राज्य र जनताप्रति उत्तरदायी रहनु राज्य संचालकको दायित्व र कर्तव्य दुबै हो । जनअनुमोदित व्यक्ति शासक हैन, सेवक हो र उसका कर्महरु दायित्ववोधबाट परिलक्षित हुनुपर्छ । ओठे जवाफ र छुद्र टिप्पणीले राजनीतिक नेतृत्वको कद घटाउँछ । आलोचना बढाउँछ र जनआक्रोश बढाउँछ । विनयशीलता नेताहरुको सबैभन्दा ठूलो गुण हो । गल्ती स्वीकार्दा र क्षमायाचना गर्दा नेताको कद घट्दैन बरु बढ्छ । विश्वका महान मानिएका नेताहरुसँग त्यही गुण थियो । नेपालकै राजनेताहरु पनि लोकलाजको ख्याल गर्थे । सहिष्णुता अपनाउँथे । तर, पछिल्लो समय नेपाली राजनीतिक नेतृत्वमा रहेकामध्ये थोरैमा मात्र त्यो गुण रहेको अनुभूति गर्न सकिन्छ ।
विनयशीलताको मामिलामा प्रधानमन्त्री स्वयं पनि चुकेको देखिएको छ । देशमा बाढीपहिरोले ठूलो जनधनको क्षति हुँदा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा सहभागी थिए । कार्यकारी प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्री त्यहाँ सहभागी हुनैपथ्र्यो । त्यति ठूलो भेलामा प्राप्त हुने प्रस्तुतिकरण, छलफल र साइडलाइन वार्ताको अवसरको सदुपयोग गर्ने दायित्व प्रधानमन्त्री ओलीकै काँधमा थियो । उनी त्यो दायित्व निर्वाहमा कति खरो उत्तिए भन्ने पृथक विषय हो । उनी त्यहाँ रहकै बेला नेपालबा बाढीपहिरोको विपत्ति आइलाग्यो । यसबाट ठूलो जनधनको क्षति भयो । प्रधानमन्त्रीले अमेरिकामै रहँदा सामाजिक सञ्जालमार्फत् उद्दार र राहतका कार्यक्रमका खटिन राज्यका निकाय र नागरिकसँग आग्रह पनि गरे । मन दुखेको बयान पनि दिए । तर, उद्दारका कार्यहरु चुस्त–दुरुस्त भएनन् । विपत्तिको पूर्वानुमान गर्दै त्यसको प्रतिकार्यका निम्ति जस्तो पूर्वतयारी हुनुपथ्र्यो, त्यो नभएको छर्लङ्गै देखियो । कार्यवाहक प्रधानमन्त्रीबाट जसरी छिटो–छरितो निर्णयहरु हुनुपथ्र्यो,हुन सकेन । नागरिकहरुले राज्य नभएको महसुस गरे । विपत्तिको बेला प्रधानमन्त्रीले भ्रमण छोट्याउनुपर्ने आवाज उठे पनि त्यसो भएन । सोमबार फिर्ता हुनासाथ प्रधानमन्त्रीले पत्रकारमार्फत् जनताका तिनै प्रश्नहरुको सामना गर्नुप¥यो । कहाँ कहिले बाढीपहिरो आउँछ भन्ने अनुमान गर्न नसकिने तर्क गर्दै उद्दार र राहतका कामलाई प्रभावकारी बनाइने उनको भनाइलाई स्वभाविक मानिए पनि आफू ‘भैंसी दुहेर दूध लिन नगएको’ कारण तत्काल आउन नसकेको जवाफ दिए । हो, उनी दूध दुहुन गएक थिएनन् तर देशमा जनधनको क्षति हुँदा, उद्दारका निम्ति पर्याप्त तयारी नपुगेको प्रमाणित हुँदा कमजोरी स्वीकार्दा केही बिग्रँदैनथ्यो । अब हुने प्रयत्नहरुबाट प्रश्नको जवाफ दिने ठाउँ उनीसँग बाँकी छँदै थियो । विनयशीलताले नै जनआक्रोशलाई मत्थर पार्न सकिन्थ्यो । प्रश्नहरुसँग तर्र्सिएर हैन, पीडितको घाउमा मल्हम लगाउने प्रयत्न गर्दा नै उनको कद बढ्थ्यो । प्रधानमन्त्रीले त्यसो गरेनन् तर उनको हातबाट अवसर फुत्केको छैन । जे हुनु भइसकेको छ । उद्दार र राहतका काम प्रभावकारी बनाउनेतर्फ ध्यान दिने तथा अब यस्तो नहोस् भन्नका निम्ति पर्याप्त तयारी गर्नेतर्फ प्रधानमन्त्रीले ध्यान दिनैपर्छ । जनतालाई राज्य छ र त्यसले हाम्रो हित गर्छ भन्ने अनुभूति गराउनेतर्फ उनको ध्यान जाओस् । विनयशील बन्ने प्रयत्न होस् ।




