सहरमा हुर्केका अधिकांश बालबालिकाहरुलाई घरमा खाने दूध कहाँबाट आउँछ भन्ने प्रश्न ग¥यो भने उत्तर हुन्छ–डेरीबाट । गाईभैंसीले दूध दिन्छ भन्ने सामान्य कुराको जानकारीबाट पनि उनीहरु बञ्चित छन् । कृषि कर्मबाट टाढिँदाको परिणति हो, यो । हरेक कुरा किनेर खाने परिस्थितिबाट गुज्रनु उनीहरुको दोष हैन । यसो हुनुमा हाम्रो अव्यवहारिक शिक्षा प्रणाली जिम्मेवार छ । विद्यार्थीहरुलाई सिर्जनशील बनाउने,व्यवहारिक ज्ञान प्रदान गर्ने र इलम सिकाउने कर्मबाट हाम्रो शिक्षा प्रणाली चुकेको छ । कुनै बेला विद्यालयमा पूर्वव्यावसायिक शिक्षा दिइन्थ्यो । विद्यार्थीहरुलाई खाना पकाउने,टेबुल कुर्सी बनाउनेदेखि खेती गर्नेसम्मका ज्ञान दिइन्थ्यो । बीचमा त्यो कोर्ष नै हटाइयो ।
तर, सबैतिर त्यस्तो छैन । अहिले पनि केही विद्यालयहरुले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने जमर्को गरेका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरको टापुमा रहेको आदर्श आधारभूत विद्यालय त्यस्तैमा दरिएको छ । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयले आफ्नै प्राङ्गणभित्र तरकारी खेती लगाउन थालेको छ । स्थानीय पाठ्यक्रममा आधारित रहेर सुरु गरिएको सो अभियानअन्तर्गत विद्यार्थीहरुले तरकारी लगाउँछन् । गोडमेल गर्छन् र फसल तयार भएपछि घरघर पुगेर बेच्छन् पनि । स्थानीय पाठ्यक्रम ‘हाम्रो मोदी’ अन्तर्गत ‘हाम्रो माटो’ एकाइमा स्थानीय तरकारी बालीको उत्पादन, बजारीकरण, उपभोग जस्ता कुराहरू सिकाइने गरिएको छ । यो कार्यक्रममार्फत् विद्यार्थीले खेतीको महत्व बुझ्न पाएका छन् । श्रमसँग जोडिएका छन् र बजारीकरणको ज्ञान पनि हासिल गरेका छन् । विद्यालयले माटोलाई माया गर्ने र उत्पादनसँग जोडिने जनशक्ति उत्पादनको बाटो समातेको शिक्षकहरुको भनाइ छ । हो, मोदीले गज्जब गरेको छ । यसो हुनुमा स्थानीय पाठ्यक्रम निर्माणको अधिकार पनि कारक छ । मोदीबाट अन्य विद्यालयले पनि सिक्नुपर्छ । व्यवहारिक र रोजगारसँग जोडिने शिक्षा प्रदान गर्न ढिलाइ गर्न हुँदैन । कृषिप्रधान देशमा नागरिकलाई सानैदेखि कृषिकर्मप्रति आकर्षित गराउने अभियानको जति प्रशंसा गरे पनि कमै हुन्छ ।




