निश्चित विचार तथा दर्शनमा बाँधिएको संगठन र सोही विचारबाट निर्देशित कार्यकर्ता राजनीतिक दलको विशेषता हो । राजनीतिक दलहरुसँग निश्चित विधान, कार्ययोजना तथा नीति नियमहरु हुने गर्छन् । कार्यकर्तालाई अनुशासनमा बाँध्नको लागि विभिन्न बन्धनात्मक व्यवस्थाहरु हुनु अस्वभाविक हैन । पार्टीका जिम्मेवार कार्यकर्ता पार्टी नीति नियमभन्दा बाहिर जाँदैनन र गए कारवाहीमा पर्छन् । नेपालका सबैजसो राजनीतिक दलहरुसँग कार्यकर्ताकै भरमा हतियार उठाउनेदेखि जनसेवासम्मका अभियान चलाएको अनुभव छ । राणा शाहीविरुद्ध लडेको पुरानो पार्टी नेपाली कांग्रेस, झापा विद्रोहको अनुभव बटुलेको पूर्वएमाले तथा सशस्त्र विद्रोह गरेको एकिकृत माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी,संघीय समाजवादीजस्ता प्रमुख पार्टीहरुले पार्टीभित्र अनुशासनको महत्व कति छ भन्ने नबुझ्ने कुरै भएन । नेपाली कांग्रेसभन्दा पनि वामपन्थी पार्टीहरु अनुशासनको मामलामा अझ कडा थिए । पार्टी अनुशासन नमान्नेलाई ज्यान लिनेसम्मको कारवाही गरेको उदाहरण खोज्न टाढा जानु पर्दैन । भला, ज्यान लिनु आफैमा अपराध हो । पार्टीका कार्यकर्ता अनुशासनमा बाँधिएनन् भने अराजकता मात्र बढ्दैन, पार्टी तहसनहस हुन पुग्छ । पार्टी उदेश्यबाट विमुख हुनपुग्छ । यस मानेमा हरेक पार्टीले आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्नैपर्छ । देश र जनताप्रति जिम्मेवार बनाउनैपर्छ ।
तर, नेपालमा पछिल्लो समय पार्टी अनुशासन तोड्ने होडबाजी चलेजस्तो देखिएको छ । हरेक पार्टीभित्र राजनीतिक दर्शन र आदर्श क्षिण हुँदै गएको छ । पार्टीभित्र नोट हुने विचौलियाहरुको बोलबाला भएको छ । महत्वपूर्ण राजनीतिक नियुक्ति तथा भाडबण्डामा विचौलियाहरु हावी हुन थालेका छन् । कतिसम्म भने राजनीतिक दलभित्र रहेका विचौलियाहरुले महत्वूर्ण निर्णयहरुमा हस्तक्षेप गरिरहेका छन् । राजनीतिक दलहरु भित्र छिरेका यी ऐजेरुहरु वास्तवकै लोकतन्तका विरोधी हुन् । उनीहरुसँग न दर्शन,न आस्था र न दर्शन नै हुन्छ । उनीहरु आफ्नो स्वार्थ सिद्धिको लागि राजनीतिक पार्टीको बर्को ओड्छन् र आफूलाई प्रतिकूल हुनासाथ त्यो बर्को मिल्काउँछन् । यस्ता व्यक्तिहरुलाई पार्टीकै शीर्ष नेतृत्वले काखी च्याप्छन् । च्यापिरहेका छन् । जसले गर्दा राजनीतिक दलहरु जनताको नभएर अमूक व्यक्तिको हितको लागि काम गर्ने संस्था बनेका छन् ।
आफ्नो नीति विपरित काम गर्नेरुहरुलाई पार्टीहरुले कारवाही गर्न सकेका छैनन् । कार्यकर्ताहरु पार्टी निर्देशनको विपक्षमा उभिँदा देशैभर राजनीतिक दलहरुप्रति असन्तुष्तीका स्वरहरु चर्को भएको छ । राजनीतिक दलहरु कमजोर हुँदा लोकतन्त्र कमजोर हुने खतरा बढेको छ ।
मानिस विचारमा स्वतन्त्र हुन्छ । स्वतन्त्रता भनेको स्वच्छन्दता हैन । आफ्नो विचार पार्टी भित्र वा जनतामाझ स्थापित गर्न व्यक्ति स्वतन्त्र हुन्छ । यसको लागि उसले दल परिवर्तन वा स्वतन्त्र बस्न पाउँछ । तर, समाजको अहित हुने कार्यहरु कुनै पनि हालतमा क्षम्य हुँदैन । यस्ता गतिविधीहरुलाई विषम परिस्थितिको उपज मानेर कारवाही नगर्ने हो भने पार्टीहरु अराजकहरुको भीड मात्र बन्न सक्छ । राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई अनुशासनमा बाँध्ने कुनै कसर बाँकी राख्नु हुँदैन ।




