बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्राकृतिक स्रोत नसाँचौं, समुचित प्रयोग गरौं

प्राकृतिक स्रोत नसाँचौं, समुचित प्रयोग गरौं


  • Dhorpatan News
  • फाल्गुन १८ २०८१, आइतबार

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलिदीमिर जेलेन्स्कीबीच भएको भेटवार्ता र जेलेन्स्कीमाथि भएको अपमानको घटनाले विश्व तंरगित बनेको छ । रुससँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिका र युरोपेली देशहरुले आड भरोशा दिँदै आइरहेका थिए । जेलेन्स्की थप सहयोगको प्रतिवद्धता चाहन्थे भने ट्रम्प चाहिँ अहिलेसम्म गरेको सहयोगको बदलामा युक्रेनमा रहेका अति दुर्लभ खनिजको हिस्सा खोजिरहेका थिए । भनिन्छ–सुरक्षाको ग्यारेन्टी भएमा युक्रेन ती दुर्लभ खनिज दिन पनि तयार थियो । तर, वार्ता कटुतापूर्ण रह्यो । जेलेन्स्कीलाई ह्वाइटहाउसबाट अपमानजनकरुपले निकालियो । कुटनीतिक वृत्तमा यो घटनाले रुस–युक्रेन युद्ध लम्बिने,विश्वमा नयाँ राजनीतिक ध्रुविकरण हुनेलगायतका सम्भावनाबारे व्यापक चर्चा भइरहेको छ । तर, अमेरिकाले सहयोगको बदलामा अति दुर्लभ खनिजको उपयोगबारे नयाँ कोणबाट बहस सुरु भएको छ । त्यसबाट नेपाल पनि अछुतो देखिएको छैन ।
कुनैबेला नेपालकै खानी उपयोग गरेर फलाम निकालिन्थ्यो । यस्ता खानीहरु गण्डकीमा धेरै नै थिए । तर, पछि आएर ती खानीबाट धातु निकाल्न छाडियो । पछिल्लो समय गण्डकी प्रदेशकै नवलपुरमा रहेको धौवादी फलाम खानी उपयोगमा ल्याउने प्रक्रिया पनि सुरु भएको थियो ।तर,त्यो प्रक्रियाले पूर्णता पाएको छैन । नेपालमा सुनदेखि नुन र अति दुर्लभ पत्थर पनि पाइने प्रमाणित भइसकेको छ । सुनकोशी र कर्णालीजस्ता नदीको बालुवा चालेर केही सीमान्तकृत समुदायले वर्षेनी सुन निकालेबाटै यहाँ सुन रहेको प्रमाणित हुन्छ । भोटमा भएको नुन र अन्यत्र रहेका ती खनिजलाई प्रयोग चाहिँ हुन सकेको छैन । नेपालमा के–कस्ता खनिज पाइन्छ भन्ने साह्रै ठूलो अनुसन्धान भएको छैन । नदीजन्य पदार्थ, चुनढुंगालगायतका प्राकृतिक स्रोत उपयोग गरिए पनि अन्य बहुमूल्य खनिजहरु उपयोगविहीन अवस्थामै छन् । पेट्रोलियम पदार्थ र ग्यास अनि कोइलाको अवस्था पनि उस्तै छ ।
खानी तथा भूगर्भ विभागका अनुसार नेपालका खनिजलाई हालसम्म धातु खनिज समूहका २१ वस्तु, अधातु औद्योगिक खनिज समूहका २३ वस्तु, रत्न तथा पत्थर समूहका ६ वस्तु, निर्माण सामग्रीका १० वस्तु र इन्धन खनिज समूहका चार वस्तु गरी कुल ६४ वटामा वर्गीकरण गरिएको छ । तर,त्यसको उत्खननको लागि आवश्यक पर्ने जनशक्ति, प्रविधि र खर्च नहुँदा उपयोग हुन सकेको छैन । कतिसम्म भने नेपालले सेतो सुन भनिने पानीकै पनि उपयोग गर्न सकेको छैन । नेपाल निर्धन छ । धनी हुन प्राकृतिक स्रोत साधनको समुचित उपयोग हुनुपर्छ । अमेरिकाले युक्रेनसँग त्यहाँका दुर्लभ धातु मागेको घटनाबाट हामीले यहाँ रहेको ठानिएको युरेनियमजस्ता महँगा खनिज उपयोग बेलैमा गर्नुपर्छ भन्ने सोच्नु जरुरी देखिएको छ ।
समय परिवर्तनशिल छ । आज बहुमूल्य मानिएको बस्तु भोलि काम नलाग्ने हुनसक्छ । ज हिजो नै नेपालले बिजुली उत्पादन गर्न सकेको भए, त्यो भारतमा सजिलै बिक्री हुन्थ्यो । अहिले भारत सौर्य उर्जातर्फ मोडिएको छ । सौर्य उर्जा बढ्दो उत्पादन र प्रयोगले नेपालको जलविद्युत निकासीमा असर पार्ने सम्भावना बढेको छ । अहिले महत्वपूर्ण र मूल्यवान मानिएका अन्य धातुको सवालमा पनि भोलि त्यस्तै परिस्थिति उत्पन्न हुनसक्छ । अतः प्राकृतिक स्रोतको समयमै उपयोगतर्फ राज्यले सोच्नुपर्छ । आफूले नसक्ने भए,साझेदारी वा निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ । अमेरिका–युक्रेन असफल वार्तासँग जोडिएको दुर्लभ खनिजको विषयबाट नेपालले सिक्नुपर्ने यही हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->