देशकै पुरानो तथा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शनिबार विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । योपटक स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा विभिन्न तह र विषयमा सर्वोत्कृष्ट विद्यार्थीहरुलाई पदक पनि प्रदान गरियो ।
२०१६ साल जेठ १३ गते स्थापना भएको त्रिवि नेपालको शैक्षिक विकासको ज्यूँदो इतिहास हो । १९७५ सालमा चन्द्र शमशेरले त्रिचन्द्र कलेज खोलेर नेपालमा उच्च शिक्षा प्रदान गर्ने वातावरण मिलाएका थिए तर विश्वविद्यालय भने त्यसको धेरैपछिमात्र खुल्यो । यही विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा ८० प्रतिशतभन्दा बढी योगदान दिँदै आइरहेको छ । देशका उच्च पदस्थ राजनीतिज्ञदेखि प्रशासनिक संयन्त्रमा रहेकाहरु अधिकांश त्रिविकै उत्पादन हुन् । देशमा यतिबेला १६ भन्दा बढी विश्वविद्यालय छन् । तर,यी विश्वविद्यालयमा प्राज्ञिक कर्म कम र राजनीति बढी हुँदै आइरहेको छ । गुणस्तरीय र जीवनपयोगी अनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयहरु चुकेका छन् । महत्वपूर्ण पदहरुमा हुने दलीय भागबण्डा,अनावश्यक राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयहरु पङ्गु बनेका छन् । वर्षेनी १ लाखभन्दा बढी विद्यार्थीहरु उच्च शिक्षाकै लागि विदेशिने अवस्था आउनुमा रोजगार उपलब्ध नहुनुभन्दा पनि विश्वविद्यालयहरु गुणस्तरीय शिक्षा प्रदान गर्नबाट चुक्नु नै मुल विषय भएको कसैबाट छिपेको छैन । विश्व बजारले कस्तो जनशक्ति खोजेको छ ? देशलाई के आवश्यक छ ? भन्ने प्रश्नहरु अलपत्र परेका छन् । त्रिविमै स्थापित ४ वटा अनुसन्धान केन्द्र राजनीतिक भर्तीकेद्र बनेका छन् । अर्थतन्त्रसँग सम्बन्धित विषयमा अध्ययन गर्नका लागि आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषयहरूमा अनुसन्धान गर्न रिकाष्ट, मानविकि तथा समाजशास्त्रसँग सम्बन्धित विषयहरूमा अनुसन्धान गर्न सिनास तथा शिक्षाशास्त्र संकायका विभिन्न विषयसम्बन्धी अनुसन्धान गर्न सेरिडको स्थापना गरिएको हो भन्ने कुरा नै बिर्सेको अवस्था छ । ज्ञान बिना आर्थिक उन्नति सम्भव छैन भन्ने राजनीतिक नेतृत्वले भुलेको छ भने प्राज्ञिक क्षेत्रमा लागेका व्यक्तित्वहरु पनि आफू कसरी पदमा पुग्ने भन्ने ध्याउन्नमा मात्र देखिएका छन् । मेरिटको आधारमा उपकुलपतिलगायतका पदाधिकारी नियुक्त गर्ने, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिवद्धता भुलिएको छ । विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनैपर्छ । कम्तिमा सुधारको पहल त्रिविबाटै सुरु गरिनुपर्छ । देशको पुरानो विश्वविद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा हैन कि दक्ष जनशक्ति उत्पादनको थलो बनाउनेतर्फ लाग्नैपर्छ ।




