मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

प्रमाणपत्र नहुँदा फर्केका ‘अयोग्य लडाकु’ बेरोजगार

प्रमाणपत्र नहुँदा फर्केका ‘अयोग्य लडाकु’ बेरोजगार

६ महिना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको सुरक्षामा खटिएका खेमराज भित्रिकोटी अहिले बेरोजगार छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८१, बिहिबार
ghaite yodda

बागलुङ/मध्यम खालको पढाइ थियो । घरको आर्थिक अवस्था कमजोर भएपनि उनले पढाईलाई निरन्तरता दिएका थिए । माओवादी जनयुद्द चलिरहेको थियो । नेताहरुले बुर्जुवा शिक्षा पढ्ने हैन, जनयुद्द सफल भयो भने जनवादी शिक्षा पढ्न पाइन्छ भनेर उक्साएका थिए ।
दुइचार पटक जंगलबाट आएका लडाकु नेताले उनलाई जनयुद्दमा लाग्न दबाव दिएका थिए । २०५७ सालको कात्तिकमा उनी बाबुको काजकिरियामा थिए । त्यसैबेला आएका माओवादी कार्यकर्ताले उनलाई लगे । उनी विद्यालयका कापी किताब मिल्काएर रमुवा हानिए । एक दिनको पैदलपछि रमुवाको जंगलमा पुगेर उनी माओवादी युद्दमा सामेल भए ।
बुर्जुवा शिक्षा छाड्ने निधो गरेर किताबकापी च्यातेर जंगल छिरेको उनी अझै सम्झन्छन् । बागलुङको गलकोट नगरपालिका ७ को उपल्लो सिरबारे घर भएका ३८ वर्षिय खेमराज भित्रिकोटी अहिले भने ती दिन सम्झेर पुछुताएका छन् ।
रमुवा गलकोटदेखि एक दिनको पैदल यात्रामा पुगिन्छ । बिकट र राज्यको पहुँचदेखि धेरै टाढा भएकोले यहाँ सशष्त्र द्वन्द्वको बेला माओवादीले आफ्नो आधार क्षेत्र बनाएका थिए । उनले त्यहाँ पुगेर तालिममा भाग लिए । तालिमपछि सिधै उनी लडाकुमा भर्ती भए । सशष्त्र युद्दभर रमुवामा राज्यको कहिले पनि पहुँच पुगेन ।
पढाइ छाडेर छापामारमा निस्कंदा उनलाई प्रमाणपत्र चाहिएन । लगनशिल र उर्जा बोकेर युद्दमा निस्केका भित्रिकोटी माओवादीको कम्पनी कमाण्डरसम्म भए । सशष्त्र युद्दको बेला रोल्पाको खारा आक्रमणमा सेनाको गोलीले उनी घाइते भए । उनको खुट्टामा गोली लाग्यो । तत्काल साथीहरुले जंगलमा लगेर उपचार गराएर बचाए । त्यसपछिका दर्जन लडाईंमा उनले माओवादी बिद्रोहीको चौथो बिग्रेडको कम्पनी २ को कमाण्डरको रुपमा अग्रमोर्चा सम्हाले । ती लडाईंमा माओवादीले शैक्षिक प्रमाणपत्र नभई साहस र हिम्मत खोज्यो ।
म्याग्दी आक्रमणमा उनले बढी सर्तकताका साथ लडें । पहिलो आक्रमणमा घाइते भएकोले खुट्टामा समस्या थियो । तर त्यसपछिका युद्दमा उनी घाइते भएनन् । पहिलो युद्द र त्यहाँको चोटपछि उनले धेरै लडाईमा सर्तक बन्ने शिक्षा पाए । युद्दमा बहादुरीका साथ लडेकोले कम्पनी कमाण्डरको दर्जा पाएका थिए । आवस्यक पर्दा शिर्ष नेताको सुरक्षामा पनि खटिए । त्यतिन्जेल उनको बहादुरीको मात्रै चर्चा भयो ।
जनसेना समायोजनको समय आयो, उनको शैक्षिक योग्यता थिएन । योग्यता नपुगेकै कारण उनी लडाकु समायोजनमा सूचिकृत भएनन् । उनी योग्य लडाकु थिए तर छनौट प्रकृयामा कुनैपनि प्रमाणपत्र नहुँदा अयोग्यमा परे । अर्थात् उनी स्वत अबकास भए । समायोजन प्रकृयाको बेला अनमिनको टोलीले शैक्षिक योग्यता नभएको व्यक्ति कसरी कम्पनी कमाण्डर भयो ? भनेर प्रश्न उठायो । त्यसको उत्तर दिन नसकेर उनी बाहिरीनु परेको थियो ।
५ वर्ष लडाकु भएर लडेको, डेढ वर्ष अरुणखोला र कावासोती क्यान्टोन्मेन्टमा बसेको र पहिलो संविधानसभाका बेला ६ महिना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासको सुरक्षामा खटिएका भित्रिकोटी अहिले बेरोजगार छन् । खुट्टाको घाउले अहिले पनि उनलाई सताएको छ । ढाडमा पनि समस्या छ । चिसो लाग्दा उठ्नै नसक्ने गरी दुख्छ । शरीरको घाउले सताएजस्तै भित्रिकोटीलाई त्यो भन्दा बढी बेरोजगारीले पिरोलेको छ । परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।
पत्नि सुनिकला समेत आफ्नो जीवन र देशको राजनीतिले दिक्क छिन् । उनी पनि लडाकु थिइन् । समायोजनमा अयोग्य भइन् । त्यसपछि घर फर्केका उनीहरुका ३ छोरा छन् । १४ वर्षको सुबिन, १० वर्षको लागिन र ७ वर्षको सुजललाई पढाउने, घर चलाउने उनीहरुको दायित्वमा आम्दानीको श्रोत बाधक बनेको छ ।
जुन उत्साहका साथ युद्द लडेका थिए, फर्केपछिको अवस्था फरक भएको उनको अनुभव छ । ‘हामीले बुर्जुवा शिक्षाको अन्त्य चाहेका थियौं, तर सेना समायोजनको बेला त्यही शिक्षाको प्रमाणपत्र खोजियो, त्यसैले अबकास पाएर फर्कनुप¥यो’ उनले भने । रोजगारी र उचित ज्याला नपाएपछि उनले अहिले पनि समाजमा बाँच्न संघर्ष गर्नुपरेको बताए । फर्कंदा ल्याएको ६ लाखले वर्षौदेखि जीर्ण भएको घर मर्मत गरे । केहीदिन मिठो मसिनो खाए त्यसपछि भने उनको जीवनमा अभावले डेरा जमायो ।
त्यसो त उनी अबकासपछि मलेसिया गए । तीन वर्ष मलेसियामा काम गरेर फर्कदा पनि उनको आर्थिक अवस्था सुधार भएन । ‘दुःखको पेशा गरेर खान शरीर कमजोर भयो, बसेर कमाउने काम गर्न शैक्षिक योग्यता बाधक भयो’ उनले भने, ‘जसले हामीलाई प्रयोग गरे उनीहरु सुकिला र गाडीमा हिंड्ने भएका छन् ।’ दुःख गरेकालाई पेलेरै नेता बन्ने र युद्दपछि नेता भएकाबाट आँफूहरु हेपिुनपरेको उनले गुनासो गरे ।
यस्ता पीडितलाई राज्यले रोजगारीको अबसर दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको भनाइ छ । ‘सशष्त्र द्वन्द्व राज्यको एक विशेष समय हो, नेताहरु माथी पुगे, कार्यकर्ता रोयर बस्ने अवस्था आउनु हुँदैन’ उनले भने, ‘उत्पादनमूलक काममा लगाएमा पीडितले पीडा भुल्छन् ।’ अधिवक्ता राम शर्माले लडाकुहरु अयोग्य बन्ने भन्दा सिमित प्रकृयाले फालिएकोले अरु पेशामा लाग्ने अबसर दिनुपर्ने बताए । द्वन्द्वका घाउ सम्बोधन गर्न संक्रमणकालीन न्याय चाहिएको उनको धारणा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->