बागलुङमा अध्ययनको माहौल र साहित्यिक वातावरण सिर्जना गर्ने विभिन्न पक्षमध्ये विद्यामन्दिर पुस्तकालयको पनि अग्रणी स्थान छ । वि सं २००३ मा स्थापना भएर धेरैलाई अध्ययनको वातावरण प्रदान गरेको यो पुस्तकालयको आजीवन सदस्य र नियमित पाठक बन्ने क्रममा शुरुका २ हप्ताभित्र २ पुस्तकहरु क्रमशः महावीर पुनको हालसम्मको जीवनगाथा समेटेको पुस्तक र दोश्रो स्थापित लेखिका सरस्वती प्रतीक्षाको पुस्तक स्व । यी पुस्तकका थुप्रै पक्षमध्ये लेखकको ध्यान पुगेको र महत्वपूर्ण लागेका केही महत्वपूर्ण सन्दर्भ तथा केही विवेचना यस आलेखमा प्रस्तुत गरिएको छ ।
महावीर पुन : सम्झना सपना र अविरल यात्रा
महावीर पुन हामी नेपालीका लागि नयाँ नाम होइन । उनी त राष्ट्रको लागि समर्पित कर्मठ उद्यमी हुन् । अहिले त महावीर पुन आफै आफ्नो पुस्तक बेच्दै देशदौडाहामा छन् । उनी आफ्नो काममा दत्तचित्त भएर लागिपर्दछन् भन्ने त पुस्तकभित्रका प्रशंगहरुमा कैयौँपटक भेट्छौँ । त्यति मात्र होइन प्रकाशित पुस्तक बेचेर जम्मा भएको रकमबाट कृषि औजार कारखाना सञ्चालन गर्ने उदघोष गरेर उनी सोही अभियानमा छन् । पुस्तककै माध्यमबाट पनि करौडौँ स्रोत संकलन हुन्छ भन्ने उदाहरण बनेका छन्,उनी ।
उनको जीवनकथाभित्रका प्रशंगहरु पुस्तकका समेटिनु स्वभाविक नै हो । उनीले चप्पल लगाउन सुरु गर्दाका क्षणमा चप्पल लगाउन नजानेको र बेला बेलामा दाहिने र देव्रे नमिल्ने गरेको सम्वन्धमा यसो भनेका छन्ः ‘केही सिप नलागेर दाहिने खुट्टाको चप्पलको फित्तामा एउटा धागो बाँधे र त्यो चप्पललाई दाहिने खुट्टामा लगाउन थाँले । अनि बिस्तारै सुल्टो गरी चप्पल गराउने बानी बस्यो ।’
उनी मिनिमालिस्ट देखापर्दछन् उनको उपभोग बानी हेर्दा । मन छुने प्रशंग उनको कपडा प्रयोग गर्ने बानी सम्वन्धमा यसो भनेका छन्ः ‘मैले अमेरिका बसुन्जेल कुनै कपडा किनिनँ । अमेरिकाबाट नेपाल फर्केको ३० वर्ष नाघिसक्यो तर अहिलेसम्म पनि मैले कुनै कपडा किन्नुपरेको छैन भने हुन्छ । घुम्दाफिर्दा साथीहरुले कि आफुले लगाइसकेको लुगा दिन्छन्, कि नयाँ किनेरै पनि दिन्छन् । मैले जस्तो पायो उस्तो लुगा लगाएको देखेर धेरैले मलाई सादा जीवन उच्च विचार भएको मान्छे भन्छन् । तर मेरो विचार पनि उच्च हैन, एकदम साधरण छ ।’ यो आत्मउक्तिबाट उनीमा आडम्वर र अहम् नरहेको विषय घाम जस्तै छर्लङ्ग हुन्छ ।
नेपालको अर्थतन्त्र सँधै परनिर्भरखालको हुनु र नेपालले प्रगति नगर्नुमा नेपालीमा रहेको एउटा खराव बानीलाई इंगित गर्दै उनले भनेका छन्ः ‘नेपालको अर्थतन्त्र नबन्नुको कारणमध्ये एउटा कारण नेपाली समाजमा जरो गाडेको कुरा काट्ने रोग हो ।’ हुन पनि कामभन्दा कुरा, गराइभन्दा भनाईमा हामी नेपालीहरु अलमलिइरहेका छौँ । समयले पर्खदैन आफ्नो लयमा बगिरहन्छ ।

लेखक
उनको यो किताबमा देशमा सुशासन स्थापना हुनुपर्ने विषयले पनि स्थान पाएको छ । सुशासन ल्याउनमा को जिम्मेवार हुनुपर्दछ भन्ने सम्बन्धमा उनको सुझाव छः ‘देशमा सुशासनको संस्कार चलाउने अधिकार भएको प्रमुख व्यक्ति भनेकै सरकार प्रमुख हुन्छ । प्रमुख शासकले देशमा सुशासन चलाउन र अर्थतन्त्रको विकास गर्न दह्रो अडान लिने हो भने कसैको केही चल्दैन । दक्षिण कोरियाका पार्क चुङ्गही, सिंगापुरका ली क्वान यु, मलेसियाका महाथिर महम्मद र चीनका देङस्यायो पिङ्गजस्ता नेताहरुको उदाहरण दिन सकिन्छ । ती नेताहरुले चालेका महत्वपूर्ण कदम भनेकै अत्यन्त दृढ भएर आफ्नो देशको अर्थतन्त्र सुधार गर्न अनुसन्धान र नवप्रवर्तनको कामलाई दिएको उच्च प्राथमिकता हो । अहिलेसम्म नेपालका शासकले त्यसो गरेनन् र अब आउने दिनमा यो नगरी सुखै छैन ।’
राष्ट्रिय आविष्कार केन्द्र स्थापनापछि उनलाई सहयोग जुट्ने क्रम जारी छ । उनले आफूलाई प्राप्त सहयोगलाई चन्दा नभनेर दान भन्न रुचाउँछन् । दान भन्न ठीक हुने सम्बन्धमा उनको तर्क यस्तो छः ‘…मातृभूमिको विग्रदो अवस्था सुधार्ने केही काम राष्ट्रिय आविष्कार केन्द्रले गर्छ कि भनेर जनताले स्वेच्छाले दिएको सहयोगलाई किन दान नभन्ने ? जनताले महावीर पुनलाई मोज गर्न वा जागिर खान भनेर सहयोग गरेका होइनन् । मैले जनताको दानबाट एक पैसा पनि तलब भत्ता र सुविधा लिएको छैन र लिने पनि छैन । त्यो पैसा व्यक्तिलाई होइन कि राष्ट्रलाई सहयोग गरेको हुनाले दान भनिएको हो ।
उक्त सहयोगका सम्बन्धमा उनले चार वर्गका दानहरुको चर्चा समेत गरेका छन् । दानको रुपमा पहिलो बुद्धि र सीप, दोश्रो समय, तेश्रो आर्थिक तथा जिन्सी दान र अन्तिम वा चौथो दानको रुपमा व्यावसायिक उत्पादन र बजारीकरण गर्नका लागि चाहिने लगानीलाई उनले लिएका छन् । दान त विदेशमा रहेर व्यावसायिक उचाइ हाँसिल गरेका नेपालीले समेत गर्न सक्छन् । नेपालमा हुने शुभकार्यमा उनीहरु पनि साझेदार हुन सक्छन् । यो प्रशंगमा उनको भनाइ छः ‘एउटै नेपालीले विदेशमा दशपन्ध्र वटासम्म रेस्टुराँ खोलेका छन् । त्यसैगरी पन्ध्रबीस वटा पेट्रोल पम्प, दशवाह्र वटा एक्सप्रेस डेलिभरी सर्भिस, नौदश वटा होटलसमेत सञ्चालन गर्नेहरु नेपाली नै धेरै छन् र निकै राम्रो व्यवसाय गरिरहेका छन् । यसरी विदेशमा बसेर व्यवसाय गर्ने र नेपाललाई अत्यन्तै माया गर्ने सफल व्यवसायीले आफ्नो व्यवसायमध्ये कुनै एउटा व्यवसायको चोखो नाफा नेपालमा कुनै एउटा राम्रो सामाजिक तथा आर्थिक विकास हुने काममा लगाएमा तपाइँहरु एउटा मोडल बन्नुहुनेछ ।’
उनले आफ्नो पुस्तकमा राष्ट्रिय अर्थतन्त्रलाई कसरी उकालो लगाउन सकिन्छ भन्नेमा धेरैवटा कोणबाट चिन्तन पेश गरेका छन् । देशको अर्थतन्त्र कस्तो हुने भन्ने विषय देशले अनुसन्धान तथा विकासका लागि छुट्याउने वजेटको आकारमा भर पर्दछ अर्थात् यी दुई विच सिधा सम्बन्ध हुन्छ भन्ने दाबी गरेका छन् । उनले विभिन्न देशको उदाहरण दिएर ती देशले अनुसन्धानमा गरेको खर्च र लिएको अग्रसरता सम्बन्धी मामिला समेत समेटेका छन् । उनले देशभित्र रोजगारी सिर्जना गर्ने विषय र देशमा उत्पादित वस्तुको प्रयोग बढाउन सरकारले केही न केही प्रोत्साहन दिनुपर्ने माग गरेका छन् । पुस्तक पढ्दा उनीजस्ता केही दर्जन व्यक्ति हुँदा पनि देशको मुहार फेर्न सहयोगी हुने र उनको स्वभाव र जीवनकथाबाट सिकेर हामीहरु पनि मातृभूमिको हितमा अग्रसर हुनुपर्ने प्रेरणा पक्कै मिल्दछ ।
स्व (उपन्यास)
हातमा पुस्तक पर्ने वित्तिकै नाम हेरेर अनुमान गरेको थिँए । यो पुस्तक पक्कै पनि आध्यात्मिक प्रकृतिको र स्वयम् सुधारको विषय र आफू सन्तुलित रहने विषय समेटिएको हुनुपर्दछ भन्ने लागेको थियो । पुस्तकको नामबाटै पनि जीवन व्यवस्थापनमा आफैले लिने अग्रसरताको महत्व हुने र सोही विषयको सेरोफेरोमा पुस्तकका पात्रहरुको मेहनत देखाइएको छ । यही मेसोमा पुस्तकभित्रका पात्रहरु र तिनका कथ्यहरु वा प्रशंगहरुले स्वव्यवस्थापनको तरिका र महत्व सम्वन्धमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वर्णन गरेका छन् । पुस्तक पढिरहँदा आन्तरिक यात्रा, आफ्नो लागि समय व्यवस्थापन गर्नुपर्ने र नगर्दा विभिन्न असन्तुलन आउने विषयसँग जम्काभेट भइरहन्छ । एउटै व्यक्तिको चेतन मन र अवचेतन मनवीचको वार्तालाप पनि रोचक ढंगले प्रस्तुत गरिएको छ । उपन्यासभित्रका थुप्रै पात्रमध्ये पनि सत्यम, काव्या र अगत्स्यको प्रशंगले अलि धेरै पेज ओगटेको छ । एकैपटक धेरै काममा हात हालेको सत्यमले भोग्न परेको कठीन नियतीबाट पाठ सिक्न सकिन्छ । देव्रे हात र दाहिने हातको लेखाईको प्रशंग पनि छ ।
सरस्वतीको ‘स्व’ शरीर र मनभन्दा पनि पर आत्मासम्मका कुरा समेटेको छ ।
पुस्तक पढेर आत्मसमीक्षा गर्दा शरीर र मनभन्दा पनि पर आत्मासम्मका कुरा समेटिइएको कृतिका रुपमा यो पुस्तकलाई हरकोही पाठकले पाउने अनुभूत हुन्छ । पुस्तकको अन्तरवस्तुलाई केलाउँदा कता कता बुद्धमार्गका कुराहरु आइरहन्छन् । वुद्धले देखाएको बाटो र शान्ति प्राप्तिका लागि स्वलाई चिन्नुपर्दछ भन्ने निश्कर्ष देखिन्छ पुस्तकको । वुद्धले भनेझै दुख छ र दुखको कारण हुन्छ र सोही कारणको सम्वोधनको लागि स्वको वोध आवश्यक छ भन्ने विषय राम्रैसँग उठान भएको छ ।
अरुले वा आफैले प्रश्न सोधियो भने हामीहरु उत्तरकै खातिर पनि सोच्न बाध्य हुन्छौँ । उत्तर नपाउँदा झनै चिन्तन गहिरिन्छ । त्यस्तै हुन्छ स्व लाई पढ्दै जाँदा । तिमी को हौ ? तिमी कहाँ छौं ? तिमी किन छौं ? तिमी कहिले छौं ? तिमीलाई कस्तो छ ? जस्ता प्रश्नले पुस्तकका पात्रलाई मज्जाले सोच्न वाध्य पार्दछन् । अरु पनि प्रश्न छन्ः तिमी के हौ ? तिमी कसका हौ ? तिमी कुन चाँही हौ ? तिमी कोसित हौ ?
पुस्तकमा समावेश मानवीय स्वभाव सम्वन्धमा २ लाइन कविता यस्तो छः
‘बाहिर एउटा अनुहार भित्र भिन्न हुँदो रहेछ
सबैभन्दा गाह्रो यहाँ मान्छे चिन्न हुँदो रहेछ’
सुतेर त केबल निद्रा पुग्छ सपना पूरा गर्न त उठ्नै पर्दछ । अब म मान्छे बन्छु भनेर गरेको प्रण गजवको छ । ‘अब आइन्दा आफुले आफैलाई गर्ने मायामा कुनै कन्जुस्याँइ गर्दिन, हेलचेक्र्याइ गर्दिन, तनमन दुवैको ख्याल राख्छु ।’ भनेर एक मुख्य पात्रले गरेको प्रतिवद्धता पनि कम गहिरो लाग्दैन । संसार वदल्नका लागि वा भनौ समाज सेवाको लागि पनि पहिले त आफु सन्तुलित र ज्ञानी बन्नुपर्दछ । त्यसैले बुद्धले भन्नुभएको थियोः ‘अप्प दिपो भवः’ ।
दुवै मुर्धन्य लेखकको अरुको हृदयमा छाप छाड्न सफल उल्लिखित दुई पुस्तक तपाइ पाठकहरुले पनि किनेर वा पुस्तकालयमा हाजिर भएर भएपनि पढ्नुहोला । दुवैजनाको लेखनयात्रा आगामी दिनमा समेत नरोकियोस् । अस्तु ।




