बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुन्तला उत्पादन र किसानका सामस्या

सुन्तला उत्पादन र किसानका सामस्या


  • Dhorpatan News
  • माघ १४ २०८१, सोमबार

यो वर्षको सुन्तलाको सिजन सकिएको छ । बगैंचा नै भएका किसानकहाँ भने केही होलान् । जे होस् यो वर्ष म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा लगायतका जिल्लाका किसानले सुन्तलाबाट राम्रै आम्दानी गरेका सुखद समाचार सुन्न पाइयो । एउटै किसानले ८५ लाख रुपैयाँसम्मका सुन्तला बेचेको समाचारले धेरैलाई उत्साहित बनायो ।
गण्डकी प्रदेशका मुस्ताङ र मनाङबाहेक अन्य जिल्ला अमिलो फलफूलको लागि उर्वर रहेको छ । कान्छो जिल्ला नवलपुरमा पनि कागतीदेखि अन्य अमिला फलफूल उत्पादन गर्न सकिन्छ । यसरी हेर्दा गण्डकी अमिलो फलफूलको लागि सम्भावना बोकेको प्रदेश हो । अमिलो फलफूल संसारभर बिक्छ । मित्रराष्ट्र चीनसँग अघिल्लो वर्ष भएको सहमति अनुसार हामीले चीनमा अमिला फलफूल पठाउने बाटो खुलेको छ । कोरोला नाका संचालनम आयो भने तिब्बती पठारमा नहुने तर अत्यधिक माग रहेको अमिलो फलफूल निर्यात गर्ने सम्भावनाको ढोका खुलेको छ । त्यसो त, भण्डारण गर्न सकियो भने नेपालमै पनि अमिलो सुन्तलासहित फलफूलबाट तुलनात्मक रुपले बढी लाभ लिन सकिन्छ । तर, सोचेजस्तो चाहिँ छैन । सुन्तलाका लागि उर्वर मानिएका र केही वर्षअघिसम्म लाखौंको उत्पादन हुने लमजुङसहितका जिल्लामा अहिले सुन्तला हुनै छाडेको छ । सुन्तलाको बोट मर्ने र फल झर्ने भएपछि धानखेत मासेर सुन्तला लगाएका किसानहरु निराश बनेको अवस्था छ । सो क्षेत्रमा पुनः सुन्तला खेती हुन्छ कि हुँदैन भन्नेतर्फ कसैको ध्यान गएको छैन । त्यहाँ के कारणले सुन्तला मरे भन्नेबारे कृषि मन्त्रालयले जवाफ दिनुपर्छ । तनहुँदेखि कास्कीका किसान पनि यो समस्याले ग्रसित छन् । कुनै दिन उत्पादन नै नआउने भयो भने के हुन्छ भन्नेतर्फ राज्यको ध्यान आकृष्ट गर्नुपर्ने एकातिर छ भने अर्काेतर्फ मुख्य सिजनमा किसानले उत्पादनको मूल्य नपाउने अर्को समस्या छ । विचौलिया मोटाउने र किसानले पुर्पुरोमा हात राख्नुपर्ने अवस्था अन्त्य नभएसम्म उनीहरुको मुहारमा खुसी आउँदैन । राज्यले किसानलाई उचित मूल्य दिने प्रबन्ध मिलाउनुपर्छ । पवर्तकै बाँसखर्कका किसानले आफूले उत्पादन गरेको सुन्तलाले उचित मूल्य नपाएको, ढुवानीमा समस्या भएको गुनासो गरेका छन् । बारीमै पुगेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पनि उनीहरुले प्रोत्साहन केही नपाइएको, सिंचाइ र प्राविधिक सेवाबाट बञ्चित हुनुपरेको तथा बेलामा मलखाद पनि नपाएको सुनाएका छन् ।
मुख्य कुरा त सुन्तला बजारसम्म पु¥याउनै कठीन रहेको उनीहरुको गुनासो छ । यो बाँसखर्कको मात्र समस्या हैन, सुन्तलादेखि तरकारी उत्पादन गर्ने किसानसम्मले भोगेका समस्या हुन् । यस्ता समस्या सल्टाउन तीनवटै तहका सरकारले ध्यान दिनुपर्छ । असिना–हुरी, अतिवृष्टि–अनावृष्टिबाट क्षति व्यहोरेमा राहत प्रदान गर्ने, उत्पादकत्व बढाउन सघाउने तथा बजारीकरणको व्यवस्थापन गर्न सकेमात्र कृषिमा आत्मनिर्भरताको नारा सार्थक हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->