बागलुङ/अर्गलको शंकुबारी र अमरभूमीको मुलाबारीमा यतिबेला हिउँदे खेतीका लागि बारी तयार भएको छ । कात्तिकको २४ देखि २६ गतेसम्म पितृ पुजा, भुस पोल्ने र छापो खन्ने गरेपछि हिउँदे खेतीको थालनी भएको स्थानीयले बताए ।
झण्डै ४ सय वर्षदेखि उनीहरुले यो परम्परालाई निरन्तरता दिएका छन् । खेती लगाउनुअघि वर्षभरी मृत्यु भएकाहरुको जुठो फुकाउने र भुस पोल्ने गरेपछि अन्तिम दिन अर्थात् कात्तिक २६ गते छापो हाल्ने (बीउ छर्ने र छोप्ने) गर्छन् । ताराखोला गाउँपालिका १ को अमरभूमी र २ को अर्गल निवासी मगर जातीले कात्तिकको तीन दिनसम्म भुस पोल्ने, पितृ कार्य गर्ने र छापोहाल्ने पर्वतकै रुपमा मनाउने गर्छन् । विसं १७४० मा पाल्पाको अर्गलीबाट बसाइ सरेर आएपछि उनीहरुको यो कर्म नियमित चलनको रुपमा चल्दै आएको छ ।
घर्ती, नाइसा, रोका र पुलिसा जातका मगरहरु पाल्पाको अर्गलीबाट बसाइ सरेर बागलुङ आएको किंबदन्ती छ । यो किंबदन्तीलाई अर्गली मगरले बंशावलीमा उतारेका छन् । बसाइ आएकोले यहाँका मगरलाई अर्गली भनिन्छ । बसाइ सरेर आएकै दिनदेखि भुस पोलेर हिउँदे बालीको शुरुवात गर्छन् । भुस पोल्दा माटोमा भएका किटाणु मर्ने र खेती राम्रो हुने विश्वास समेत छ ।
स्थानीयका अनुसार कात्तिकको १५ गतेदेखि २० गतेसम्म भुस बार्ने (बारीका ढोड संकलन गर्ने) २० गतेदेखि २४ गतेसम्म बीउ बार्ने (आराम गर्ने) कात्तिकको २५ गते खनेर अन्नबाली लगाउन बारी ठिक्क पार्ने र २६ गते छापो हाल्ने अर्थात् अन्न छर्ने र पुर्ने चलन चलेको हो । पहिलो दिन जौ छरेर छापो हाल्ने काम गरेपछि हिउँदे खेतीको काम शुरु भएको मानिन्छ ।
यहाँको भातखाने डाँडा, माझखर्क, भुस्कात लगायतका स्थानमा बसोबास गर्ने मगरहरुको मुख्य पेशा कृषि हो । यहाँ आलु, मुला, मकै, गहुँ र जौको प्रसस्त उत्पादन हुने गरेको छ । मकै भित्राएको ढोड, अन्य स्याउला र फोहोर समेत पोलेर हिउँदे खेतीका लागि बारी तयार पार्ने गरिन्छ । त्यहीं अवसरलाई अर्गलमा भुस पोल्ने मेला गरिन्छ भने अमरभूमीका बासिन्दाले चलनको रुपमा मात्रै अंगालेका छन् ।
पाल्पाबाट बसाइ सरेर आउँदा उनीहरुले झाडी फाँडेर बसेको सम्झनामा अहिले पनि बारीको झाडी फाँडेर पोल्ने, धुवाँ पुत्ताउने गरेका हुन्् । यहाँ फल्ने गेडागुडी, तरकारी, खसीबोका, दूध र अन्य अन्नबालीको तथ्यांक निकालेर बजारीकरण समेत गर्ने योजना उनीहरुले बताएको बताए । माझखर्क कृषि समूहमा आबद्ध भएका किसानले तथ्यांक निकालेर उत्पादनलाई बजार पठाउने काम थालेको अध्यक्ष रामबहादुर नाइसाले बताए । ‘बिशेषगरी जौ र गहुँको ब्राण्डिङमा हामीले जोड दिएका छौं’ नाइसाले भने, ‘भुस पोलेर हिउँदे खेती थाल्दाबाटै यो हिसाब निकाल्न लागेका हौं ।’ किसानले तरकारी र खाद्यबाली समेत बजार पठाउने गरी खेती बिस्तार गरिरहेका छन् । ‘यो बर्ष मैले एक्लै ३० हजारको गोलभेडा, फर्सी, काक्रो समेत बेच्न सकें’ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका भीमबहादुर रोकाले भने, ‘परम्परागत उत्पादनलाई ब्राण्डिङ गराएर बजारकालागि प्याकिङ गर्ने योजना छ ।’ किसानको उत्पादन बढाउन पालिकाले पनि सहयोग गर्ने उनले बताए ।
जतिबेला उनीहरु पहिलो पटक झाँडी फाड्न शुरु गरे त्यहाँ पहिलो पटक खेती पनि थाले । फराकिला पाटा भएकोले यहाँ एकैचोटी धेरै जनाले छाप्रो हालेर बसे । मुला खेती गरे । बारीका पाटामा मुला र पाखोमा मकै लगाएर उनीहरुले लामो समय जीवन निर्वाह गरेको किंबदन्ती छ । त्यहीं सम्झनामा भुस पोल्ने, छापो हाल्ने र पितृकार्य गर्ने चलन बसेको हो । ‘खोरिया फाँडेपछि यहाँ गोठथरी बनाएर बसेको देखिन्छ’ अर्गलका प्रकाश घर्तीले भने, ‘त्यहीं स्थान अहिलेको खेतीयोग्य जमिन बनेको छ ।’ बसाइ आएको साइतमा प्रकृति र भूमी पूजा गर्दा बाढीपहिरो नलाग्ने, सहकाल आउने विश्वास छ ।





