लीलाबहादुर क्षेत्रीले धेरै पहिले नै बसाइँ उपन्यासमार्फत् बसाइँसराइको गुह्य कारण खोतल्ने प्रयास गरे । अवस्था फेरिएको होला तर बसाइँसराइको उपक्रम आज पनि उस्तै छ । हिजोकोजस्तो साहु–महाजनले उठीबास लगाएका कारण हैन कि,अवसरको खोजीमा नयाँ ठाउँमा सर्ने प्रचलन पछिल्लो समयमा झन बढेको छ ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षमात्र ६६ हजार ८३५ नेपालीहरु विदेशिएका छन् । उनीहरु फर्केर आउने गरी हैन कि सधैँको लागि मातृभूमि छाडेर हिँडेका हुन् । एक वर्षमा विदेशिएका १६ लाख ७४ हजार २ सय २५ जनामध्ये करिब ६७ हजार मान्छे सधैँको लागि विदेशिनुमा देशभित्रको परिस्थिति नै जिम्मेवार छ । देशमा रोजगारी छैन । हरेक वर्ष श्रम बजारमा आउने नागरिकलाई रोजगारी दिनबाट राज्य चुकेको छ । जसका कारण नागरिकहरु खाडीमा कठोर श्रम गर्न बाध्य छन् । तिनै नागरिकले विदेशी भूमिमा बगाएको पसिनाबाट आर्जित पैसाले देशको अर्थतन्त्र चलेको छ ।
सन् २०२४ मा रोजगार भिसामा ८ लाख ५६ हजार ४२२ जना विभिन्न देश गए । पछिल्लो समय यसरी विदेशिनेमा महिलाको संख्या पनि बढ्न थालेको छ । अघिल्लो अंग्रेजी वर्षमा विदेशिएका ९६ हजार १९७ जना महिलाको संख्याले त्यही तथ्य उजागर गर्छ । अवैध बाटो हुँदै विदेशिनेको संख्या यसमा समावेश छैन ।
काम र अवसरको खोजी गर्नुलाई अन्यथा भन्न नमिल्ला तर नागरिकहरुलाई देशभित्रै अवसर सिर्जना गर्नु चाहिँ राज्यको कर्तव्य हो । राज्यले त्यतातर्फ ध्यान दिन सकेको छैन । देश कुशासन र भ्रष्टाचारले ग्रसित बनेको छ । राजनीतिक नेतृत्वले मान्छेहरुमा आशा हैन कि निराशा बढाउने काममात्र गरेको छ । जसले गर्दा यो देशमा केही हुँदैन र विदेश नै जानुपर्छ भन्ने मान्यता घनिभूत बनेको छ । युवा पुस्तामा देखिएको यो सोच गम्भीर छ । युवाहरु विदेश लाग्दा गाउँहरु खाली बनेका छन् । बृद्धहरुमात्र गाउँमा रहँदा मलामी नपाउने अवस्था आएको छ । मान्छे विदेश पठाएर वा रेमिट्यान्स भित्र्याएर देश समृद्ध बन्दैन । समृद्ध बन्न नागरिकले यहीँ पसिना बगाउने वातावरण बन्नुपर्छ । विदेशिएका नागरिकहरुको तथ्याङ्कलाई राज्यले गम्भीरतापूर्वक लिओस् । देश हाम्रो हैन भन्ने सोच परिवर्तन गराउनेतर्फ लागोस् । देश छाड्नेहरुको लर्कोलाई नजरअन्दाज नगरियोस् ।




