नश्वर चोलाको भर हुँदैन । जो जतिबेला पनि अस्ताउन सक्छ । मृत्यु शाश्वत सत्य हो । तर,आफन्तलाई कालगतिले गुमाउनु र दुर्घटनाले खोस्नुले बाँच्नेहरुको जिन्दगीमा धेरै अर्थ राख्छ । अझ,कल्कलाउँदो उमेरमै खसेकाहरुले जन्मदिने आमा–बुबालाई लामो समयसम्म शोकमा डुवाउँछन् । कास्कीको माछापुच्छे« गाउँपालिका ३ निवासी वेदकुमार र सीतादेवीलाई पनि त्यस्तै भयो । मोटरसाइकल दुर्घटनाका कारण २०६७ सालवैशाखमा उनीहरुले छोरा गुमाए ।पुत्रशोकले रन्थनिएका वेदकुमारले मन सानो बनाएनन्, छोराको चीरशान्तिका खातिर पुण्य कार्य गर्नै निधो गरे । ‘बाबु सागर स्मृति प्रतिष्ठानको गठन त्यही पुण्य कार्यका निम्ति थियो । प्रतिष्ठानमार्फत् उनले गाउँमै सागर मेमोरियल स्कूल स्थापना गरे । विद्यालयमार्फत् निःशुल्क र न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य निर्धारण भयो । सक्नेले न्यून र नसक्नेका निम्ति निःशुल्क शिक्षाको प्रबन्धका निम्ति वेदकुमार र उनका दुई श्रीमतीले व्यक्तिगत लगानी खन्याए । विद्यालयले अहिले तत्स्थानका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
छोरा जसरी खाली हात गए,आफ्नो नियति पनि त्यही हो भन्ने वेदकुमारले नबुझ्ने कुरै. भएन । त्यसैले छोरा गुमाएको १४ वर्षपछि उनले आफ्नो भएभरको जेथा नै प्रतिष्ठानलाई अर्पण गर्ने निधो गरे । आफ्ना दुई श्रीमतीका निम्ति २५÷२५ लाख रुपैयाँ छुट्टयाएर बाँकी करिब २५ करोड रुपैयाँ प्रतिष्ठानलाई दिने घोषणा गरेका हुन् । आमाहरुले पनि त्यो निर्णय सहर्ष स्वीकार्दै धनसम्पत्तिप्रतिको लालच त्यागेका छन् । अब त्यो सम्पत्ति प्रतिष्ठानमार्फत् सामाजिक कार्य तथा विद्यालय संचालन गरिने छ ।
वेदकुमारको इच्छानुसार विद्यालयको स्तरोन्नति र दीगो संचालन हुँदा गरीब र न्यून आय भएका विद्यार्थीहरुलाई लाभ पुग्ने निश्चित छ । वेदकुमारको उदार मनको जति प्रशंसा गरे पनि कम हुन्छ । उनले पुत्र गुमाएका छन् तर पुत्रको स्मृतिलाई सदाकालका निम्ति छाड्न जे गरेका छन्, त्यो अनुकरणीय पनि छ । जानु त एकदिन सबैले पर्छ तर सत्कर्मले मात्र मान्छेलाई चिरञ्जीवी बनाउँछ । यो तथ्य मनन गर्दा शोकबाट मुक्ति मिल्छ र समाज कल्याणमा मन लाग्छ । श्रेष्ठ परिवारको यो घोषणा अनुकरण होस् ।




