भनिन्छ ‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि’ कवि शब्द आफैंमा पुर्ण हुन्छ । कवि अर्थात् स्रष्टा जन्मेको देश, बाँचेको समय र खाइखेली हुर्केको परिवेशबाट उसको सिर्जना अनुप्राणित हुन्छ । ऊ आफ्नो देश, काल र व्यक्तित्वभन्दा पर गएर सिर्जना र कल्पना गर्न सक्दैन, यसको तात्पर्य सर्जकले आफूले जे भोग्छ, जे देख्छ, जस्तो अनुभव गर्छ त्यसैबाट पैदा हुने अनुभूतिलाई कल्पनाको रसायनबाट कलात्मक अभिव्यक्ति दिएपछि मात्र एउटा सुन्दर रचना तयार हुन्छ । जीवनलाई सुख, दुःखको संगम, आँशु र हाँसोको दोभान तथा संघर्षको पर्याय मानिन्छ । यस्तै जीवन ज्युँने महान प्रतिभा कवि दिनानाथ शर्मा (२००३) हुन् । भौतिकवादी दर्शनको पक्षपाती भएर मानवचेतनाभित्र र बाहिरको यथार्थप्रति विश्वास राख्दै सामाजिक विभेद र उत्पीडनमा पारिएका सर्वहारा गरिखाने वर्गको कित्तामा उभिएर कलम चलाउने स्रष्टा शर्माले कलात्मक अभिव्यक्ति, अनुभूतिको सुन्दर र शिष्ट प्रस्तुतिलाई नै साहित्य ठान्छन्, साहित्य जीवन दर्शक र सौन्दर्य हो भन्दछन् ।
कविता, नियात्रा, निबन्ध र राजनैतिक वैचारिक लेख रचनामा कलम चलाउने शर्माले प्रारम्भिक साहित्य लेखनको प्रेरणा भोजपुरे गुरू भनेर परिचित शिक्षक पूर्णप्रकाश नेपालबाट विद्यालयकालमा पाएका थिए । औपचारिक रूपमा बनारसमा रहँदा वि.सं. २०२३ सालमा ‘सिर्जना’ पत्रिका सम्पादन गरी सोही पत्रिकामा ‘गुलाबप्रति’ र ‘इच्छा’ कविता प्रकाशन गरेका उनले साहित्य लेखनको सुरुबाटै लक्ष्मी प्रसाद देवकोटाबाट बढी नै प्रभावित भएको पाइन्छ । पूर्वीय साहित्यका आदिकवि भानुभक्त, वी.पी. कोइराला, बालकृष्ण समका विभिन्न साहित्यिक कृतिबाट जीवनका आरोह–अवरोह पार गर्न धेरै प्रेरणा मिलेको बताउने शर्मा अन्तर्राष्ट्रिय साहित्यकारतर्फ राहुल, प्रेमचन्द, लुसुन, गोर्की र टाल्सटाय जस्ता साहित्यकारहरुबाट प्रेरित भएको पाइन्छ । भने शर्मालाई चिन्तन धाराका हिसाबले माक्र्स, लेनिन र माओको सिद्धान्त अनुशरण योग्य लागेको बुझ्न सकिन्छ ।
आफ्नो जीवनको करिब ६ दशक साहित्य साधना र वामपन्थी राजनीतिमा सक्रिय कवि शर्माले दर्जनौं निबन्ध संग्रह राजनैतिक वैचारिक लेख रचना र कविता संग्रहहरु प्रकाशन गरेका छन् । कम्युनिष्ट राजनीति निकट रहेका शर्मा कवि, निबन्धकार हुँदै पुर्व शिक्षा मन्त्रीसम्मको परिचय पाएका उनले राजनैतिक यात्राका क्रममा सैद्धान्तिक राजनीतिक र वैचारिक लेख ‘सशस्त्र संघर्षबारे विश्वसर्वहारा दृष्टिकोण’ नामक पुस्तकबाट प्रकाशन यात्रा सुरु गरे । उनका ‘संसदीय चुनाव बहिष्कार र उपयोगको प्रश्न’ (२०५६), ‘युद्धविराम शान्ति वार्ता र अग्रगामी निकास सम्बन्धी विवादबारे’ (२०६०) ‘युद्ध र शान्ति बिचको द्वन्द्वात्मक सम्बन्ध’ (२०६२) ‘क्रान्तिकारी विद्रोहका आधारहरू’ (२०६३) जस्ता कृतिहरु राजनैतिक पृष्ठभूमिका रचना हुन् भने निबन्धतर्फ ‘जीवन यात्रा र जीवन’ ‘अक्षरको खेती’, ‘हिम फुलेको रात’, ‘बाह्रखरीको बोटमुनि’, ‘कुलुङ्गाकी आमा’ लगायत छन् । प्रतिनिधि सिर्जनाका रूपमा रहेका ‘तरङ्ग’ (कविता संग्रह २०७०) र ‘यात्रा र अनुभूति’ (नियात्रा संग्रह)का अलावा विभिन्न पत्रपत्रिकामा अनेकौं कविता, निबन्ध, संस्मरण र फुट्कर लेख रचनाहरू प्रकाशित छन् । कवि शर्माको तरङ्ग कविता संग्रहलाई यथास्थितिको समाज र मानवीय जीवनस्तर उपर प्रगतिपूर्ण सोचको प्रादुर्भाव भएको कृतिका रूपमा लिइन्छ । जसको संरचनागत पक्ष यसरी केलाउन सकिन्छ ।
परिचय
तरङ्ग कविता संग्रह दीनानाथ शर्माको पहिलो कविता संÞग्रह हो । यस संग्रहमा उनका वि.सं. २०२३ सालदेखि २०७० सालसम्म लेखिएका सामा छोटा गरि विभिन्न ७९ कविताहरू संग्रहित छन् । यो संग्रह वि.सं. २०७० सालमा शमी सम प्रकाशन गृह, अनामनगर काठमाण्डौंबाट प्रकाशन भएको हो । परिवर्तनका लागि सहादत प्राप्त गर्ने अमर सहिदहरूप्रति समर्पण गरिएका यस संग्रहका कविताहरूमा गुलाबप्रति, ‘इच्छा’, ‘एकटुक’, जागौं दाजुभाई, ‘सभ्य समाजको मान्छे, ‘माटो’ झ्याउने छन्द एवं गीति लयमा छन् भने अन्य कविताहरू गद्यशैलीमा छन् ।
प्रारम्भिक चरणदेखि नै गद्यशैली अंगालेर लेखन कार्यलाई तीव्रता दिएका शर्माका कवितामा सामाजिक, भाषिक र राजनैतिक विषमताको चर्को विरोध पाइन्छ । कम्युनिष्ट आन्दोलनका एक सक्रिय योद्धा शर्मा ‘सम्पत्तिमाथि कसैको एकलौटी अधिकार हुनु हुन्न र सबै समान हुनुपर्छ’ भन्ने विचार प्रस्तुत गर्छन् । उनले आफ्ना कवितामा देशप्रेम, प्रकृति चित्रण, परिवर्तनको चाहना, श्रमको सम्मान, भविष्यप्रति आशावादीता, शोषणको विरोध, वर्गीय चेतना, सामाजिक यथार्थता, जातीय भेदभाव एवं छुवाछुतको विरोध, सामाजिक विकृति विसंगतिप्रति आक्रोश र सर्वहारा गरिखाने वर्गप्रति सहानुभूति प्रकट गरेका छन् ।
यसरी शर्माले आफूमा रहेको प्रगतिवादी चेतनालाई कवितात्मक रूप दिने सन्दर्भमा धार्मिक आडम्बरीपनको विरोध, पाखण्डी भाग्यवाद र अन्धविश्वासको विरोध, ईश्वरीय सत्ताभन्दा मानवीय चेतनाको समर्थन, श्रम र भौतिक संसारप्रति विश्वास, मान्छेले मान्छेद्वारा मान्छेमाथि गरिने शोषण, दमन र थिचोमिचोको विरोध गर्दै स्वच्छ स्वस्थ र सुन्दर समाज निर्माणका लागि जुट्न आह्वान गरेका छन् ।
शीर्षक
‘तरङ्ग’ कविता संग्रहको शीर्षक संग्रहभित्रका कविताका शीर्षकबाट नराखी कवि शर्माले कविता लेखनका क्रममा मनमा उत्पन्न भावनात्मक विचार, ज्वार एवं तरङ्गलाई समेटेर चयन गरिएको छ । यस संग्रहका कविताहरूको शीर्षकमा एकरूपता पाइदैन । ‘गुलावप्रति’, ‘दिन फर्किन्छ’, ‘माटो’, ‘युग कवि सिद्धिचरण’, ‘नयाँ वर्ष’, ‘फिसटेलको यात्रा’, ‘बिहानी’, ‘एकटुक’, ‘मेरा दिन’, ‘नाति र बाजे’ जस्ता कविताहरूको शीर्षक अभिधात्मक छन् । ‘भनिन्छ, कवि’, ‘इच्छा’, ‘संकल्प किसानको’, ‘ज्यूँदो आश’, ‘सपना’, ‘जागौँ दाजुभाई’, ‘प्रेतात्मा’, ‘पहाडी आमा’, ‘मन छ’, ‘रेखाचित्र’ जस्ता कविताहरू लक्षणात्मक शीर्षकमा समेटिएका छन् त्यसरी नै ‘सभ्यता’, ‘एउटा कवि’, ‘विश्वास’, ‘एउटा दलित’, ‘यात्रा आकाशको’, ‘म’, ‘प्रकृति’ र ‘उही हलो’ प्रतिकात्मक शीर्षकका रूपमा साथै ‘उपहार’, ‘हाकिम’, ‘निशाचर’, ‘बराजु’, ‘विचरा’, ‘नारिएका गोरूहरू’, ‘पुरानो कोट’, ‘भग्नावशे त्र’, ‘पीडा’, ‘फेरी पनि प्रेतात्मा जागेपछि’, ‘चार दिवारको कैदी’ आदि कविताका शीर्षकहरू व्याङ्ग्यात्मक रूपमा प्रस्तुत भएका छन्, तर सबै किसिमका शीर्षक र भावबीच अन्र्तसङ्गति छैन भन्न कदापि अत्युक्ति रहदैन ।
संरचना
कवि शर्माको यस ‘तरङ्ग’ कविता संग्रह मूल रचना खण्डका १७८ र आवरणसहित अन्य ९ गरी कुल १८७ पृष्ठमा संरचित छ । यस संग्रहमा ७९ कविता संग्रहित छन् । यस संग्रहका कविताहरू साह्रै छोटा मुक्तकाकार र कतिपय कविता लामा छन् । तसर्थ आकारगत दृष्टिले कवितामा समानता पाइदैन् । ‘एकटुक’ शीर्षकको ६ पंक्तिको कविता निकै छोटो छ, भने यस्तै अन्य छोटा कवितामा ‘उपहार’ ‘के भो त’ ‘पीडा’ र ‘गुलाबप्रति’ रहेका छन् । यसैगरी सबै भन्दा लामो कविता १३३ पंक्तिको ‘भनिन्छ कवि’ रहेको छ । यसका अलावा ‘कुरै कुराको प्रसङ्गमा’ ‘युग कवि सिद्धिचरण’ ‘पुरानो कोट’ ‘सुनकोशीको किनार’ यस संग्रहका अन्य लामा कविता हुन् । त्यस्तै यस कविता संग्रहमा एउटै शीर्षक ‘पुरानो कोट’ राखेर दुई ओटा भिन्नाभन्नै विषयमा कविता लेखिएको छ ।
यस संग्रहमा कविताका हरफहरू कम्तीमा एक शब्ददेखि नौं शब्दसम्म संयोजन गरिएका छन् । केही भ्याउरे छन्द र अधिकांश गद्य शैलीमा लेखिएका यस संग्रहका कविताहरूमा भाव संयोजन वा संरचनाका दृष्टिले पूर्ण हरफहरू भए पनि कतिपय हरफहरू अपरिपुष्ट देखिन्छन् । आवश्यकता अनुसार उपयुक्त स्थानहरूमा पूर्ण विराम, अल्पविराम, योजक चिन्ह, प्रश्नवाचक चिन्ह, उदगार चिन्ह प्रयोग गरिएका यस संग्रहका कविताहरूमा केन्द्रीय भावको नै विस्तार गरिएको छ ।




