अघिल्लो वर्ष तामझामका साथ उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान झन अनिश्चित बन्दै गएको छ । ७ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडानले धन्न पोखरामा जोडिएको ‘अन्तर्राष्ट्रिय’को फुर्कोको इज्जत रहेको छ । नत्र, उडानको दृष्टिले पहिलेको आन्तरिकभन्दा यो फरक छैन । यहाँबाट उडान भर्ने वायुसेवा कम्पनीलाई छुटको घोषणा गरिए पनि उडान भर्नका लागि कुनै कम्पनीले चासो देखाएका छैनन् ।
चीन सरकारको झण्डै २८ अर्ब ऋण सहयोगमा निर्मित विमानस्थलको धावनमार्ग २५ सय मिटर लामो र ४५ मिटर चाक्लो छ । ३ सय सिट क्षमतासम्ममा जहाजहरु सजिलै उडान र अवतरण गर्नसक्ने भनिए पनि यहाँ त्यस्ता जहाज कम्पनीहरुले चासो देखाएका छैनन् । अहिले त, यो विमानस्थलमा १५० भन्दा बढी सिट क्षमताका विमान आउन नसक्ने भन्न थालिएको छ । निर्माणकै क्रममा विभिन्न अवरोध र आशंका व्यहोरेको एयरपोर्ट संचालन नहुँदा राज्यमाथि ऋणको भार थपिने चिन्ता बढ्न थालेको छ ।
विमानस्थलबाट कहाँ जहाज उडाउने,कसले उडाउने भन्ने अनिश्चित नै छ । मित्रराष्ट्र चीनले यो विमानस्थल संचालनमा सघाउने र द्विपक्षीय उडान गरिने बताए पनि सरकारले पहलकदमी लिन सकेको छैन । दक्षिणतिरको मित्रराष्ट्र भारतसँग नेपालले थप हवाइ रुटका साथै पोखरा विमानस्थलबाट उडान भर्ने जहाजको लागि विभिन्न एयरपोर्ट सुनिश्चित गराउन ढिला गरिरहेको छ । पोखराबाट भारतीय सहरमा उडान भर्न तम्सेका विमान कम्पनीहरु बिस्तारै पछि हट्न थालेका छन् । चीनले पोखरा विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई)कै अंग बताएपछि त्यसको विरुद्धमा रहेको भारत तर्सेको छ । यो बीआरआईको अंग होइन भनिए पनि नेपालले यो विषयमा प्रष्ट विचार राख्न सकेको छैन । भारतको सदासयता विना विमानस्थल चल्दैन र चीनको प्रवेशले नेपाल स्वयं भू–राजनीतिक झमेलामा फसेको भाष्य सत्यको नजिक प्रतित भएको छ ।
पोखरा एयरपोर्ट नेपालको हो । सार्वभौम मुलुकभित्रको विमानस्थल कोही कसैको हुन सक्दैन । यसको संचालन नेपाली इच्छा र हित अनुरुप हुन्छ र हुनुपर्छ । ठूलो लगानीमा बनेको एयरपोर्टको संचालनमा अरुले हैन, नेपाल स्वयंले तदारुकता देखाउनुपर्छ । भएको नेपाल एयरलायन्सलाई पोखराबाट छिमेकी देशमा उडान भर्न लगाएर हुन्छ कि अन्य देशका विमान कम्पनीलाई निम्त्याएर हुन्छ, उडान सुनिश्चित गराउनुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्चपदस्थ पदाधिकारीहरु यो विमानस्थलको दीगो संचालनप्रति गम्भीर देखिएका छैनन् भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । त्यसो हो भने, उनीहरुलाई कारबाही गर्न ढिलाइ गरिनुहुँदैन ।
पछिल्लो समय विमानस्थल निर्माणको क्रममै ठूलो घोटाला भएका विषयहरु सतहमा आएका छन् । निर्माण कम्पनीले तोकिए अनुसार काम नगरेर अबौं घोटाला गरेको र एयरपोर्टको मापदण्ड नै बिग्रेको उजुरी अख्तियारमा पुगेको छ । निर्माणमा संलग्नहरु त्राहिमाम् भएका छन् । शक्तिकेन्द्र रिझाउँदै उन्मुक्ति खोज्ने उपक्रम सुरु भएको छ । यो विषयप्रति सरकार गम्भीर बन्नुपर्छ । विमानस्थलको विषयलाई अल्मल्याउने र उडान सुनिश्चित नहुने हो भने यसले देश त डुबाउँछ नै अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि पनि धुमिल हुनेछ । अतः सरकारले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र पारदर्शिताबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । आन्दोलन गरेर एयरपोर्टको माग पूरा गराएका जनतालाई आश्वस्त पार्नैपर्छ ।




