बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सहर पसेको मनसुनजन्य विपत्तिको कारण खोज

सहर पसेको मनसुनजन्य विपत्तिको कारण खोज


  • Dhorpatan News
  • असोज १३ २०८१, आइतबार

किने बेलाको मनसुन सक्रिय हुँदा आएको बाढी र पहिरोमा परी देशैभर ठूलो जनधनको क्षति भएको छ । अविरल वर्षापछि सबैजसो राजमार्गहरु अवरुद्ध बनेका छन् । कोशीमा ठूलो बाढी आएको छ । सबैभन्दा ठूलो क्षति संघीय राजधानी काठमाडौंसहित बागमतीका तीनवटा जिल्लामा भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र ३४ जनाको मृत्यु भएको छ भने २१ जना हराइरहेका छन् । ४८१ जनाको उद्दार गरिँदा १५ जना घाइते भएका छन् । मकवानपुरमा एन्फा एकेडेमीका ६ बालकको पुरिएर दुखद निधन भएको छ ।
काठमाडौं उपत्यकाका नदी किनारका बस्तीहरुमा सबैभन्दा ठूलो विपत् आइलागेको हो । ललितपुरबाट उर्लिएको नख्खुखोलाले यो वर्ष सबैभन्दा ठूलो बितण्डा मच्चाएको छ । वर्षा अझै थामिएको छैन, सम्भावित खतरा टरेको छैन । अहिलेको काम भनेको नागरिकलाई सुुरक्षित तवरले राख्नु, उद्दार र राहतका कार्यक्रमलाई तीव्रता दिनु नै हो । तर, मुख्य सहरी क्षेत्रमै भएको ठूलो जनधनको क्षतिले हामीले कस्तो सहर निर्माण गरिरहेका छौँ भन्ने प्रश्नलाई सतहमा ल्याइदिएको छ ।
पानीले आफ्नो बाटो आफै खोज्छ । अवरोधहरु त्यसलाई स्वीकार्य हुँदैन भन्ने तथ्यलाई हामीले पछिल्लो समय बिर्सिएका छौँ । नदीको तटीय क्षेत्र मिच्ने, त्यहीँ भौतिक संरचना निर्माण गर्ने कार्य डरलाग्दो गरी मौलाएको छ । सम्भावित विपत्लाई नजरअन्दाज गर्दै नदी किनारमा बस्ती बसाउँदा,पानी ढलोको ख्याल नगरिँदा विपत्ति निम्तिएकोमा द्विविधा नै छैन । अर्कोतर्फ, क्रंक्रिटको जंगलमा परिणत भएको सहरी क्षेत्रमा जमिनमुनि पानी जाने ठाउँ नै छैन । पहिलेका खेत र बारीहरु घडेरी बनेका छन् । जमिनले पानी नसोस्दा बाढीको रुप लिने नै भयो । पछिल्लो समय सहरी क्षेत्रमा ठूलो बाढी आउनुको मुख्य कारण यही देखिएको छ । यो समस्याको निराकरण कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिनैपर्छ । अर्कोतर्फ नदी किनार एवं पहिरोको जोखिमयुक्त क्षेत्रमा घर निर्माणलाई निषेध गरिनुपर्छ । नदीलाई बग्ने ठाउँ दिनैपर्छ । त्यसो गरिएन भने सहर पसेको यो विपत्तिले आउँदा दिनमा अझ ठूलो मानवीय र भौतिक क्षति गराउनेछ ।
अर्कोतर्फ, विपत्को बेला उद्दारमा देखिएको सुस्ततालाई राज्यले स्वीकार्नैपर्छ । हरेक वर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाउने तर कार्यान्वयनमा नआउने,आवश्यक बेला भएका संयन्त्रहरुको प्रभावकारी परिचालन हुन नसक्ने रोगको बेलैमा निदान खोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->