पछिल्ला केही महिनामा आएका सिनेमा र प्राप्त सफलताले नेपाली सिने उद्योग उत्साहित बनेको छ । खासगरी ‘पूर्णबहादुरको सारङ्गी’ले पाएको व्यावसायिक सफलतालाई मानक मानेर सिने उद्योग पुलकित र उत्साही बनेको छ । पूर्णबहादुरको सारङ्गी सफल हुनुमा विविध कारण छन् । आलोचनाबाट कुनै पनि सिनेमा मुक्त हुँदैनन् । कमी–कमजोरी सबै सिनेमामा भेट्टाइन्छ । इतिहास, मान्छे÷जातजातिका व्यथा र कथाहरु भन्ने क्रममा सिनेमाले गलत भाष्य पनि सिर्जना गर्नसक्छ तर नेपाली माटोको मौलिकता बोकेकाले नै पूर्णबहादुरको सारङ्गी अत्यधिक सफल भएको हो भन्दा चाहिँ धकाउनु पर्दैन । ‘पूर्णबहादुरको सारङ्गी’नेपाली सिने उद्योगमा सबैभन्दा बढी कमाउने सिनेमामा दर्ज भएको छ । अहिले पनि हलमा यो सिनेमा हेर्न दर्शक पुगेकै छैन । त्यसो त, यसभन्दा अघि पनि कयौं नेपाली सिनेमाहरुले दर्शकलाई हलसम्म डोहो¥याएकै थिए, नाफा कमाएका थिए । भनौँ, नेपाली दर्शकको मन बाँधेर भारतीय वा अन्य विदेशी भाषाका चलचित्र हेर्न पल्किएकाहरुलाई पनि नेपाली सिनेमा हेर्न बाध्य बनाएका थिए । तर, अहिलेको परिस्थिति फरक छ । पूर्णबहादुरको सारङ्गी यस्तो बेला सफल भएको छ, जुन बेला मान्छे चाहेको सिनेमा आफूसँगै भएको सानो मोवाइलमा हेर्ने सक्छ । मन नपरेको विषयबस्तु छ भने, हातको औंलाले नै स्क्रिनबाट धकेलिदिन सक्छ । कसैलाई २ वा ३ घण्टा लामो विषयबस्तु सिनेमा हलमै पुगेर हेर्नबाट फुक्काफाल बनेको मान्छेलाई हलसम्म तान्नु नै अहिले संसारभरका सिनेकर्मीको लागि चुनौतीको विषय हो । नेपाली सिनेमाको त के कुरा गर्नु र ? हिन्दी सिनेमाले सधैँजसो नेपालमा दबदबा कायम गर्छ । सयौं करोड लगानीका ती सिनेमाहरु प्राविधिक रुपले पनि नेपालीभन्दा बलिया नै हुन्छन् । सिर्जनात्मकतालाई प्रविधिले सिंगारेपछि कमी–कमजोरी स्वतः छोपिन्छ । आक्रामक प्रचारले पनि दर्शकलाई हलसम्म पु¥याउँछ । यी तीनवटै कुरामा कमजोर भएको नेपाली सिनेमा उद्योगको उत्पादनले भारतीय चलचित्रलाई बिस्थापन गर्नु चानचुने कुरा हैन । पूर्णबहादुरको सारङ्गी टिम यस मानेमा बधाईको पात्र छ । यो टिमले अघिल्लो वर्षतिर निराश बनेको सिने उद्योगलाई सञ्जीवनी दिएको छ । तर,यत्तिकैमा खुसी मानिहाल्नुपर्ने अवस्था चाहिँ छैन ।
नेपाली सिनेमा उद्योगको इतिहास त्यति लामो छैन । २००७ सालमा डिबी परियार (दिव्यचन्द्र विक्रम परियार) बाट कोलकोतामा निर्माण भएको ‘सत्य हरिश्चन्द्र’ले पहिलो नेपाली भाषाको सिनेमा बन्ने शौभाग्य पाए पनि नेपालमै बनेको पहिलो सिनेमा भने हीरासिंह खत्री निर्देशित ‘आमा’ थियो । सत्य हरिश्चन्द्र २००८ साल भदौ ३० गते र आमा २०२२ सालमा प्रदर्शनमा आएको हो । सूचना विभागले २०२४ सालमा हिजो,आज र भोलि र परिवर्तन बनायो । त्यसपछि २०२८ सालमा शाही नेपाल सिनेमा संस्थानको स्थापना भयो । सरकारी लगानीले चलचित्र बनाइएको बेला निजी क्षेत्रको प्रवेश भयो । निजी क्षेत्रको तर्फबाट २०४२ सालपछि बनाइएका चलचित्रहरुले नेपाली सिने उद्योगलाई गति दियो । आरोह–अवरोहलाई बिर्सने हो भने, नेपाली सिने क्षेत्र वर्षेनी करोडौं लगानी हुन्छ । नाफासमेत दिने भएपछि यसले उद्योगकै स्वरुप ग्रहण पनि गरेको छ । तर, चलचित्रले जसरी गुणस्तर बृद्धि गर्नुपर्ने हो, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल हुनुपर्ने हो, त्यो नभएको टिप्पणी भइरह्यो । चलचित्र बनाउने तर दुई दिन पनि हलमा नटिक्ने अनि निर्माताले घाटा व्यहोर्नुपर्ने नियति कायमै रह्यो । चलचित्र क्षेत्रमा लागेकाहरुले रहरले काम गरे तर व्यावसायिक हुन सिकेनन् । जसले गर्दा ‘सिने उद्योगमा लगानी ः बालुवामा पानी’ हुन गयो । अहिले परिस्थिति फेरिएको छ । नेपालमै अब्बल सिनेमा बन्न थालेका छन् । राम्रो कथा,राम्रो छायाङ्कन र प्रविधिको प्रयोग गर्ने पुस्ता आएको छ । सिनेमा रहरमा हैन, फुसर्द निकालेर बनाउनुपर्छ भन्ने सोचको विकास भएको छ । जसले गर्दा नेपाली चलचित्रले पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने सम्भावनाको ढोका खुलेको छ ।
सिनेमा मूलतः मनोरञ्जनको साधन नै हो । यो कल्पनामा आधारित पनि हुनसक्छ । अपितु यसले बोल्ने कथाले तत्कालीन समयको चित्रण भने गर्छ । सामाजिक,सांस्कृतिक,राजनीतिक यथार्थलाई चित्रमार्फत् दर्शकसामु पस्कन्छ । चलचित्रमा दृष्य र कथाको संगम रहन्छ । प्रविधिप्रदत्त सुविधालाई चलचित्रमा भरपुर उपयोग गरिन्छ । राम्रो कथा, त्यस्तै कल्पनाशीलता अनि प्रविधि प्रयोगप तथा बेजोड अभिनयको संगम हुँदा चलचित्र सफल हुन्छ । नेपाली सिने उद्योगमा लागेकाहरुले यो तथ्य बिर्सनु हुँदैन । राम्रो सिनेमा बनाउँदा विश्व बजारमै पनि त्यसले दर्शक पाउँछ । मान्छेको मन छुुने सिनेमा बन्यो भने भाषा रहँदैन । ‘सब टाइटल’ राखिएका फरक भाषाका चलचित्रबाट पनि दर्शकले मनोरञ्जन लिन्छन् । पूर्णबहादुरको सारङ्गीको सफलतालाई आधार बनाएर नेपाली सिनेकर्मीले त्यही बाटो तय गर्नुपर्छ ।




