बागलुङ÷नेपालमा आर्थिक रुपमा बिपन्न, दलीत र ग्रामीण जनता स्वास्थ्य उपचारबाट बञ्चित छन् । नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा समेत उनीहरुको पहुँचमा पुग्न सकेको छैन । काठेखोला गाउँपालिकाको भीमापोखरा, धम्जा र तंग्रामका विद्यार्थीहरुबीच पुग्दा यो प्रष्ट देखिन्छ । सामान्य उपचार खर्च अभावमा रोग पालेर बसेकाहरु यहाँ भेटिन्छन् । उनीहरुको परिवारले बीमाबारे जानकारी समेत नभएर उपचारमा लैजान सकेका छैनन् ।
त्यस्तै मध्येही हुन् काठेखोला गाउँपालिका वडा नंं ४ तंग्रामकी ११ वर्षिय सँस्कृति थापा । कक्षा ६ पढ्ने उनले बोर्डमा लेखेको अक्षर देख्न सक्दिनन् । कक्षामा पालो गरेर बस्ने चलनले उनलाई पछिल्लो बेञ्चमा बस्दा त झनै समस्या पर्छ । पछिल्लो बेञ्चमा बसेको दिन पढाइ नबुझेर उनी अलमल पर्छिन् ।
अमरबहादुर थापा र पार्वतीकी कान्छी छोरी संस्कृतिले बिद्यालयमा पढ्दा सास्ती खेपेकी छिन् । उता परिवारले आर्थिक अवस्था कमजोर भएकोले उपचार गराउन सकेको छैन । विद्यालय जाँदा दिदी भूमिकाले डोहो¥याएर विद्यालय पु¥याउँछिन् । बाबुआमा खेतीकिसानी गर्छन् । खर्च जुटाएर जान नसक्दा उपचार नगरेको थापा दम्पत्ति गुनासो गर्छन् । ‘बजारमा जाने मात्र हैन, बस्ने खाने, उपचार खर्च कसरी पु¥याउने भनेर जानै सकेका छैनौं’ पार्वतीले भनिन्, ‘दुइछाक खानका लागि काम गर्नुपर्नेले कसरी उपचार गरौं ।’
गैरसरकारी संस्था धौलागिरि एकीकृत ग्रामीण बिकास केन्द्र (डिआइआरडिसी)ले विद्यालयमा गरेको शिविरमा संस्कृतिको आँखामा समस्या भएकोले तत्काल उपचारका लागि लैजान चिकित्सकले रिफर गरेका थिए । रिफर भएको दुइ महिना बित्दा पनि खर्चकै अभावले थापा परिवारले छोरीको उपचार गर्न सकेको छैन ।

सोही समयमा उपचारका लागि रिफर भएकी काठेखोला गाउँपालिका वडा नंं ३ धम्जाकी नविना किसान पनि उपचारमा जान सकेकी छैनन्् । उनको आँखामा पनि समस्या देखिएको थियो । तर उपचार समयमा भएको छैन । कक्षा १२ मा पढ्ने नविनाको विद्यालय उमेर आँखाको समस्यामै बितिसकेको छ । बाबु ज्ञानबहादुरको मलेसियामा रोजगारीमा जाँदा दशवर्ष अघिनै निधन भएकोले आमाले मजदुरी गरेर छोराछोरी पढाइन् । त्यसपछि उपचारका लागि खर्च गर्न नसकेको गुनासो गरिन् । ‘काम नगरे खान पुग्दैन, उपचार खर्च कसरी गरौं ?’ नविनाकी आमा लक्ष्मीले भनिन्, ‘उपचारका लागि गाउँमा कसैले ऋण पनि पत्याएनन् ।’ मजदुरी गरेर तिर्नुपर्ने भएपछि ऋण नपाएको उनले गुनासो गरिन् ।
काठेखोला २ स्थित भिमापोखरामा रहेको शिवालय आधारभूत विद्यालयको कक्षा २ मा पढ्ने ८ वर्षिय सभ्यताको त जीवन अहिलेदेखिनै कष्टकर छ । आमाले छाडेर हिंडेपछि बाबुले सभ्यतासहित दुइ सन्तान मजदुरी गरेर पालेका छन् । सभ्यताले पनि आँखा राम्रो देख्दिनन् । उनी त डोहोरी भन्ने गाउँबाट जंगल काटेर डेढ घण्टामा मात्रै यो विद्यालय आइपुग्छिन् । डोहोरीमा रहेको दुर्गादेवी प्रावि विद्यार्थी अभावमा शिवालयमा मर्ज भएपछि त्यहाँका ५ जना बालबालिका डेढ घण्टा हिंडेर शिवालय आउन बाध्य छन् । बिहान र बेलुकी गरी ३ घण्टा हिंड्नुपर्दा उनीहरुले पढ्न समेत राम्रो पाएका छैनन् । सभ्यताको ६ वर्षको भाइ संस्कार सुस्त मनस्थितिका छन् । उपचारमा लैजाने अवस्था नभएपछि उनले पनि रोग पालेरै बसेकी छिन् ।
भीमापोखराकै जनकल्याण माविमा त ७ जना विद्यार्थीमा आँखाको समस्या छ । कक्षा ८ का शैलेस परियार, कक्षा १० की खुसी थापा, कक्षा ९ की सोफिया बिक, कक्षा ९ कै हिराबहादुर परियार र शर्मिला परियार तथा कक्षा १० का नविना थापा र सावित्रा किसानले पनि आँखाको समस्या भोगीरहेका छन् । बिपन्न परिवारले उनीहरुको उपचार समेत गराउन नसकेको हो ।
यी सबै बालबालिकाको परिवारले स्वास्थ्य बीमा गरेको छैन । उनीहरु सबै मजदुरी गरेर विद्यालय पढ्न आउने गरेको डिआइआरडिसी बागलुङका कार्यक्रम अधिकृत शालिकराम शर्माले बताए । ‘स्वास्थ्य बीमा जानेबुझेकालाई मात्रै भयो, लक्षित समुदायमा पुगेकै रहेनछ भन्ने उनीहरुकै तथ्यांकले देखाउँछ’ शर्माले भने, ‘खर्च गर्न नसकेकै कारण अधिकांस अभिभावकले सदरमुकामसम्म पनि उपचार गर्न ल्याएका छैनन् ।’ स्वास्थ्य बीमाका लागि स्थानीय पालिकाले पहल गरिदिए बालबालिकाको उपचारका लागि यातायात खर्च र उपचार खर्च संस्थामार्फत जुटाउने उनले बताए ।
काठेखोला गाउँपालिकाले चालुवर्ष पनि २ सय जना दलीत र बिपन्न परिवारका सदस्यलाई स्वास्थ्य बीमा गराउने नीति बनाएको छ । कार्यविधि बनिनसकेकोले लागू नभएको स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयले बताए । ‘कतिपय काम त वडाबाटै बीमा गराउने, पालिकाको पहुँचमा ल्याएर उपचार खर्च भराउन पनि सकिन्छ’ पाण्डेयले भने, ‘पालिका र वडासम्म यो सूचना प्रवाह गर्छौ ।’ तत्काल उपचारमा जान समस्या भएमा पालिकाबाट बाटो खर्च दिएर पनि पठाउन सकिने उनले बताए । गाउँपालिकाका अध्यक्ष राजु थापाले उनीहरुको समस्याबारे बल्ल थाहा पाएको भन्दै कागजातको आधारमा केही सहयोग गरेर उपचारमा लैजाने बताए ।





