सन् १९८१ मा पहिलोपटक एचआइभी संक्रमणको पुष्टि भयो । त्यसयता संक्रमणबाट करोडौं मान्छेको ज्यान गएको तथ्याङ्क पनि छ । हरेक दिन ४ हजार व्यक्ति एचआइभीबाट संक्रमित हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ भने नेपालमा प्रत्येक दिन २ जनामा यस्तो संक्रमण हुने जनाइएको छ । गण्डकी प्रदेशकै हकमा ३ हजार ६ सय ९५ रहेको छ । तीमध्ये २ हजार ९ सय ६८ले औषधि सेवन गरिरहेका छन् ।
केही वर्षअघिसम्म एचआइभी÷एड्सलाई डरलाग्दो रोग मानिथ्यो भने संक्रमितलाई समाजबाटै बहिष्कार गरिन्थ्यो । उपचार नै नहुने र यौनजन्य क्रियाकलापबाट अर्कोमा सर्ने संक्रमणसँग नैतिकताको प्रश्न पनि जोडिने हुनाले त्यस्तो भएको थियो । तर,पछि नियमित औषधि सेवनबाट एचआइभी संक्रमितहरुले पनि दीर्घ र सक्रिय जीवन जिउन सक्छन् भन्ने प्रमाणित भयो । संक्रमितहरुले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिँदा संक्रमितले पनि दीर्घजीवन जिउन सक्छ । नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । त्यसका लागि एचआइभी तथा एड्स सम्बन्धि विविध कार्यक्रमहरु संचालन भइरहेको छ । तर, अझै पनि संक्रमितहरु खुलेर हिँड्ने वातावरण बन्न सकेको छैन । उनीहरुमाथि लाञ्छाना र भेदभाव भइरहेको छ । यस्तो प्रवृत्ति अन्त्यको सामाजिक अभिमुखीकरण तथा अन्य सचेतनामूलक कार्यक्रमको जरुरी देखिएको छ । एचआइभी÷एड्स डरलाग्दो रोग हैन, यो गलत बानीले मात्र हैन, अन्य कारणले पनि सर्छ भन्ने सचेतनाले मात्र उनीहरुमाथि हुने भेदभावको अन्त्य हुन्छ ।




