बागलुङ/सोमबार बिहान बागलुङको जैमिनी नगरपालिका ८ को ढुंगाखानीमा भएको जिप दुर्घटनाको उद्दारमा घाइते गंगाबहादुर श्रीषले छिमेकी बोलाए । छिमेकीले प्रहरीमा खबर ग¥यो । उक्त घटना थाहा पाएपछि जिल्लाबाट पनि प्रहरी निरीक्षक नेतृत्वमा जनपथ र सशष्त्र प्रहरी घटनास्थल पुग्यो ।
बेलुकी अबेर शवहरु धौलागिरि अस्पताल ल्याई पु¥याएपछि पोष्टमार्टमका लागि आग्रह गर्दा अस्पतालले प्रहरीको रिपोर्ट माग्यो । दिउँसो घटनास्थल पुगेर मुचुल्का बनाएको प्रहरीले त्यहीं रिपोर्ट दिन मानेन् । बरु वकिलको जाहेरी लिएर आउनु भन्दै पीडितका आफन्तलाई फर्कायो ।
राती पीडितहरु वकिल खोज्दै हिंडे । बल्लबल्ल वकिलमार्फत जाहेरी लेखेर जाँदा प्रहरीले कार्यालय समयमा मात्रै आउन भन्दै पीडितलाई फर्कायो । बिहानैदेखि उद्दारमा खटिएका पीडितका परिवार भोकै थिए । खाने कुरा त उनीहरुलाई भएन भएन, छिटो गरेर पोष्टमार्टम पछि शव बुझ्न पनि पाएनन् । मंगलबार दिउँसो मात्रै प्रहरीले पीडितलाई रिपोर्ट दियो ।
रिपोर्टका लागि पीडितका परिवारको नाम थर ठेगाना मात्र हैन, नागरिकता मागियो । कहिले नागरिकता खोज्ने, कहिले के गर्दैमा पीडितका आफन्तले हैरानी खेपे । उता, अस्पतालमा पुगेर शव बुझ्न खोज्दा अस्पतालमा एम्बुलेन्सको रकम मागियो । पीडितका आफन्त पैसा कता खोज्ने भन्नेमा अन्यौल भए । घटनास्थलदेखि बिरामी ल्याएको एम्बुलेन्स चार्ज, शव बाहनमा ल्याएको खर्च नतिरेसम्म पोष्टमार्टम भएको शव समेत बुझ्न नपाउने अवस्था भयो ।
यो त एउटा घटनाका पीडितले भोगेको सास्ती हो । यस्ता घटना दैनिक हुने गरेका छन् । राज्यको निकाय पुगेर घटनास्थल प्रकृति मुचुल्का बनाइसकेपछि मृतकका आफन्तलाई पटक पटक मार्ने काम भएको उनीहरुको गुनासो छ । ‘हाम्रो मानिसहरु दुर्घटनामा परेका छन्, हामीलाई न होस छ, न खानको ठेगान छ, उल्टै हामीसँग नागरिकता मागिन्छ, बिल तिर्न भनिन्छ,’ पीडितका आफन्तले भने, ‘हामीले राज्यलाई कर तिरेकै छौं, तर यस्तो बिपत्ती आउँदा पनि कहिले नागरिकताको खोजी, कहिले बील तिर्नुपर्ने बाध्यता ।’ राज्यले हामीलाई के दिने हो त ?
यो घटनामा प्रत्यक्ष रुपमा संलग्न भएका स्थानीय श्रीकृष्ण पौडेलले राज्यले मृतकलाई पनि पटक–पटक ठगेको आरोप लगाए । ‘यस्तो घटनामा प्रहरी गएर मुचुल्का ल्याइसकेपछि मृतकका आफन्तले वकिल खोज्ने, बील तिर्ने, प्रहरीमा हाम्रो रिपोर्ट बनाइदेउ भन्ने हो र ?’ पौडेलले भने, ‘खर्च नै लाग्ने भएपछि दाहसंस्कार सम्मको सबै काममा साथ दिएर पछि खोजेको भएपनि हुन्थ्यो, यहाँ त गौडा कुर्ने काम भयो ।’ यो सास्ती खेपेका पीडितका परिवारले राज्यलाई हेर्ने दृष्टीकोण कस्तो भयो होला ? उनी प्रश्न गर्छन् । यस्तो सास्ती भोगेकाहरु विदेशिए भने फर्कनै नमान्ने उनले टिप्पणी गरे ।
दैनिकजसो भैरहने दुर्घटनामा वकिल, प्रहरी, अस्पताल, एम्बुलेन्स र शवबाहन निरन्तर जोडिन्छन् । उनीहरुको आफ्नो दायित्व पनि हुनुपर्नेमा केही नभएको पीडितको गुनासो छ । अझै घटनाका घाइतेको उपचार भैरहेको छ । उनको उपचारमा कसले साथ दिने हो त्यो भने कसैलाई थाहा छैन । बरु कताबाट रकम असुल गर्न सकिन्छ भन्नेमा राज्यका निकायले पटक पटक अप्ठ्यारो पार्ने गरेको उनीहरु गुनासो गर्छन् ।
मुलुकी फौजदारी संहिता २०७४ को दफा ४ र ५ ले कुनैपनि घटनास्थल प्रकृति मुचुल्का गरिसकेपछि प्रहरीले नै सबै कारवाही गर्न सक्ने प्रावधान छ । तर घटनास्थल प्रकृति मुचुल्का पाउनका लागि समेत पीडितले वकिल खोज्नुपर्ने बाध्यता राम्रो नभएको उच्च अदालत बार एसोसिएसनका अध्यक्ष रमेश खड्काले बताए । ‘पीडितलाई मलम लगाउने भन्दा राज्यका निकायहरु नुनचुक लगाउनेतिर उद्दत देखिन्छन्,’खड्काले भने, ‘यदि शुल्क तिर्नै पर्ने भएपनि पीडितले पछि तिर्न सक्छ, मृत्यु भएर पीडा पर्दा कहिले यता, कहिले उता जा भन्नु मानवीय रुपमा पनि राम्रो होइन ।’ मृत्युले पीडित भएकालाई ठाउँ ठाउँमा जरिवाना झैं रकम असुल्ने प्रवृत्ति राज्यले हटाउनु पर्ने उनले सुझाव दिए ।
उक्त घटनामा ७५ वर्षिय कुलप्रसाद श्रीष, ३८ वर्षिय चालक महेन्द्र पुन, उनकै छिमेकी २० वर्षकी रश्मी श्रीष, ५० वर्षकी नन्दकली पुन र १७ वर्षका निरज श्रीषको पनि मृत्यु भएको थियो । मृतकमध्ये ४ जनाको मंगलबार बेलुकी मालढुंगामा सामूहिक दाहसंस्कार गरिएको छ भने एकजनाको बाँकी छ ।





