बागलुङ/अहिले पनि उनको परिवार आर्थिक रुपमा कमजोर छ । धान खेत छैन । कोदो लगाउने केही बारी मात्रै छ । दश वर्ष अघि त्यहीं कोदो लगाउने जग्गा पनि विद्यालयलाई दान दिए । दुइतीन वर्ष चलेर विद्यालय अन्यत्र सारियो ।
अहिले उक्त जग्गा र विद्यालयको भवन समेत जीर्ण छ । तर बिपन्न परिवारले दान दिन लगाइएको स्थान चउर बनेको छ । न विद्यालय चल्यो, न दाताले खेतीपाती लगाउन पाए ।
यो समस्या भोग्ने काठेखोला गाउँपालिका २ भीमापोखराका बलवीर सुनार र खिम कुमारी हुन् । बिक दम्पत्तिलाई अहिले पनि खान पुग्दैन । वर्षभरी दुःख गरेर फल्ने दुइ मुरी कोदोको भरमा उनीहरुको जीवन चलेको छ । तर झण्डै २ रोपनी जमिन अलपत्र भएको हो ।
जनकल्याणलाई उच्च मावि बनाउने क्रममा यहाँ ६ कोठे भवन बनाइएको थियो । अहिले उक्त भवन जीर्ण भैसकेको छ । झ्यालढोका पनि छैनन् । खान नपुग्ने बिक दम्पत्ति भने बेलाबेला विद्यालयको भवन भएको स्थानमा पुगेर आँफूले दान दिएको जग्गा हेरेर चित्त बुझाउँछन् । उक्त विद्यालय अहिले एक सय मीटर पूर्वतर्फ सारिएको छ । कक्षा १ देखि १२ सम्म नयाँ भवनमा पढाइ हुने गरेको प्रधानाध्यापक लीलाराम सापकोटाले बताए ।
बिकका राजु र सूर्य दुइ भाइ छन् । उनीहरुको उत्पादन भनेको कोदो र मकै मात्र हो । खान नपुग्ने भएकोले फिर्ता हुने भए उक्त जमिन फेरी कमाएर खाने उनीहरुको चाहना छ । ‘स्कुल बन्ने भयो, दान दिनुपर्छ भनेर भन्नुभयो, समाजमा मिलेर बस्नकै लागि हामीले दान दियौं’ उनले भने, ‘तर यसरी जीर्ण भएको हेरेर बस्नुपरेको छ ।’ विद्यालयले बेच्ने नै भएपछि ऋण खोजेर त्यहंी जग्गा किन्ने उनले बताए ।
अहिले त उच्च मावितर्फ विद्यार्थी पनि घटेका छन् । १५ जना विद्यार्थीका लागि छुट्टै भवनको आवस्यकता समेत नपर्ने अवस्था आइसकेको छ । विभिन्न परियोजनामार्फत जनकल्याण माविको पक्की भवन र दुइ दर्जन कोठा बनिसकेकोले पुरानो भवन र जग्गा विद्यालयलाई काम नलाग्ने भैसकेको एक शिक्षकले बताए ।
दान दिएकै भएपनि कानूनी रुपमा विद्यालयको नाउँमा गैसकेकोले बिक दम्पत्तिले उपभोग गर्न पाउने अवस्था छैन । बरु आवस्यक नभएर बेच्ने भएमा उक्त जग्गा फिर्ता गर्न चाहेका छन् । त्यतिबेला दानको रुपमा दिएपछि विद्यालयले उक्त जग्गा बेच्ने योजना भने बनाएको छैन । जग्गा नबेच्ने, उपयोग पनि नगर्ने गर्दा गाईभैसी चर्ने चरन क्षेत्र जस्तो बनेकोले दुःख लागेको बिकले बताए ।
पछिल्लो समय मावि तहमा पनि विद्यार्थी घटेका छन् । जसका कारण छुट्टै कक्षा बनाएर राख्नुपर्ने बाध्यता टरेको छ । कक्षा १० सम्म अटाइनअटाइ हुने विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थी राख्दा पनि खासै फरक पर्ने नदेखिएको सापकोटाले बताए । बरु उक्त जग्गालाई सम्याएर भलिबल मैदान वा अन्य कुनै उपयोगितामा लैजाने सोच बनाएको सापकोटाको भनाइ छ । त्यसका लागि विद्यालयले कोषको खोजी गरेको छ । विज्ञान प्रयोगशाला वा सामुदायिक पुस्तकालयको रुपमा विकास गरेमा भवन मर्मत हुने र जग्गा पनि उयोगमा आउने विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले योजना बनाएको बताए ।





