पछिल्ला दिनहरुमा मठ–मन्दिर, गुम्बा–चैत्य, गुरुद्वार, चर्च, मदरसा लगायतका धार्मिक आस्थाका केन्द्रहरुमा करौडौंका भौतिक संरचना थप्ने होड चलेको छ । गण्डकी प्रदेशकै कुरा गर्ने हो भने पनि यहाँको पुम्दीकोटदेखि सराङकोट,पञ्चकोटदेखि स्याङ्जाको अर्जुनचौपारीको नवग्रह मन्दिर निर्माणमा करोडौं रकम खन्याइएको छ । पहिल्यै अस्तित्वमा रहेका मठ–मन्दिरको जीर्णोद्वार,पुनःनिर्माणमा पनि उत्तिकै रकम खर्च भएको छ । गुम्बाहरु पनि उत्तिकै बनेका छन् । हिन्दु सम्प्रदायभित्रैकै ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय होस् वा इसाइहरुको आस्थाको केन्द्र चर्च नै किन नहोस्, बन्ने र बनाउने क्रम तीव्र छ । त्यस्ता आस्थाका केन्द्र निर्माणमा कति रकम खर्च भएको छ भन्ने लेखाजोखा छैन । कतै सरकारकै त कतै दाताहरुको सहयोगमा ती धार्मिक स्थलहरु बनाइएका छन् । ती धार्मिक स्थलहरुको निर्माण र पुनः निर्माणले भौतिक निर्माणले सहर र डाँडाकाडाको सौन्दर्यकरण पनि भएकै छ । पर्यटकीय गतिविधिहरु बढेका छन् । देश–देशावरबाट पर्यटकहरु भित्रिएका छन् भने उनीहरुको बसाइ अनि खर्च पनि बढेको छ । यसरी हेर्दा यी यावत् कुराहरु सकारात्मक नै छन् । तर, धर्मको नाममा बढेको ध्रुवीकरण र धार्मिक संस्थाहरुको सवलीकरणले चाहिँ अनिष्ट निम्त्याउने हो कि भन्ने संकेत गरेको छ ।
धर्म मानव हितका निम्ति हुनुपर्छ । सबैजसो धर्महरु सार पनि त्यही हो । तर,धार्मिक संस्था र धर्मगुरुहरु बलिया हुँदा त्यसले अन्य सामाजिक संस्थाहरुलाई कमजोर बनाउँछन् । धर्मान्धता बढ्दा ध्रुवीकरण पनि निम्तन्छ । युरोपकै कुरा गर्ने हो भने कुनैबेला चर्चहरु असाध्यै बलिया थिए । भारतमा अहिले पनि हिन्दु मन्दिर र मठाधीश अनि धर्मगुरुहरु शक्तिशाली छन् । हिजो युरोपमा चर्चको नाममा आर्जित शक्तिकै भरमा पादरीहरु राज्यलाई थुरथुर पार्थे,भारतमा अहिले पनि धर्मगुरुहरुले राज्य संयन्त्र हल्लाउँछन् । धर्मको नाममा मान्छेलाई प्रभावित पार्ने, अन्धविश्वास जगाउने, भीडलाई भड्काउने र आफू अनुकूल प्रयोग गर्ने प्रवृत्तिबाट भारत मुक्त छैन । नेपालमा धार्मिक संस्थाहरुकै आडमा कथित धर्मगुरुको उदय भइरहेको छ । यो वा त्यो नाममा अगाडी आएका कथित धर्मगुरुहरुले आममान्छेभित्रको धार्मिक आस्थामाथि खेलबाड गर्दै धर्मको दुरुपयोग गरिरहेका छन् । धार्मिक केन्द्रहरुको निर्माण र पुनः निर्माण भइरहँदा त्यो तथ्यप्रति कसैले ख्याल गरेको देखिँदैन । धर्म सत्कर्म सिकाउने तथा सर्वजन हितायका निम्ति हुनुपर्छ नकि, कसैको स्वार्थको रोटी सेक्ने माध्यम ! अतः धार्मिक संस्थाहरुलाई आस्थाको केन्द्रमा मात्र सीमित गरिनुपर्छ । धर्मको नाममा अन्धाधुन्ध भइरहेको लगानीको पारदर्शितामाथि पनि प्रश्न उठाउनुपर्छ तर पहिलो कुरा भनेको धर्मगुरु र मठाधीशहरुलाई शक्तिकेन्द्र बन्नबाट रोकिनुपर्छ । सम्भावित धार्मिक अतिवाद,ध्रुवीकरण एवं ठगी धन्दाको खतराप्रति राज्य सचेत बन्नुपर्छ ।




