बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संस्कारका लागि संस्कृतिको जगेर्ना

संस्कारका लागि संस्कृतिको जगेर्ना


  • Dhorpatan News
  • भाद्र १२ २०८१, बुधबार

अनेकौं जातजाती, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो नेपाल । नेपालभित्रको नेपालको परिचय बनाएको बागलुङ एउटा अनुपम ठाउँ हो भन्दा फरक नपर्ला । कला साहित्य र संस्कृतिको संरक्षण र प्रबद्र्धनका हिसाबले बागलुङ गण्डकी प्रदेशमै अब्बल जिल्ला हो । नेपाली लोक साहित्यका लागि परिचय बनाएको जिल्लाले बिभिन्न सामुदायका अनेकौं संस्कृतिको संरक्षणमा आफ्नै खालको दख्खल राख्छ । बागलुङमा याम अनुसारका पर्व हुन्छन् । ठाउँ अनुसारका पर्व छन् । ताराखोला भन्ने बित्तिकै सिस्नो खोस्ने, भुस पोल्ने पर्वको याद आउँछ । जहाँ मगर समुदायको बाहुल्य छ । निसीखोला पुतली नाचले परिचय बनाएको ठाउँ हो । सोरठी र सालैजोले जिल्ला दक्षिण सम्झाउँछ । गलकोट क्षेत्रका आफ्नै विशेषता छन् ।

यस्तै बिभिन्न सांस्कृतिक पर्व, गीत संगीत र नाचहरुमध्ये धेरै नाचहरु सदरमुकाम र आसपासमा रहेका नेवार समुदायबाट लोप हुने अवस्थामा थिए । समुदायको कम सक्रियता, सरोकारवालाको कम चासो, सांस्कृतिक महत्वको विषयमा युवा पुस्तालाई जानकारी नहुनु लगायतका कारणले परम्परा मासिने जोखिम जहाँकहीं हुन्छ । जुन जोखिम बागलुङ बजारमा देखिने बिभिन्न खालका नाँचहरुमा पनि थियो । तर, पछिल्लो पुस्ता भने यसमा सचेत बन्दै छ । विशेष गरेर वर्षा याम र बिभिन्न चाडपर्वको समयमा यहाँ नेवार समुदायले बिभिन्न नाचहरु देखाउँछन् । लाखे नाच, घोडे नाच, हनुमान नाच, जोगी नाच, रोपाई नाच प्रतिनिधि नाचहरु हुन् ।

बागलुङमा पछिल्लो समय शाक्य समुदाय जोगी नाँच संरक्षणमा सक्रिय छ । झट्ट हेर्दा महादेवको स्वरुप जस्तै बनेर नाचिने भएकोले यो नाचलाई जोगी नाँच भनिन्छ । पहेलो बस्त्र लगाएका । कसैको हातमा त्रिशुल त कसैको हातमा लठ्ठी । जटा त्रिशुल र माला लगाएका ‘जोगी’को लस्करै बनेर नाच्ने संस्कृति नै जोगी नाँच हो । लोपोन्मुख यो संस्कृति बागलुङका शाक्यहरुले बचाएका छन् । पौराणीक कालदेखि बागलुङका शाक्यहरुले जोगी नाँच देखाउने गरेका हुन् । यो संस्कृतिले समाजमा असुरी प्रवृत्तिको अन्त्य हुने विश्वास गरिन्छ । तीन सय वर्ष पुरानो मानिने हनुमान नाँच बागलुङमा देखाउनु शुरु गरिएको छ । नौ वर्षपछि यो नाँच देखाउनका लागि हनुमान नाँच संरक्षण समितिले लामो तयारी गरेको थियो । तीन सय वर्षअघि भक्तपुरबाट नेवारहरु बसाइ सरेर बागलुङ आएको अनुमान छ । उनीहरु आएपछि आप्mनो संस्कृति पनि सँगै लिएर आएको किंवदन्ती छ । समितिले तीन वा ५ वर्षमा हनुमान नाँच देखाउने गरेकोमा कोरोनाले प्रदर्शनमा आउन सकेको थिएन ।

समुदायमा संस्कृति बँचे संस्कार बच्छ । संस्कार बचाउँन सके, भाषा, साहित्य बच्छ । भाषा, साहित्य र संस्कार बचे देश बच्छ । परम्परागत रुपमा चलिरहेका संस्कार र संस्कृतिमा लामो समय नचल्दा विकृतिको प्रबेश हुनसक्छ । विकृतिलाई परिस्कृत गर्ने, मौलिकता जोगाउने र संस्कार तथा संस्कृतिको जगेर्ना सबैको दायित्व हो । पछिल्लो समय बागलुङमा देखिएको नाचहरुको संरक्षणप्रतिको चासो हराउँदै जान थालेको परम्पराको झिल्को हो । जुन सकारात्मक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->