बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माननीय सुनिताको काँधमा अपाङ्गहरुको दायित्व

माननीय सुनिताको काँधमा अपाङ्गहरुको दायित्व


  • Dhorpatan News
  • मंसिर ३० २०८१, आइतबार

सानैमा श्रवणशक्ति गुमाएकीख स्याङ्जा चापाकोटकी सुनिता थापा गण्डकी प्रदेशसभाको माननीय बनेकी छन् । अर्की सांसद विमला गौचनको निधनपछि रिक्त ठाउँ अब उनले लिनेछन् । गएको २०७९ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले अपाङ्गता भएकाको प्रतिनिधित्व गर्दै उनलाई समानुपातिक सूचीमा राखेको थियो । २०४९ सालमा स्याङ्जाको चापाकोट–९,सुन्तलीटारमा जन्मेकी सुनिता उमेरको हिसाबले गण्डकी प्रदेशको कान्छी सांसद बन्न पुगेकी छन् भने दायित्वका हिसाबले उनीमाथि सबैभन्दा बढी जिम्मेवारी थपिएको छ । सुनिताले टाइफाइडका कारण ११ वर्षमा श्रवणशक्ति गुमाइन । त्यो पीडादायक क्षणलाई सही उपचारको अभावमा कसरी बालबालिका अपाङ्गताको सिकार बन्न पुग्छन् भन्ने दृष्टान्तको रुपमा मात्र लिँदा हुन्छ । महत्वपूर्ण कुरा भनेको अपाङ्गतासहितको जीवन बाँच्न र आत्मनिर्भर बन्न कति संघर्ष गर्नुपर्छ भन्ने नै हो ।
श्रवणशक्ति गुमाएपछि सुनिताले पनि सामाजिक अपहेलनासहित अनेकौं समस्या भोगिन् । तर, उनले हिम्मत हारिनन् । पढाइ पूरा गरिन् । पोखरा अनि काठमाडौंसम्म पुगेर गरेको उनको संघर्षको कथा जति प्रेरणादायी छ,त्यति नै उनले अपाङ्गताको क्षेत्रमा गरेको योगदान महत्वपूर्ण छ ।
२०७८ सालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये छ लाख ४७ हजार ७४४ जना अपाङ्गता भएका व्यक्ति छन् । यो कुल जनसंख्याको २.२ प्रतिशत हो । त्यसमा पनि पुरुषहरू २.५ र महिला २.० प्रतिशत छन् । उनीहरुले भोग्नुपरेको हिंसा,विभेद र दुव्र्यवहार डरलाग्दो छ । महिलाले झन सास्ती भोग्दै आएका छन् ।
हो, सुनिताको काँधमा अपाङ्गहरुले भोग्दै आएका समस्या समाधानको दायित्व थपिएको छ । कानून बनाउने ठाउँमा पुगेकी अपाङ्गमैत्री कानून निर्माणसहित त्यसको सही कार्यान्वयनको लागि झक्झक्याउन पर्ने भएको छ ।
नेपालमा १० प्रकारका अपाङ्गतालाई पहिचान गरिएको छ । ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४’ ले शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई १० प्रकारमा वर्गीकरण गरेको छ । शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइसम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता, अटिज्मसम्बन्धी अपाङ्गता र बहुअपाङ्गता पर्दछन् । अशक्तताको गम्भीरताको आधारमा पनि अपाङ्गतालाई पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र सामान्य अपाङ्गता भनेर वर्गीकरण गरिएको छ । उनीहरुको लागि सुविधाको व्यवस्था पनि गरिएको छ तर कार्यान्वनयको अवस्था भने शून्यजस्तै छ । नीति नियम बनाउने तर कार्यान्वनय नहुने रोगले राज्यलाई गाँज्दा अपाङ्गहरु अधिकारबाट बञ्चित बनेका छन् । सुनितालेको गण्डकी प्रदेश प्रवेशसँगै ती विषयले सदनमा ठाउँ पाउने अवस्था बनेको छ । सदनमा दोभाषेसहित प्रवेश गर्ने उनी आफैमा प्रेरणाका स्रोत त बनिसकेकी छन् । अब चाहिँ उनी जति सशक्त ढंगले अपाङ्गहरुको पक्षमा बोल्नेछिन्, त्यति नै उनको कद बढ्दै जानेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->