ तर ति दाइले फोन भने गरेनन् । कतै फोन गरिहालेछन् बुढी खोजिदिन करै गरिहालेछन् भनेपनि दुःख नमान्नुहोला है सन्तोष जी । केही उपाय नलागेर नम्मर दिएको हुँ । मनमनै माफी मागेँ ।
हामी आ–आफ्नो बाटो लाग्यौँ । तीन किलोमिटर अगाडी मात्रै रहेछ, सुन्दर ताकम गाँउ । ब्राह्मण,क्षेत्री र दलितको मिश्रित बस्ती । माथि डाडाँमा रहेको प्रसिद्ध कोटमन्दिर दशैँताका मेला लाग्दो रहेछ । त्यस कोटमन्दिरको ऐतिहासिक मिथक ठकुरी वंश र मगर वंश राजाबीचको लडाइँको कथा चाखलाग्दो रहेछ सुन्ने मौका मिल्यो एक घर कुरेर बसेको बाजेबाट । पानी खाने निउँ पारी गफिन नजिक भएको थिएँ म । बच्चादेखि बुढाबुढी सबैलाई कण्ठ रहेछ, त्यस ताकमकोट मन्दिरको इतिहास र कथा । कथा रोचक रहेछ हरकोही नास्तिक पनि त्यस कोट मन्दिरको कहानी सुनेमा झसङ्ग हुन्छ । दर्शन गर्न मौका भने मिलेन । अर्को पटक दर्शन गर्ने वाचा मनमनै गरेँ । कथा लेख्नु र ? ताकमकोट मन्दिरको कथा सुन्न पुग्नैपर्छ –ताकम कोट । यो जिम्मा तपाईंको । मौका मिले ताकमकोट मन्दिर पुग्ने कष्ट गर्नैपर्छ ।
एकपछि अर्को सुन्दर गाऊँहरु । छाना ढुङ्गाले छाएका साना चिटिक्कका रहरलाग्दा घरहरु । छन्त्याल बस्ति मच्छिम खानी, मगर गाउँ मुना, फल्यगाउँ, पारी दर, लमसुङ । कतै बीच बीचमा गुरुङका घरहरु ध्वजाबहाक झण्डाहरु फहराइएका छन । मगर बस्तिमा दुई चार गुरुङ घरहरु । मनै लोभ्याउने गाउँहरु । हरेक गाउँमाथि भिरालो ठाँउमा तल पाक्नै लागेका गहुँ, जौ, उवा लहलह झुलेका । पुक्क राता गाला गरेका मगर्नी तरुनीहरु बोल्न खोज्यो मुन्टो बटारेर नसुनेझैँ पल्लो डाँडा फर्किने । गाउँले परिचान झल्काइदिने तरुनीाहरु । बाटोमा भेट्दा यतै बास मागी बसुम् जस्तो हुने । कोहिलीको सुरिलो भाकाले वातावरण गुञ्जयमान मन पागल त्यसै बनाउने ।
मोटरबाटोको बिस्तार,स्कूलको ढुङ्गे छाना बिस्तार गरि बनेको पक्कि भवन, स्कूलमा विद्यार्थीको चाप देख्दा गाउँप्रतिको माया बढीनै देख्न सकिन्छ । भनौँ मैले घुमेको अन्य गाउँहरुमा जस्तो बसाइँसराइ कमै मात्रामा भएको अनुमान लगाउन सकिन्छ । बीच गाउँ बाटो बिस्तार हुदै गरेको । जिप, ट्रयाक्टर, बसहरुको आवातजावत, सटरसहितको बन्दै गरेका नयाँ घरहरु देख्दा द्रूत गतिमा बजारीकण हँुदै गरेको सहजै अनुमान गर्न सकिन्थ्यो ।
गाउँमा मेला महोत्सव भैरहने एक गाउँको मेला सकिए अर्कोमा सुरु भैहाल्ने । समयसँगै पुराना लोक संस्कृति हराउँदै गएको छ । सालैजो, झ्याउरे, यानीमाया, सोरठीका भाकाहरु गुन्जीदैन गाँउमा । ठिटाठिटीहरु स्पिकरमा चर्को स्वरमा हिन्दी गीत घन्काएर रातभर डान्स हान्छन् । यो विकृति यहाँ मात्रै होइन् नेपालभरको गाउँमा जेलिएको छ । यसरी गाउँमा आधुनिकताको नाममा हिन्दी, अंग्रेजी गीतमा डिस्को हान्दै गएमा हाम्रा लोक संस्कृति मासिन धेरै दिन कुर्नु पर्दैन ।
मनै लोभ्याउने एकपछि अर्को गाउहरु शब्दले बयान गरेर पुग्दैन । सुन्दरताको बावजुत गुरिल्ला पथमार्गमा पर्यटकको आगमन शुन्य जस्तै छ । प्रचरप्रसारको कमी, आधुनिकतासँगै हराउदै गएको हाम्रो संस्कार, संस्कृति । यो ठाउहरुमा राज्यको आँदा नपुग्नु जस्ता कारणले पछि परेको हुन सक्छ ।
धेरैलाई थाहा नहुन सक्छ– गे्रट हिमालयन टे«ल यही मार्गमा पर्दछ । कयौ विश्वविख्यात साहसिक धावकहरुले पार गरिसकेका छन्, यो मार्ग । प्रशिद्ध स्वर्गीयस्वीस भूर्गभविद टोनी हागनले कंैयन पटक यही बाटो भइ पोखरा, बेनी, ढोरपाटनहुँदै नेपालगन्ज ओहोरदोहोर गरेका छन् । यहाँको खेतबारीमा फलेका मकै, धान, कोदो, गहँु, फापर, जौदेखि लोभिएका थिए । सन साठीको दशकमा तिब्बती सरणार्थीलाई ढोरपाटनमा व्यवस्थापन उनकै योजनामा भएको थियो । स्वीस एसोसेसन फर टेक्नोलोजी नामक गैरसरकारी सस्थाको प्रमुखभै यहाँको अन्न खरिद गरी वर्षेनी तिब्बती शरणार्थीलाई खुवाएको नेपालमा मेरो खोजयात्रा पुस्तकमा उल्लेख गरेका छन् । यहाँ फल्ने प्रसस्त अन्न शरणार्थीलाई खुवाउन सकिने र तिब्बतसँग हावापानी मिल्ने भएकाले हागनले ढोरपाटनमा पुनर्वास गर्न सिफारिस गरेको उल्लेख गरेका छन् ।
हिमालको काखमा रमाउँदै मगर बस्ती, ठकुरी, क्षेत्री, विपन्न दलित बस्ती, आदिम समुदायको आदिम छन्त्याल गाउँ नजिकबाट नियाल्ने मौका पाएको छु । नाकैले जोत्ने मोरेनीको उकालोमा लङ्गुरसित घण्टाँै लुकामारी खेलेको छु । टोनी हागनले हप्तौँ लगाइ धौलागिरिलाई समिपमा लिइ बसन्तयाममा खिच्न सफल भएको चिमलीको बोटहरुमा फुलेका चिमलीको फूल सुम्सुमाएको छु । तिब्बती शरणार्थीहरुको कथा ब्यथा सुन्नेको छु । ढोरपाटनको पाटनमा भँेडीगोठमा यानिमायाको भाकामा रमाएको क्षणहरु छन् । धार्मिक स्थल उत्तरगंगाको पवित्र जलले नुहाएको छु, जंगलको बाटो बिराएर घण्टाँै हराइमगरहरुको उद्गमथलो हुकाम, मैकोट, तक अनि सेरा घुमेको छु । द्वन्द्वकालको दुखान्त कथा व्यथाहरु नजिकबाट मनै दह्रो बनाएर सुनेको अनुभवहरु अर्को बसाइमा लेख्नेछु ।





